कांग्रेस-एमालेको बालुवाटार बैठकले संसद् बस्न ढिलाइ

१४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठक अझै सुरु हुन सकेको छैन । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको थियो ।

प्रमुख सत्ताधारी दल नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरू प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफलमा बसेकाले प्रतिनिधिसभाको बैठकमा ढिलाइ भएको हो ।

आजको बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलले अवरोध गर्ने बताएकाले थप रणनीतिका लागि सत्ताधारी दलको बैठक बसेको हो । बालुवाटारको बैठक भर्खरै सकिएको छ ।

कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बालुवाटार बैठक सकिएको जानकारी गराउँदै विपक्षी दलहरूसँग संसद् खुलाउन छलफल हुने बताए ।

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद् शिशिर खनालले आफूहरू संसद् भवन नयाँ बानेश्वरमा बैठक कुरिरहेको बताए । खनालले भने, ‘हामी यहीँ छौं, सत्तापक्षको बैठक चलिरहेकाले ढिलाइ भएको जानकारी पाएका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘संसद्मा हाम्रो नीति हिजो जे थियो, आज पनि त्यही कायमै छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद भवनमा हुनुपर्ने छलफल बालुवाटारमा भएको भन्दै आपत्ति जनाएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सदनको चल्ने/नचल्ने छलफल संसद् भवनमा हुनपर्नेमा बालुवाटारमा भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours