सगरमाथा संवाद सुरु, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

०२ जेठ, काठमाडौँ । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ सुरु भएको छ ।

‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ नाराका साथ आयोजित संवादको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

जेठ ४ गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा १७५ जना विदेशी पाहुनासहित करिब त्यत्तिकै संख्यामा नेपाली सहभागी छन् । कार्यक्रममा १२ देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी भएको छ ।

कार्यक्रममा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिकी संयोजक डा.आरजु राणा देउवाले स्वागत मन्तव्य दिएकी छिन्।

भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिनेछ। उद्घाटनपछि ‘प्लेनरी सेसन’ आयोजना हुने छ। यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तरराष्ट्रिय एवं क्षेत्रीय संगठनबाट प्रस्तुति हुनेछ।

आजै छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुने छ। सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न गर्ने कार्यसूची छ।

राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषयज्ञाता र अनुसन्धानकर्ताको गहन ढंगको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइने छ।

जारी सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिमस्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिएका छन्।

नेपालले संरक्षण गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु संकट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्न संवाद उपयोगीसिद्ध हुने अपेक्षा सरकारले गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours