१४ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरता दिइएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै लचिलो नीतिको निरन्तरता दिएको बताएको हो ।
राष्ट्र बैंककाअनुसार अर्थतन्त्रको विद्यमान अवस्था एवम् परिदृश्य, विदेशी विनिमय सञ्चितिको स्तर तथा मुद्रास्फीतिको विश्लेषणका आधारमा मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिइएको छ । राष्ट्र बैंकले पर्यटक आगमनमा भएको वृद्धि, एयरपोर्ट लगायतका पर्यटन पूर्वाधारहरुको बढ्दो उपयोग, सूचना प्रविधि क्षेत्रको विस्तार तथा निर्माणाधीन जलविद्युत आयोजनाको प्रगति एवम्क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण लगायतका कारण समग्र माग विस्तार हुने र त्यसबाट चालु आर्थिक वर्ष लक्षित आर्थिक वृद्धि हासिल गर्न सहयोग पुग्ने अनुमान गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा कुनै पनि नीतिगत व्यवस्थालाई चलाइएको छैन । सार्वजनिक मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५ प्रतिशत कायम राखेको छ । ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ ।
अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई यथावत राखिएको मौद्रिक नीतिमा उल्लेख छ ।
+ There are no comments
Add yours