गोदावरीमा साढे ५१ करोड बढी लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र

२२ जेठ, काठमाडौं । कैलालीको गोदावरी नगरपालिकामा साढे ५१ करोड रुपैयाँभन्दा बढी लागतमा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज बिहीबार उक्त केन्द्र उद्घाटन गरे ।

गोदावरी नगरपालिका–३ चौकीडाँडामा बनेको फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको सिंहले उद्घाटन गरे । कुल लागत ५१ करोड ६९ लाख ७४ हजार ४ सय ९९ रुपैयाँको परियोजनामा ७५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी) को ऋण अनुदान र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानीबाट काम भएको हो ।

सहरी विकास मन्त्रालयका अनुसार फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चीनको सिचुवान प्रोभिन्सियल जिओलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो ।

करिब पाँच हेक्टर क्षेत्रफलमा फैलिएको यो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहने छ । उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौता गरिएको छ ।

फोहोरको वर्गीकरण

केन्द्रमा संकलित फोहोर वर्गीकरण गरिने छ । कुहिने फोहोरबाट कम्पोस्ट मल उत्पादन गरिने छ भने नवीकरण गर्न सकिने फोहोरलाई कवाडीमा बिक्री गरिने जनाइएको छ ।

कुहिने फोहोरबाट मलखाद बनाउनुका साथै नकुहिने तर पुनः प्रयोग गर्न सकिने वस्तु प्रशोधन गरिने भएकाले फोहोरमैला व्यवस्थापन केन्द्र आम्दानीको स्रोत समेत गोदावरी नगरपालिका नगर प्रमुख वीरेन्द्र भट्टले बताए ।

यसबाट वातावरणीय प्रदूषण न्यूनीकरण हुने र स्थानीय किसानलाई जैविक मल प्राप्त हुने सहरी विकास मन्त्रालयले जनाएको छ । क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका अनुसार स्थानीय रोजगारी प्राथमिकता दिँदै सञ्चालनमा ल्याइएको केन्द्रमा ४० भन्दा बढीले रोजगारी पाउनेछन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours