रवि र छविको मुद्दामा आजै आदेश आउने सम्भावना

०७ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट दायर बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथिको बहस आज (बुधबार) पनि जारी रहने छ ।

६ पटकसम्म हेर्न नमिल्ने सूचीमा परेको उक्त रिटमाथिको बहस मंगलबार शुरु भएकामा नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । रवि लामिछानेतर्फका कानून व्यवसायीले मंगलबार नै बहस सकेका छन् । तर, एकै मुद्दामा कारागारमा रहेका पूर्व डीआईजी छविलाल जोशीका तर्फबाट कानून व्यवसायीले आज मात्रै बहस–पैरवी गर्नेछन् ।

बहसपछि सरकारी वकिलका तर्फबाट जवाफी बहस हुनेछ । त्यसपछि अदालतले भ्याएसम्म आज नै आदेश सुनाउने सम्भावना छ । जसले रवि र छविलाई थुनामै पठाउने वा मुक्त गरी बाहिरबाटै मुद्दा लड्न पाउने आदेश गर्नेछ ।

लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले ७ वैशाखमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेकी थिइन् । सहकारीको रकम ठगी गरेको अभियोगमा उच्च अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि लामिछानेले पत्नीमार्फत सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता गराएका हुन् । हाल लामिछाने र जोशी रूपन्देही कारागारमा छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours