सगरमाथा संरक्षण र प्रवर्द्धनमा सचेतना अभिवृद्धि आवश्यक : पर्यटनमन्त्री

१५ जेठ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सर्वोच्च शिखर सगरमाथाप्रति विश्‍वले गौरव गर्ने बताएका छन् ।

बिहीबार ७२औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा बसन्तपुरमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले सगरमाथा संरक्षण र प्रवर्द्धनमा सचेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटकलाई नेपालमा आकर्षण गर्न सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

‘सगरमाथा हाम्रो पहिचान र गौरव त हो नै यसप्रति विश्‍वले नै गौरव गरेको छ । पृथ्वीको सबैभन्दा उचो भूगोल भएको सगरमाथा मार्फत हाम्रो पहिचान स्थापित गर्न सगरमाथा संवाद पनि आयोजना गर्‍यौं र विश्वलाई सगरमाथाको देशप्रति आकर्षित गर्‍यौं,’ पर्यटनमन्त्री पाण्डेले भने ।

उनले जलवायु परिवर्तनका कारण हाम्रा हिमाल कालापत्थरमा परिणत हुने जोखिम बढेको बताए । ‘सगरमाथाको हिउँ पग्लिँदा नेपाललाई मात्र होइन, हिमवत खण्डलाई मात्र होइन, सिंगो पृथ्वीलाई नै असर गर्छ,’ उनले भने, ‘त्यसकारण नेपालको समस्यामात्र होइन भन्‍ने कुरा बुझाउन हामीले विश्‍वभरिका हिमाल र जलवायु बुझेका मानिस बोलाएर छलफल गरेका छौं ।’

बिहीबार सगरमाथा दिवसकै अवसरमा हनुमानढोका खुला भएको पनि मन्त्री पाण्डेले जानकारी गराए । सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरी भव्य रूपमा मनाइएको छ ।

आज बिहान प्रमुख पर्यटकीय क्षेत्र ठमलेमा प्रभातफेरी आयोजना गरियो । कर्मचारी सञ्चय कोष ठमेलबाट सुरु भएको झाँकी, ब्यान्डबाजा सहित र्‍याली बसन्तपुर पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

र्‍यालीमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभाग महानिर्देशक नारायण रेग्मी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी तथा निजी क्षेत्रका पर्यटन छाता संगठनका प्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकाय लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

योसँगै पर्यटन बोर्ड परिसरमा रहेको तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको शालिकमा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, वरिष्ठ प्रबन्धक उदय भट्टराईले माल्यापर्ण गरे ।

सन् १९५३ मे २९ मा नेपालका तेन्जिङनोर्गे शेर्पा र न्युजिल्यान्डका एडमन्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसलाई भव्य रूपमा मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।

दिवसको अवसरमा आज बिहान प्रभातफेरी सहित बसन्तपुरमा औपचारिक क्रार्यक्रम गरियो भने दिउँसो दिवस मूल समारोह समितिले ‘वल्र्ड समिटर्स समिट’ कार्यक्रम आयोजना गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने समारोहमा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवद्र्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुनेछ । योसँगै विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours