भौतिक मन्त्रालयको बजेटमा सयौँ खुद्रे आयोजना, १ लाखसम्मका दर्जनौं

३० जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा १ लाख रुपैयाँसम्मका दर्जनौं खुद्रे आयोजना समेत समेटेको पाइएको छ ।

मन्त्रालयको वार्षिक विकास कार्यक्रम अनुसार स्थानीय सडक, पुल निर्माण अन्तर्गतमा अधिकांश स्थानीय र प्रदेश तहबाटै गर्न सकिने खुद्रे आयोजना समेटिएका छन् ।

भौतिक मन्त्रालयको रातो किताबमा राखिए अनुसार इलामको च्यामेमा कल्भर्ट बनाउन १ लाख रुपैयाँ विनियोजन गरिएको छ । सोलुखुम्बु दूधकोशी नदीमा मोटरेबल पुल बनाउन समेत १ लाख रुपैयाँ बजेट राखिएको छ ।

जिल्लाहरूमा राखिएका अधिकांश आयोजना ५ लाख रुपैयाँका धेरै छन् । बजेटअघि राष्ट्रिय योजना आयोगले ३ करोडभन्दा साना आयोजना संघीय मन्त्रालय मातहत नराखेको र आयोजनाको संख्या पनि भारी मात्रामा घटाएको तथ्यांक सार्वजनिक गरेको थियो ।

तर, विनियोजन केलाउँदा भौतिक र सहरी विकास मन्त्रालय मार्फत हजारौंको संख्यामा खुद्रे कार्यक्रम बजेटमा समावेश गरिएको देखिएको छ ।

रातो किताबमा उल्लेख भए अनुसार धनुषा जमुनी नदी पुलका लागि भौतिक मन्त्रालयले १ लाख बजेट विनियोजन गरेको छ । दोलखा ढाडेखोला, झाक्रे खोला, घट्टे खोला र चरङ्गे खोला पुलका लागि समेत १/१ लाख रुपैयाँ बजेट राखिएको छ ।

त्यस्तै नुवाकोट घट्टे खोला पुलमा १ लाख बजेट राखिएको छ । ललितपुर गोदावरी पुल र पुलको एप्रोच सडकका लागि समेत १/१ लाख बजेट विनियोजन गरिएको छ ।

काठमाडौं विष्णुमती एक्स्टेन्सन सडक टेकु, धोबी खोला पुल देवीनगर मैतीदेवी जोड्ने र महादेव खोला पुल मितेरी मार्ग कागेश्वरी मनोहरामा समेत १/१ लाख बजेट राखिएको छ ।

सेती नदी पुल कास्की, कालिगण्डकी–सुन्धारा–रोकुवा जोड्ने पुल तनहुँमा समेत सोही रकम बराबर बजेट राखिएको छ । गुल्मी बडीघाट पक्की पुल, बडीघाट पुल खैरेनी–बोटगाँउ जोड्ने र पालुखा मोटरेबल पुलका लागि समेत १/१ लाख बजेट राखिएको छ ।

डाब माझी दमार पुल प्यूठान, झिम्रुक खोला पुल कैरन प्यूठान र दाखाक्वाडीमा समेत सोही बराबर बजेट राखिएको छ । बुटवल–१७ हरिहरपुरबाट डिंगरनगर जोड्ने तिनहुँ नदीमा पक्की पुल बनाउन समेत १ लाख बजेट छुट्याइएको छ ।

अर्घाखाँचीको बडीडमार शान्तिपुर पुल निर्माण, सल्यान बबई नदी मोटर पुल, दाङ मलबार र गरगरुवा जोड्ने पुल, दैलेख कर्णाली नदी पुल र वेस्ताडा कच्ची सडक जोड्ने पुलमा समेत १/१ लाख बजेट छुट्याइएको छ ।

त्यस्तै सुर्खेतको सिरेनीखोला पुलमा समेत १ लाख बजेट राखिएको छ । भौतिकले स्थानीय सडक पुल निर्माण झन्डै ४ सय खुद्रे आयोजना बजेटमा राखेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours