१२ जेठ, काठमाडाैं । आफ्नो शरीरको छालालाई सूर्यको घामबाट जोगाउनका लागि अत्यधिक मात्रामा सनस्क्रिन क्रिम प्रयोग गर्ने एक चिनियाँ महिलामा भिटामिन डी को गम्भीर कमी देखिएको देखियो । जसका कारण ओछ्यानमा पल्टिँदा मात्रै पनि ती महिलाको हड्डी भाँचिएको छ ।
चीनको चेङदुस्थित सिन्डु ट्रेडिसनल मेडिसिन अस्पतालका चिकित्सकहरूले हालै एक ४८ वर्षीया स्थानीय महिलाको असाधारण घटना सार्वजनिक गरेका छन् । ती महिलाको हड्डी ओछ्यानमा सामान्य रूपमा पल्टिंदा मात्रै पनि भाँचिएको थियो ।
डा. लोंग श्वाङका अनुसार, अस्पतालमा गरिएको परीक्षणले ती महिलामा भिटामिन डीको मात्रा अत्यन्तै कम रहेको देखायो, जसले गर्दा उनको हड्डी छिटो कमजोर बन्दै गएको र गम्भीर ओस्टियोपोरोसिस नामक समस्या देखा परेको पाइएको हो।
थप अनुसन्धानबाट के थाहा भयो भने ती महिला सानैदेखि घामबाट जोगिन अनेक उपाय गर्दथिन् । यसका लागि उनले कहिल्यै पनि छोटो बाहुला भएको लुगा लगाउँदिनथिन् र बाहिर निस्कँदा सधैं सनस्क्रिन लगाउँथिन्।
चिकित्सकहरूले उनको त्यो अवस्थालाई एउटा चेतावनीको रूपमा प्रस्तुत गरेका छन्, खासगरी ती व्यक्तिहरूका लागि जो अत्यधिक मात्रामा सनस्क्रिन प्रयोग गर्छन् । यसले व्यक्तिको हड्डीको स्वास्थ्यमा असर पार्ने उनीहरुको भनाई छ ।
‘घामबाट जोगिनका लागि कतिपय मानिसहरुले टाउकोदेखि खुट्टासम्म पूरै शरीर छोप्दछन् । तर, यस्तो व्यवहार वास्तवमै अस्वस्थकर हो’, ग्वाङ्जाउ मेडिकल युनिभर्सिटीका अस्थिरोग-मेरुदण्ड शल्यचिकित्सा विभागका निर्देशक जियाङ शियाओबिङले भने।
उनका अनुसार हाम्रो शरीरका सबै हड्डीहरूले हरेक १० वर्षमा नयाँ बन्ने प्रक्रिया पूरा गर्छन्। तर ३० वर्षको उमेरपछि हाम्रो हड्डीको घनत्व बर्सेनि ०.५ देखि १ प्रतिशतसम्म घट्न थाल्छ। यदि क्याल्सियमको सेवन कम छ, घाममा ननिस्किने बानी छ र भिटामिन डीको कमी छ भने क्याल्सियम शरीरले राम्ररी सोस्न सक्दैन ।
सनस्क्रिन र घामबाट जोगिने उपायहरूले छालाको क्यान्सर र अन्य गम्भीर समस्या कम गर्न सक्ने सकारात्मक पक्षहरू त छन् । तर, कतिपयले अत्यधिक प्रयोग गरेर शरीरमा अन्य समस्याहरू निम्त्याइरहेका छन्। सूर्यको किरणले शरीरलाई भिटामिन डी बनाउन सहयोग गर्छ, जुन हड्डीको स्वास्थ्य र क्याल्सियम सोस्न अत्यावश्यक हुन्छ। त्यसैले लामो समयसम्म घामबाट पूर्ण रूपमा टाढा रहनुले प्रतिरक्षा प्रणाली र हड्डीको स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ ।
डा. लोंग श्वाङले प्रस्तुत गरेको ती महिलाको विषम अवस्थाको मामिला सामाजिक सञ्जालमार्फत चीनमा भाइरल बन्यो। यो घटनाले गोरो छाला बनाउने सामाजिक मान्यताको कारण चिनियाँ महिलाहरू गम्भीर स्वास्थ्य समस्याको जोखिममा पर्न थालेकोतर्फ संकेत गरेको टिप्पणी गरिएको छ ।


+ There are no comments
Add yours