२७ चैत, काठमाडौँ । केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको मागप्रति प्याब्सन र नेशनल प्याब्सन(एन प्याब्सन)ले पनि ऐक्यवद्धता जनाएका छन् ।
मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी आन्दोलनरत शिक्षकहरुको मागमा ऐक्यवद्धता जनाएका हुन् । नयाँ शैक्षिक सत्र प्रारम्भ भइरहेको वर्तमान अवस्थामा शिक्षण(सिकाई प्रक्रियामा अवरोध आउनेतर्फ सजग हुनुपर्ने वर्तमान परिप्रेक्ष्यमा सरकार र सबै सरोकारवाला पक्ष जिम्मेवार भई प्रस्तुत हुनुपर्नेमा जोड दिइएको छ ।
विगतमा सरकार र शिक्षक महासङ्घबीच भएका सहमतिहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्नुपर्ने जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । यस्तै निजी विद्यालयहरूसँग सम्बद्ध संस्थाहरू प्याब्सन र नेशनल प्याब्सन, शिक्षक महासङ्घको आन्दोलनका जायज मागहरूमा ऐक्यबद्धता प्रकट गर्दै विद्यालय बन्द बाहेकका सबै आन्दोलनका कार्यक्रमहरूमा साथ, सहयोग, र समर्थन रहेको जनाएको छ ।
सबै पक्षलाई शिक्षा क्षेत्रको सुधार र विकासका लागि एकजुट भई सहकार्य गर्न आह्वानसमेत गरिएको छ । नेपाल शिक्षक महासङ्घको आह्वानमा विद्यालय शिक्षा विधेयक संसदबाट पारित गरी शिक्षा ऐन निर्माण गर्नुपर्ने मागसहित देशभरिका शिक्षकहरू आन्दोलनरत छन् ।

+ There are no comments
Add yours