२६ कार्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरित कार्य गरेको भन्दै विभिन्न चारवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ भने विभिन्न सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन गरिरहेको जनाएको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । काउन्सिलको निर्देशन अटेर गर्ने, एकपक्षीय र तथ्यगत पुष्ट्याइँबेगर सूचना सामग्री सम्प्रेषण गर्ने ती सञ्चारमाध्यमलाई कारबाही गरिएको प्रेस विज्ञप्तिमार्फत जनाएको हो । दसैंअघि काउन्सिलले तीनवटा सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको थियो ।
काउन्सिलले सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड र सम्बन्धित प्रदेशका सञ्चार रजिष्ट्रारको कार्यालयलाई दिएको जानकारी अनुसार एक साप्ताहिक, एक टेलिभिजन र दुई अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारबाही गर्ने निर्णय गरेको छ ।
कालोसूचीमा पर्ने सञ्चारमाध्यमहरूमा त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोशीपोष्ट डट कम, खोजतलासअनलाइन डट कम छन् । काउन्सिलले भ्रामक सूचना सम्प्रेषण गर्ने एक युट्युब च्यानललाई आवश्यक अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ ।
त्यसैगरी, आचारसंहिताकै विषयमा गम्भीर प्रश्न उठेपछि आवश्यक कारबाहीका लागि काउन्सिलले सातवटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी छानबिन थालेको छ । त्यसमा दियोपोष्ट डट कम, मोटिभेटन्युज डट कम, एवननेपालन्युज डट कम, अनलाइनटीभीनेपाल डट कम, राइटसञ्चार डट कम, ताजाखबर टीभी र वीजीटीभी ९युट्युब च्यानल० छन् ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सदस्यहरू ठाकुर बेल्वासे, लालबाबु शेष, विजयराज अधिकारी, शरदप्रसाद अधिकारी, नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष बाला अधिकारी, नेपाल बार एसोसिएसनका महासचिव अन्जिता खनाल, काउन्सिलका मुख्य अधिकृत झवीन्द्र भुसाल सहभागी बैठकले यससम्बन्धी निर्णय गरेको हो । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिमा पत्रकार महासङ्घ र बार एसोसिएसनको समेत प्रतिनिधित्व हुन्छ ।
प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमनसमेत गरिरहेको जनाएको छ ।
[…] माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक […]