१४ वैशाख, काठमाडौँ । शिक्षा ऐन जारी गर्ने अभियान लिएर देशभरका शिक्षकहरू काठमाडौँ छिरेको आज २६ दिन भइसकेको छ । उनीहरूले २६ दिनदेखि बानेश्वरदेखि माइतीघरसम्मको ३ लेन बाटो अवरुद्ध पारेर आन्दोलन गरिरहेका छन् ।
कतिपय शिक्षक आन्दोलन सफल पार्न, आफ्ना माग पूरा गराउन सडकमा उत्रिएका छन् भने कतिपय हाजिरी जनाउन मात्र सडकमा आएका छन् ।
यसैबीच, हामी शिक्षक आन्दोलनको स्थलगत रिपोर्टिङ गर्न बानेश्वर क्षेत्र पुगेका थियौँ । त्यहाँ कोही गीत गाइरहेका थिए, कोही नाचिरहेका थिए, कोही कविता, चुड्किला, जोक भन्दै दिन कटाइरहेका थिए ।
त्यसै क्रममा एक जना शिक्षक भेटिए । उनी भने त्यहाँ हाजिर गर्न मात्र पुगेका रहेछन् । हामीले शिक्षक आन्दोलन किन र केका लागि ? भनेर उनलाई सोध्यौँ । नाम र ठेगाना नबताउने सर्तमा उनले भने, ‘शिक्षा ऐन जारी गर्नुपर्यो रे ! म त स्कुलमा हाजिर गर्न नपाउने भएकाले हाजिर मात्र लगाउन आएको हुँ ।’
सडकमा हाजिर लगाएर सो दिनको तस्बिर खिचेर स्कुलमा पठाएपछि उक्त दिनको तलब पाक्ने भएकाले आफू त्यहाँ आएको उनले बताए । ती शिक्षकले भने, ‘म त भर्खरै आएको हुँ । अब गइहाल्छु । मैले हाजिर लगाइसकेँ ।’
यस्तै, अर्का एक शिक्षक आफ्नी भान्जीको बिहेका लागि गाउँबाट काठमाडौँ आएका रहेछन् । आन्दोलनका लागि काठमाडौँ नआए पनि स्कुलको तलब पकाउन उनी आन्दोलनमा सहभागी भएको बताउँछन् ।
उनी भन्छन्, ‘हाजिर गर्न भने पनि आन्दोलनमा जानुपर्ने छ, नभए स्कुलले बिदा जनाउँछ । अहिले आन्दोलनमा गएर फोटो खिचेपछि यो बिदा त पछि लिन पाइयो नि !’
शिक्षक महासंघले अस्थायी प्रकृतिका शिक्षक, विद्यालय कर्मचारी, बालकक्षाका शिक्षक, स्थायी शिक्षकको बढुवा, तलब र ग्रेड वृद्धि, स्थायी आन्तरिक प्रतिस्पर्धा, निवृत्तिभरण व्यवस्था, अस्थायी सेवा अवधिको गणना, माथिल्लो तहमा स्थायी हुँदा पाउने तलब, सेवा सुविधाको मागसहित आन्दोलन गर्दै आएको छ ।
त्यस्तै, द्वन्द्वपीडित शिक्षक, संस्थागत विद्यालयका शिक्षक, प्रधानाध्यापकको व्यवस्था, शिक्षण काउन्सिल, विभागीय कारबाहीको विषयसमेत उनीहरूले अघि सारेका छन् । कार्य सम्पादन मूल्यांकन, शिक्षक–कर्मचारीको सरुवा, पेसा प्रवेश उमेर, विद्यालय व्यवस्थापन समिति, जिल्लामा शिक्षाको एकाइ, पद समायोजन, विद्यालयको सम्पत्ति हस्तान्तरण, प्राविधिक ग्रेडलगायत विषयसमेत महासंघले उठान गरेको छ ।
त्यस्तै, शिक्षकको मर्यादाक्रम, शिक्षक दरबन्दी, नेपाल शिक्षक महासंघ र शैक्षिक प्रशासनमा शिक्षकको सहभागिता र अध्ययनमा आर्थिक सहयोगको विषयमा समेत ऐनमा सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ ।
यता, स्थायी शिक्षकहरूले भने शिक्षक बढुवाको व्यवस्थापन गर्नुपर्ने, तलब र ग्रेड कायम गर्नुपर्ने माग गरिरहेका छन् ।
महासंघले शिक्षकहरूको हक हितका लागि आवाज उठाइरहे पनि शिक्षकहरू भने झारो टार्न आन्दोलनमा सरिक भएको पाइएको छ ।
शिक्षकहरूको आन्दोलनले विद्यार्थीको पठनपाठन ठप्प भएको छ । शिक्षकहरूको यो आन्दोलनले विद्यार्थीको भविष्यमा दीर्घकालिन असर पर्ने विज्ञहरूले बताउन थालेका छन् ।
त्यति मात्र होइन, शिक्षकहरूको आन्दोलनले व्यापार व्यवसाय ठप्प छ । मागहरू पूरा नभएसम्म आन्दोलन नरोक्ने र पठनपाठनमा नफर्कने बताइरहँदा सो क्षेत्रको यातायात, पसलहरू सञ्चालनमा आउन सकेका छैनन् ।
आन्दोलनकै कारण एसइईको उत्तर पुस्तिका जाँच हुन सकेको छैन भने कक्षा १२ को परीक्षा सारिसकिएको छ ।
आन्दोलन भइरहँदा सर्वसाधारण, विद्यार्थी, अभिभावक सबै मारमा परेका छन् । पठनपाठन ठप्प हुनुका साथै आन्दोलनले व्यापारमा पनि कमी आएको व्यापारीहरूको गुनासो छ ।
बानेश्वरमा कपडा व्यवसाय गर्दै आएकी अञ्जना घिमिरे व्यापार हुने समयमा आन्दोलन भएपछि चिन्तित छिन् । उनले रिसको भावमा भनिन्, ‘गाडी नै नचलेपछि कसरी व्यापार हुन्छ । व्यापार हुने समयमा आन्दोलन भएपछि कसको के लाग्छ र, मान्छे नै आउँदैनन् । सबै डामाडोल छ ।’
शिक्षकहरूको मागको विषयमा भने आफू अनभिज्ञ रहेको बताउँदै उनले भनिन्, ‘ठिकै त होला नि ! नत्र यत्रो दुःख गरेर ७७ जिल्लाबाट काठमाडौँ किन आउँथे होला र यस्तो घाममा ! सरकारले माग पूरा गरेर छिटो पठाउनु नि ! सरकार पनि उस्तै छ ।’
बानेश्वर क्षेत्रमा आन्दोलन भइरहने बताउँदै उनले आफूहरूले सधैँ यस्तै समस्या भोगिरहनुपरेको गुनासो गरिन् । देशको अवस्था देखेर चिन्तित बनेकी उनले भनिन्, ‘यो बानेश्वर क्षेत्रमा सधैँजसो आन्दोलन भइरहन्छ । कहिले कसको, कहिले कसको यस्तै हो । देशमा सबै भताभुंग छ ।’
यस्तै, बानेश्वरमा थकाली भन्सा घर सञ्चालन गर्दै आएका विकास कपाली शिक्षकहरूले लगातार २६ दिनसम्म गरेको आन्दोलनले व्यवसायमा ठुलो असर पारेको बताउँछन् ।
गाडी नचल्ने भएकाले दिउँसो काम गर्ने स्टाफ आउन सक्ने स्थिति नभएकाले समस्या नित्याएको उनको भनाइ छ । यस्तै उनी खाना डेलिभरी गर्न जान नसकेर पनि बिजनेस एकदम डाउन भएको र सटर लाएर बस्नुपर्ने अवस्था रहेको बताउँछन् ।
यता, बानेश्वरकै रुतेना होटलका सञ्चालक दीपक खत्री भने अहिले आफ्नो व्यापार फस्टाएको बताउँछन् । निरन्तर आउने ग्राहक नआए पनि आन्दोलन गर्न आउने शिक्षकहरूले नै खाइदिँदा आफूहरूलाई व्यापार चलाउन सहज भएको उनको भनाइ छ ।
उनले भने, ‘तर, यो त आन्दोलन हो, कति दिनको हो, थाहा छैन । तर व्यापार त दीर्घकालीन हो । व्यापारमा क्षणिक लाभ हेरेर हुँदैन । दैनिक आउने ग्राहक अन्तै गइरहेका छन् । यसले हामीलाई पछिसम्म असर पर्ने देखिन्छ ।’
शिक्षकहरूको आन्दोलनले आफूहरूलाई समस्या परेको उनी बताउँछन् । ‘धेरै जना आउँछन्, एक बोतल पानी खान्छन्, घन्टौँ मिटिङ गर्छन् । ट्वाइलेट युज गर्न मात्रै आउने उत्तिकै हुन्छन् । ग्राहकभन्दा पनि शौचालय जाने र मिटिङ गर्ने बढी आउछन्,’ उनले भने, ‘भिडभाड देखेर अरू आएका ग्राहक पनि फर्केर जान्छन् । बाहिर घाम छ, छायामा बस्न पनि यतै आउँछन् यस्तै छ ।’


+ There are no comments
Add yours