कफीमा कला बनाउने प्रतिस्पर्धा

२९ फागुन, चितवन कफीको मगमा कलात्मक सिर्जना गर्दै गरेका बारिस्टा । किसान, व्यवसायी अनि कफी सप सञ्चालकको जमघट । नारायणगढमा बुधबारदेखि सुरु भएको ‘चितवन लाटे आर्ट प्रतियोगिता’को दृश्य हो, यो । नारायणगढको कफी ओ क्लक प्रालि र भरतपुरको हिमालयन चियाले संयुक्त रूपमा आयोजना गरेको प्रतियोगितामा देशभरका ४६ बारिस्टा सहभागी छन् ।

जसमध्ये बिहीबार उत्कृष्ट ६ जनालाई पुरस्कृत गरिनेछ । प्रतियोगिताका संयोजक सुदीप थापाले कफीको बजार विस्तार गर्न र कफी संस्कृति बढाउन प्रतियोगिता आयोजना गरेको बताए । ‘कफीको मिठो बास्ना र स्वादसँगै मगमा तैरने आर्टले कफीलाई सुन्दर पनि बनाउँछ । स्वाद, सुगन्ध र सौन्दर्यले भरिएको कफी पिउन सबै लालायित हुन्छन्,’ थापाले भने, ‘सुन्दर आर्टले कफीको मूल्य पनि बढाउँछ ।’

लाटे इटालियन भाषाको शब्द हो । जसको नेपाली अर्थ दूध हुन्छ । कफीको मगमा विशेष तरिकाले तयार गरेको दूधबाट जुन कला तयार हुन्छ त्यो नै ‘लाटे आर्ट’ भएको थापाले बताए । यस्ता प्रतियोगिता नियमित आयोजना गरेपछि कला पस्कनेहरू बढ्दै जाने उनको विश्वास छ ।

‘कफी ओ क्लब’का सञ्चालक थापाले सात वर्षअघि प्रतियोगिता सुरु गरेका थिए । सुरुका दुई वर्ष कफी बनाउने तालिम लिएका प्रशिक्षार्थीबीच प्रतिस्पर्धा गराए । त्यसपछि कफी तयार गर्न निपुण बारिस्टालाई नै सहभागी गराएर राष्ट्रियस्तरको प्रतियोगिता सुरु गरेका हुन् ।

यो पाँचौं शृंखला हो । ‘यो प्रतिस्पर्धामा कफीसँग सम्बन्धित सबै पक्ष आएका छन्,’ थापाले भने, ‘व्यापारीले किसानसँग भेट्ने भए, कहाँ राम्रो कफी छ, जानकारी लिने भए । कफी सप सञ्चालकले पनि व्यापारी भेट्न पाउँछन् । कफी सपलाई चाहिने मेसिन व्यवसायी पनि आएका छन् ।’

कफी सप सञ्चालकले राम्रो प्याट्रन बनाउने कुशल बारिस्टा पनि यहीं फेला पार्ने अवसर रहेको उनले सुनाए । ‘नेपाली कफीले युवालाई स्वदेशमै भविष्य खोज्ने प्रेरणा दिँदै छ । आज जति पनि सिर्जनशील बारिस्टा छन् ती युवा छन् । उनीहरूको हौसला बढाउनु र कफीको बजार फैलाउनु हाम्रो उद्देश्य हो,’ हिमालयन चियाका सञ्चालक पदमबहादुर बानियाँले भने ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निमित्त निर्देशक पवित्रा अधिकारीले नेपालमा गत वर्ष ५०१ मेट्रिक टन कफी उत्पादन भएको जानकारी दिइन् । उक्त वर्ष ४४३ मेट्रिक टन कफी आयात भएको र नेपालबाट ८९ टन निर्यात भएको उनको भनाइ छ । ‘कफी सप सञ्चालन र बारिस्टामा युवा सहभागी हुनेक्रम राम्रो छ । अब उत्पादनमा पनि युवालाई जोड्न आवश्यक छ,’ उनले भनिन् ।

प्रतियोगिता अवलोकन गर्न पोखराबाट आएका कफी उत्पादक नवीन पोखरेलले नेपाली कफी पारखी बढ्दै गएको बताए । आफ्ना बुबाले २२ वर्षअघि पोखरामा सुरु गरेको कफी उत्पादनमा उनी सात वर्षयता जोडिएका हुन् । ‘केही समस्या पनि छन् । कफीका राम्रा जात खोजी गर्नु आवश्यक छ । प्रशोधन र बजारीकरणका पनि समस्या छन् । जुन सम्बोधन हुन आवश्यक छ,’ पोखरेलले भने ।

प्रतियोगितामा पहिलो हुनेले ट्रफी र नगद ६० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथोले २० हजार, पाँचौंले १० हजार र छैटौंले ५ हजार रुपैयाँ पाउने संयोजक थापाले बताए । साथै उत्कृष्ट ६ जना आउँदो चैतमा नेपाल कफी व्यवसायी महासंघले काठमाडौंमा गर्ने ‘राष्ट्रिय लाटे आर्ट प्रतियोगिता’मा सहभागी हुनेछन् । देशभरबाट जम्मा १६ जना सहभागी हुने यो प्रतियोगितामा चितवनका ६ जना बिजेताले सिधै भाग लिन पाउने अवसर छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours