२२ वैशाख, काठमाडौँ । काठमाडौँ उपत्यकाका अन्तर्गत चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्ने भएको छ ।
काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाहरूका मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो ।
आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका क्षेत्रमा गरी १५१.३० कि.मि., कीर्तिपुर, काठमाडौं र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५.९८ कि.मि., मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८.१५ कि.मि., कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २००.२३ कि.मि. र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९.७४ कि.मि. गरी कूल ८७५.४ कि.मि. खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको छ । जसअन्तर्गत वितरण सञ्जालका ८२८.९२ कि.मि. पिई पाइप र ४६.४८ कि.मि. डीआई पाइप बिच्छ्याइने जनाएको छ ।
यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, थिमी, कपन र जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेम्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिनेछ ।
आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिव ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण शुरू भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ ।
सोही अनुसार काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजन (दोस्रो चरण) को निर्माण कार्य अगाडि बढाउनका लागि आयोजना कार्यान्वयन निर्देशनालयले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।
आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र संचालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ ।
यसअघि, काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाडौं उपत्यकामा करिब ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिब ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।
यसैगरी, आयोजनाको पहिलो चरणमैं काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ कि.मि. पाइपलाइन बिच्छाउने काम सम्पन्न भएको आयोजना उपनिर्देशक एवं प्रवक्ता बिकेश बधानथादेले जानकारी दिएका छन् ।


+ There are no comments
Add yours