इजरायल–इरान युद्धमा मिसियो अमेरिका पनि, नेपालमा पेट्रोलियम आपूर्तिमा आउन सक्छ संकट

०८ असार, काठमाडौँ । इजरायल र इरानबीच चर्किंदै गएको युद्धमा अमेरिका पनि जोडिएको छ ।

मध्यपूर्वमा बढेको तनावमा अमेरिका मिसिएसँगै वैश्विक रूपमा तनाव थपिएको छ । अमेरिकाले इरानका ३ प्रमुख आणविक केन्द्र फोर्डाे, नालान्ज र इस्फाहनमा आक्रमण गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गरेको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका छन् । अमेरिकाको आक्रमणपछि विश्वव्यापी रूपमा तनाव र क्षेत्रीय द्वन्द्व बढाएको विश्लेषकहरूको भनाइ छ ।

यो चर्किंदो द्वन्द्वले विश्वव्यापी रूपमा ऊर्जा आपूर्ति प्रणालीलाई असर पार्ने देखिएको छ ।

मध्यपूर्वमा चर्किंदो युद्धले विश्व बजारमा तेलको मूल्य वृद्धि हुने प्रक्षेपण गरिएको छ । यसले अन्तर्राष्ट्रिय तेल बजारलाई चपेटामा पार्ने देखिएको छ ।

नेपालजस्तो पूर्ण रूपमा आयातमा निर्भर मुलुकमा यसको प्रभाव गम्भीर रूपमा पर्ने अर्थविद्हरूको भनाइ छ ।

नेपालले बर्सेनि खर्बाैँ रुपैयाँको पेट्रोलियम पदार्थ आयात गर्ने गर्छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा नेपालले १ खर्ब १५ अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँको डिजेल आयात गरेको छ । यस्तै यो अवधिमा ५८ अर्ब ५८ करोड ९० लाख ८४ हजार रुपैयाँको पेट्रोल आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख ।

पेट्रोलियम पदार्थको मुख्य निर्याकर्तामा इरान अग्रस्थानमा आउँछ । पछिल्लो समय इरान र इजरायल आपसी युद्धको भुमरीमा होमिएका छन् ।

नेपालले भारतमार्फत् खर्बाै रुपैयाँको तेल आयात गर्दै आएको छ । यो युद्धले नेपालको अर्थतन्त्रमा पनि गम्भीर असर पर्ने अर्थविद्हरू बताउँछन् ।

यो युद्धले विश्व अर्थतन्त्रलाई नै असर पर्ने भएकाले नेपाललाई पनि स्वाभाविक रूपमा असर पर्ने अर्थविद् पोषराज पाण्डे बताउँछन् । यसले सामानको ढुवानी लागत बढाएर समग्र मूल्य वृद्धि गर्ने उनको भनाइ छ ।

इरानबाट तेलको आपूर्ति घट्दा नेपालमा पनि तेलको मूल्यमा वृद्धि हुनेछ । पेट्रोल–डिजेल जस्ता इन्धनको मूल्य बढेपछि यातायात, उत्पादन र वस्तुको मूल्य र सेवामा प्रत्यक्ष असर पर्ने भएकाले नेपाली बजारमा महँगी अझ चर्किनेछ ।

नेपालमा जलविद्युत्को उत्पादन भए पनि कतिपय ठाउँमा अझै पनि डिजेल जेनेरेटरको प्रयोग गर्ने गरिन्छ । इन्धनको अभाव र महँगो मूल्यले उत्पादन लागत बढ्ने देखिन्छ ।

यस्तै, सरकारले पेट्रोलियम पदार्थको आयातमा करका रूपमा ठुलो मात्रामा राजस्व संकलन गर्दै आएको छ । तेलको मूल्य वृद्धिले आमउपभोक्तामा खर्चको भार बढाउने र समग्र अर्थतन्त्रमा असर पर्ने जानकारहरू बताँउछन् ।

इरान–इजरायल युद्ध र यसमा अमेरिका प्रत्यक्ष रुपमा सहभागी हुँदा नेपालमा पनि ऊर्जा सुरक्षमा प्रत्यक्ष असर पर्ने भएकाले सर्वसाधारण, निजी क्षेत्र र सरकार सबैले सचेत र तयार रहनुपर्ने अर्थविद्हरूको सुझाव छ ।

पछिल्लो १ महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७० डलरबाट बढेर ९५ डलर पुगेको छ । यदि यो युद्ध लामो समयसम्म चलेमा यसले गम्भीर असर पर्ने अर्थविद् रामेश्वर खनाल बताउँछन् । अमेरिकाले इरानमा आक्रमण गरेपछि इरानले स्टे«ट अफ हर्मुज बन्द गर्ने चेतावनी जारी गरेको छ । यसले विश्वव्यापी तेल आपूर्तिमा नै संकट निम्त्याउनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours