२९ कात्तिक, काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट मैदानमा मात्रै सीमित नभएर नेपालको पर्यटन प्रवर्र्धन गर्ने माध्यम पनि बनेको छ । प्रतियोगितामा सहभागी विदेशी खेलाडीले खेलसँगै नेपालका विभिन्न पर्यटकीय स्थल घुम्ने र सामाजिक सञ्जालमा यहाँका अनुभव साझा गर्दा अन्तर्राष्ट्रिय क्रिकेट समर्थकमाझ नेपालको चर्चा बढ्न थालेको छ ।
प्रतियोगितामा सहभागी हुन नेपाल आएका अस्ट्रेलियाका पूर्वकप्तान डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, बङ्गलादेशका साकिब अल हसन, इङ्ग्ल्यान्डका मोइन अली, दक्षिण अफ्रिकाका डेभिड मिलर र पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी सोएब अख्तरलगायतका विदेशी खेलाडीले सामाजिक सञ्जालमा साझा गरेका नेपालका तस्बिर र भिडियोले विश्वभरका क्रिकेट समर्थकमाझ नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र पर्यटकीय गन्तव्यको प्रचार भइरहेको छ ।
एनपिएलमा सहभागी विदेशी खेलाडीले सामाजिक सञ्जालमा आफ्नो अनुभव साझा गर्दा ती सामग्री विश्वभरका क्रिकेट समर्थकमाझ पुगिरहेका छन् । वेस्ट इन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल र इङ्ल्यान्डका मोइन अलीले नेपाली ढाका टोपी लगाएर र डेभिड वार्नरले ‘ब्रेक फास्ट’ का लागि सगरमाथा आधार शिविरमा पुगेर साझा गरेका तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ ।
पोखरा, मुस्ताङ, सगरमाथा क्षेत्रलगायतका पर्यटकीय गन्तव्यमा घुमफिर गरेका तस्बिरले ५० हजारभन्दा बढी प्रतिक्रिया र टिप्पणी पनि बटुलेका छन् ।
त्यस्तै गरी दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलरले शनिबार सगरमाथा आधार शिविर पुगेको तस्बिर समाजिक सञ्जालमा सार्वजनिक गरेपछि नेपालको हिमाली सौन्दर्य र साहसिक पर्यटनले अन्तर्राष्ट्रियस्तरमा चर्चा बटुलेको छ ।
एनपिएलमा कर्णाली याक्सबाट खेलिरहेका उहाँको यो भ्रमणले अन्तर्राष्ट्रिय क्रिकेट समर्थक तथा उहाँका प्रशंसकमाझ नेपालको पर्यटन गन्तव्यबारे चासो बढाउन मद्दत पु¥याएको छ ।
डेभिड वार्नर, डेभिड मिलर र रसेललगायतका खेलाडीको विश्वव्यापी क्रिकेट समर्थक समूह ठुलो भएकाले उहाँहरूले सार्वजनिक गरेका नेपाली संस्कृति र पर्यटकीय गन्तव्य र देशको पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने अवसर दिएको पर्यटन बोर्डले जनाएको छ ।
बोर्डका निमित्त कार्यकारी निर्देशक हिक्मतसिंह ऐरका अनुसार एनपिएलमा सहभागी विदेशी खेलाडीलाई प्रतियोगिताबाहेकको समयमा खेलाडी आबद्ध रहेको टोलीले नेपालका पर्यटकीय गन्तव्य घुमाउने व्यवस्था पनि गर्दै आएकाले नेपाल प्रर्वधनमा सहयोग पुगेको छ ।
होटेल एसोसिएसन नेपालका अध्यक्ष विनायक शाहले एनपिएलमा सहभागी विदेशी खेलाडीले नेपालका प्राकृतिक सौन्दर्य, हिमाल, संस्कृति र पर्यटकीय गतिविधि अनुभव गर्ने अवसर पाउँदा नेपालमा खेल पर्यटनसँगै आतिथ्य तथा पर्यटन क्षेत्रमा सकारात्मक योगदान पुगेको बताउनुभयो ।
“तेस्रो संस्करणको एनपिएलको प्रभाव क्रिकेट मैदानमा मात्रै सीमित छैन, उहाँले भन्नुभयो, “प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अन्य प्राविधिक कर्मचारीको आगमनले होटेल, यातायात, रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रमा आर्थिक गतिविधि बढाएको छ ।” अहिले एनपिएलमा सहभागी आठ वटा टोलीका खेलाडी राजधानीका आठ वटा तारे होटेलमा बसोबास गरिहेका छन् । त्यस्तै देशभरबाट आउने क्रिकेटका प्रशंसकले समेत होटेल व्यवसायमा उत्साह थपेको छ ।”
उहाँले प्रतियोगिता हेर्न देशका विभिन्न स्थानबाट आउने समर्थकले होटेल, खाना र यातायातमा खर्च गर्दा स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुगेको बताउनुभयो ।
एनपिएलका कारण विदेशी खेलाडीको सामाजिक सञ्जालमा रहेका लाखौँ समर्थकले नेपालका बारेमा जानकारी पाइरहेको, प्रतियोगिता हेर्न नेपाल आउने स्वदेशी र विदेशी समर्थकले होटेल, यातायात, रेस्टुरेन्ट तथा पर्यटकीय सेवामा खर्च बढिरहेको र नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता आयोजना भइरहेकाले खेल पर्यटनमा जोड पुग्दै गइरहेको उहाँको भनाइ छ ।


+ There are no comments
Add yours