नेपालमा विक्री बन्द भयो होन्डाको चर्चित दुई मोडल
१६ चैत, काठमाडौँ । होन्डाको आधिकारीक वितरक स्याकार ट्रेडिङले आफ्नो चर्चित एड्भेञ्चर मोटरसाइकल सिआरएफ २५० एल र सिआरएफ २५० आरको विक्री बन्द गरेको छ । कम्पनीले आफ्नो आधिकारीक वेभसाइटबाट यी दुई मोडललाई हटाएर विक्री बन्द भएको जानकारी दिएको हो ।
मूल्य महंगो भएपनि यो सेग्मेन्टमा होन्डा सिआरएफ २५० सबैभन्दा उत्कृष्ट एड्भेञ्चर मोटरसाइकल मानिन्थ्यो । अहिले विक्री गर्दै आएको सिआरएफ २५० का दुबै मोडल अन्तर्राष्ट्रिय बजारमा अपग्रेड भएर आएकाले नेपालमा विक्री बन्द भएको कम्पनीले जानकारी दिएको छ ।
‘अन्तर्राष्ट्रिय बजारमा केहि महिना अघि मात्रै सिआरएफ २५० को दुबै मोडल अपग्रेड भएर आएको छ । रेगुलर मोडलको उत्पादन बन्द भइसकेकाले अहिले हामीले पनि यसको विक्री बन्द गरेका हौं । केहि महिनापछि नयाँ सिआरएफ नेपाल आउने छ’, स्याकार ट्रेडिङ स्रोतले मेरोअटोसँग भन्यो ।
होन्डाले सिआरएफ २५० एल १२ लाख १९ हजार र २५० आर १३ लाख २५ हजार मूल्य तोकेर विक्री गर्दै आएको थियो । यी बाइक थाइल्याण्डमा बनेका थिए ।
यस्तो हुने छ नयाँ सिआरएफ
होन्डाले यसअघि २५० सीसी क्षमताको इन्जिन दिएको सिआरएफमा नयाँ ३०० सीसी सेग्मेन्टको इन्जिन दिएको छ । नयाँ मोटरसाइकलमा २८६ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड इन्जिन उपलब्ध हुने छ ।
होन्डाले सिआरएफ ३०० मा दिइएको इन्जिनले २७.३ पीएस पावर र २६.६ एनएम टर्क प्रदान गर्ने छ । ६ स्पीडको गियरबक्स जडान भएको नयाँ मोटरसाइकलमा सिल्पर क्लचको प्रयोग भएको छ ।
सेमी डबल काड्र्ली स्टील फ्रेमको प्रयोग भएको नयाँ मोटरसाइकल सिआरएफ २५० को तुलनामा ४ केजी कम तौल रहेको छ । नयाँ बाइकमा अगाडि इन्भटेर्ड फर्क र पछाडि प्रोलिङ्क मोनोशक दिइएको छ । हलुका तौलको कारण लामो यात्रा गर्न चाहने राइडरलाई यसले खुसी बनाउने छ ।
दुबै मोडलमा अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । दुबैमा दिइएको टायर अफरोडको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । दुबै मोटरसाइकलमा डबल डिस्क ब्रेक दिइएको छ भने, डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।
सिआरएफ ३०० एलमा ७.८ लिटरको फ्यूल ट्याङ्क दिइएको छ भने, ¥याली मोडलमा भने ठूलो १२.८ लिटर क्षमताको फ्यूल ट्याङ्क दिइएको छ । दुबै मोटरसाइकलमा एलसीडी इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध रहेको छ । एल मोडलमा हेलोजिन हेडल्याम्प दिइएको छ भने, ¥यालीमा एलइडी सेटअप दिइएको छ । ¥याली मोडलमा विन्डस्कृन, इन्जिन कौल लगायतका थप फिचर पाउन सकिने छ ।