साताको सेयर: बैंकिङ, लगानी र जलविद्युत्तिर मोडिए सेयर लगानीकर्ता

नेप्सेको कारोबार ५९ प्रतिशतले बढ्यो, परिसूचकमा भने सामान्य वृद्धि, बैंकिङ समूहमा खरिद आकर्षण देखिँदा साप्ताहिक कारोबार २५ अर्ब ५९ करोड रुपैयाँ पुग्यो तर नेप्सेका १३ उपसूचकमध्ये नौ घटे।

१३ मंसिर, काठमाडौँ । यही ७ देखि ११ मंसिरसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा भएको सेयर किनबेचमा कारोबार रकम उल्लेख्य रूपमा बढे पनि समग्र परिसूचकमा सामान्य सुधार देखिएको छ । साताभर नेप्से परिसूचक ६.८८ अंक अर्थात् ०.२६ प्रतिशतले बढेर २ हजार ६ सय २८.१७ विन्दुमा पुगेको छ ।

अघिल्लो साता परिसूचक २ हजार ६ सय २१.२९ विन्दुमा थियो । यस अवधिमा कुल कारोबार रकम ५९.०४ प्रतिशतले बढेर २५ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो साता यस्तो कारोबार १६ अर्ब ९ करोड रुपैयाँ थियो । औसत दैनिक कारोबार रकम पनि ३ अर्ब २२ करोडबाट बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ ।

औसत दैनिक कारोबार रकम ३ अर्ब २२ करोडबाट बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुग्यो ।बजार पुँजीकरण २० अर्ब रुपैयाँ अर्थात् ०.४४ प्रतिशतले बढेर ४५ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.८८ प्रतिशतले बढेर ४८१.२२ विन्दुमा पुगेको छ । यो वृद्धि नेप्सेको तुलनामा तीन गुणाभन्दा बढी हो । यसले ठूला कम्पनी, विशेषगरी बैंकिङ क्षेत्रका सेयरमा खरिद आकर्षण बढेको संकेत गर्छ ।

गत साता नेप्सेका १३ उपसूचकमध्ये चार मात्रै बढेका छन् । विकास बैंक सबैभन्दा बढी १.३७ प्रतिशतले बढेको छ । बैंकिङ उपसूचक १.२८ प्रतिशतले बढ्दा लगानी उपसूचक १.२४ प्रतिशत र जलविद्युत् उपसूचक ०.२२ प्रतिशतले उकालो लागे । लघुवित्त उपसूचक सबैभन्दा धेरै १.५७ प्रतिशतले घटेको छ । म्युचुअल फन्ड ०.९५, व्यापार ०.८८, उत्पादन तथा प्रशोधन ०.८४ र निर्जीवन बिमा उपसूचक ०.७० प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

वाणिज्य तथा विकास बैंकका सेयर बढे पनि लघुवित्तमा सबैभन्दा बढी गिरावट आउनुले वित्तीय क्षेत्रका सबै कम्पनीमा नभई लगानीकर्ताले छानेर केही बैंक तथा वित्तीय संस्थामा लगानी बढाएको देखाउँछ । नौ उपसूचक नकारात्मक रहेकाले कारोबार रकम बढ्दैमा बजारमा व्यापक सुधार आएको मान्न सकिने अवस्था छैन ।

साताभर सबैभन्दा बढी कारोबार हुने कम्पनीमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा छ । बैंकको ९९ करोड ४ लाख रुपैयाँ बराबरका ३५ लाख ३९ हजार कित्ता सेयर कारोबार भएका छन् । यसको सेयर मूल्य ३.१४ प्रतिशतले बढेर प्रतिकित्ता २७८ रुपैयाँ ९० पैसा पुगेको छ ।

बजार पुँजीकरण २० अर्ब रुपैयाँ अर्थात् ०.४४ प्रतिशतले बढेर ४५ खर्ब ३० अर्ब रुपैयाँ पुग्यो।दोस्रो स्थानमा रहेको लक्ष्मी सनराइज बैंकको ९१ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसको सेयर मूल्य २.६८ प्रतिशतले बढेर प्रतिकित्ता २८७ रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एसिया बैंकको ७६ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसको मूल्य ३.०६ प्रतिशतले बढेको छ ।

कारोबार रकम उच्च हुनुका साथै सेयर मूल्य पनि बढेकाले यी बैंकमा खरिद चाप बढेको देखिएको छ । बजारका सहभागीहरूले मूल्य आम्दानी अनुपात तुलनात्मक रूपमा कम हुनु, लाभांशको सम्भावना, ब्याजदर घट्दै जानु र बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहनुलाई यसको कारण मानेका छन् । वाणिज्य तथा विकास बैंकहरूको पछिल्लो वित्तीय विवरणमा सुधार देखिनु र निष्क्रिय कर्जा घट्न सक्ने अपेक्षाले पनि लगानीकर्तालाई आकर्षित गरेको उनीहरूको भनाइ छ ।

गत साता जलविद्युत् कम्पनीमध्ये केहीमा मात्रै कारोबार केन्द्रित देखिएको छ । हिमालय ऊर्जा विकासको ७९ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसको मूल्य ६.३८ प्रतिशतले बढेर प्रतिकित्ता २८१ रुपैयाँ ७० पैसा पुगेको छ । मन्दु हाइड्रोपावर साताभर सबैभन्दा बढी मूल्य बढ्ने कम्पनी बनेको छ । यसको सेयर मूल्य ७.१९ प्रतिशतले बढेर प्रतिकित्ता ८८० रुपैयाँ पुगेको छ । यो कम्पनीको ५२ साताको उच्च मूल्य ८९८ रुपैयाँ नजिक हो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ६ प्रतिशतले बढेर प्रतिकित्ता ५६५ रुपैयाँ पुगेको छ ।

सेन्सेटिभ इन्डेक्स ०.८८ प्रतिशतले बढेर ४८१.२२ विन्दुमा, यो वृद्धि नेप्सेको तुलनामा तीन गुणाभन्दा बढी ।तर जलविद्युत् उपसूचक भने ०.२२ प्रतिशतले मात्रै बढेको छ । यसले समग्र क्षेत्रभन्दा केही कम्पनीका सेयरमा मात्रै लगानीकर्ताको आकर्षण रहेको देखाउँछ । यता लघुवित्त कम्पनीका सेयरमा भने बिक्री चाप देखिएको छ । उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य १०.२५ प्रतिशतले घटेको छ । समता घरेलु लघुवित्त ९.२४ प्रतिशत र स्वस्तिक लघुवित्त ९.२१ प्रतिशतले घटेका छन् ।

‘सेन्सेटिभ इन्डेक्स’को तुलनात्मक रूपमा उच्च वृद्धि र वाणिज्य बैंकमा भएको ठूलो कारोबारले लगानीकर्ता ठूला वित्तीय संस्थातर्फ फर्किन थालेको संकेत गर्छ । तुलनात्मक रूपमा कम मूल्यांकन र लाभांश प्रतिफलले खरिद आकर्षित गरेको हुन सक्छ । ब्याजदर घट्दै जानु र बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुनुले पनि बैंकहरूको वित्तीय कारोबारमा सुधार ल्याउन सक्ने जानकारहरूको अपेक्षा छ ।

जानकारहरूका अनुसार धेरै वाणिज्य तथा विकास बैंकको पछिल्लो वित्तीय विवरणमा सुधार देखिएको छ । बैंकहरूको कार्यसम्पादनमा ठूलो असर पारिरहेको निष्क्रिय कर्जा घट्न थाल्ने अपेक्षा लगानीकर्ताले गरेका छन् । यस्तो अपेक्षाले सेयर माग बढाउन सक्ने भए पनि साप्ताहिक कारोबारका तथ्यांकले मात्रै बैंकहरू न्यून मूल्यांकनमा रहेको वा उनीहरूको कर्जाको गुणस्तरमा सुधार आएको पुष्टि गर्दैन ।

विकास बैंक उपसूचकमा सबैभन्दा बढी वृद्धि देखिए पनि लगानीकर्ताले बैंकहरूको आम्दानीमा सुधार हुने अपेक्षा, लाभांशको सम्भावना वा अल्पकालीन कारोबारका अवसरमध्ये कुन कारणले सेयर खरिद गरेका हुन् भन्ने बजार तथ्यांकले खुलाउँदैन । लघुवित्त उपसूचकमा आएको गिरावटले भने लगानीकर्ताको सतर्कता कायमै रहेको देखाउँछ ।

लघुवित्त उपसूचक सबैभन्दा धेरै १.५७ प्रतिशतले घट्यो, म्युचुअल फन्ड ०.९५, व्यापार ०.८८, उत्पादन तथा प्रशोधन ०.८४ र निर्जीवन बिमा ०.७० प्रतिशतले घटे।कात्तिक दोस्रो साताको उच्च विन्दुबाट घटेपछि नेप्से अहिले सीमित दायरामा चलिरहेको छ । शुक्रबार परिसूचक २ हजार ६ सय २८.१७ विन्दुमा बन्द भएको छ, जुन छोटो र मध्यम अवधिका ‘एक्सपोनेन्सियल मुभिङ एभरेज’ क्रमशः २ हजार ६ सय ३०.२४ र २ हजार ६ सय ३५.७७ भन्दा तल हो । यी दुवै मुभिङ एभरेज रहेको २ हजार ६ सय ३५ देखि २ हजार ६ सय ५० विन्दुको क्षेत्र तत्कालीन अवरोधका रूपमा देखिएको छ । कारोबार रकममा थप सुधारसहित परिसूचकले यो क्षेत्र पार गरेमा २ हजार ६ सय ६० देखि २ हजार ६ सय ७० हुँदै २ हजार ७ सय विन्दुसम्म पुग्ने सम्भावना रहन्छ ।

घट्दो बजारमा २ हजार ६ सयदेखि २ हजार ६ सय १० विन्दु तत्कालीन टेवाको क्षेत्र हो । त्यसपछि २ हजार ५ सय ६० देखि २ हजार ५ सय ७० विन्दु अर्को टेवाका रूपमा देखिएको छ । तत्कालीन टेवा क्षेत्रमा खरिद आकर्षण देखिए पनि कारोबार रकम बढ्दैमा लगानीकर्ताले दीर्घकालीन रूपमा सेयर सञ्चय गर्न थालेको पुष्टि हुँदैन ।

१४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४८.०८ मा छ । यो तटस्थ विन्दु ५० भन्दा केही तल हो । यसले बजारमा क्रेता वा बिक्रेता कसैको पनि निर्णायक पकड नरहेको संकेत गर्छ । बजारमा दिगो सुधारको संकेत देखिन परिसूचकले टेवा कायम राख्दै अवरोध पार गर्नुपर्ने हुन्छ ।

नेप्सेले मनोवैज्ञानिक तथा प्राविधिक महत्त्वको २ हजार ६ सय विन्दु कायम राख्न सके बजार सकारात्मक रहन सक्ने लगानीकर्ता तथा बजार विश्लेषक सुभासचन्द्र ढुंगाना बताउँछन् । अहिले बजार साइडवेज अर्थात् सीमित दायरामा घुमिरहेको भए पनि उक्त विन्दुभन्दा माथि टिक्न सके थप गति लिन सक्ने उनले जनाए ।

तिहारपछि सामान्यतया सेयर बजार घट्ने गर्छ । चाडपर्वका बेला र त्यसलगत्तै कारोबारको भुक्तानी गर्न नपरोस् भनेर लगानीकर्ताले तिहारअघि उधारोमा सेयर किन्ने प्रवृत्ति रहेको ढुंगानाको भनाइ छ । कारोबारको राफसाफ गर्ने समयसीमा नजिकिएपछि भुक्तानीका लागि लगानीकर्ताले सेयर बेच्ने भएकाले बजारमा बिक्री चाप बढ्ने गरेको उनले बताए । तर यस पटक भने बजारमा अपेक्षाअनुसार गिरावट नदेखिनुलाई उनले सकारात्मक संकेतका रूपमा लिएका छन् ।

गत साता कारोबार रकम बढेकाले बजारलाई केही गति मिलेको पनि उनले बताए । तर बजारको सुधारलाई दिगो बनाउन दैनिक कारोबार रकम निरन्तर ६ अर्ब रुपैयाँभन्दा माथि पुग्नुपर्ने उनको भनाइ छ । बजार विश्लेषक जगन्नाथ ढुंगेल पनि आगामी साताको बजारप्रति आशावादी छन् । कारोबार रकम क्रमशः बढ्दै जानु र बैंकिङ क्षेत्रबाट प्राप्त समर्थनले बजारलाई गति दिने उनको आकलन छ । कम्पनीहरूले लाभांश घोषणा गर्ने मंसिर र पुस महिनामा बजार सामान्यतया राम्रो रहने गरेको उनले बताए । बीचमा केही करेक्सन आए पनि नेप्से ३ हजार विन्दुसम्म पुग्न सक्ने उनको अनुमान छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours