जेन्सेनको विवादास्पद सम्बन्ध बाहिरिएपछि डेमोक्रेट्स सांसदहरूले उनको कडा विरोध गरेका छन्, अमेरिकी प्रविधिको मेरुदण्ड मानिएको कम्पनी चीन सरकारको प्रभावमा रहेको हुन सक्ने चिन्ता उनीहरूको छ।
२८ कात्तिक, वासिङ्टन । प्रेम सम्बन्ध सामान्यतया व्यक्तिगत मामिला हुन् । तर जेन्सेन हुआङको सम्बन्धबारे अहिले विश्वव्यापी रूपमा चर्चा भइरहेको छ । हुआङ विश्वचर्चित कम्पनी एनभिडियाका सीईओ थिए । यस कम्पनी एआई बजारमा गुणस्तरीय र अत्याधुनिक चिप्स उत्पादनका लागि चिनिन्छ । प्रेम सम्बन्धकै कारण आलोचित भएपछि उनले सीईओ पदबाट राजीनामा दिइसकेका छन् ।
एआईका लागि आवश्यक चिप्स उत्पादन गर्ने कम्पनीका प्रमुख व्यक्ति भएकै कारण अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग जेन्सेन हुआङको निकट सम्बन्ध छ । ट्रम्पसँग मध्यरातमा फोन गरेर सोझै कुराकानी गर्न सक्ने थोरै व्यक्तिमध्ये उनी एक हुन् । तर उनी एक यस्तो चिनियाँ महिलासँग विवाहेत्तर सम्पर्कमा थिए, जसमाथि चीनलाई गुप्तचर जानकारी र उन्नत चिपहरू आपूर्ति गरेको आरोप लागेको छ । उनीसँग सम्बन्धमा रहेकी एलिस हुआङ सिंगापुरमा कार्यालय रहेको क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी हुन् ।
यो व्यक्तिगत विश्वासघात, कर्पोरेट जासुसी र उच्च प्रविधि विकासको एक कथा हो, जसको असर अमेरिकाभर फैलिरहेको छ । अमेरिकी संसद्मा दुवै दलका नेताहरूले यस विषयमा छानबिनको माग गरेका छन् । अमेरिकी न्याय विभागले आफ्नै छुट्टै अनुसन्धान सुरु गरेको छ । विश्वको सबैभन्दा मूल्यवान कम्पनीमध्ये एक एनभिडियाले पनि आन्तरिक समीक्षा गरिरहेको छ ।
एनभिडियाले उत्पादन गर्ने चिप्सहरूले कम्प्युटरहरूलाई सिर्जना र विश्लेषणको विशाल शक्ति प्रदान गरेर मानव सभ्यतालाई नै रूपान्तरण गर्न सक्ने अपेक्षा गरिएको थियो । ट्रम्पले बारम्बार दोहोर्याएका छन्, ‘जसले एआई जित्छ, संसार उसैले जित्छ ।’ यस क्षेत्रमा वर्चस्व कायम गर्ने अमेरिकाको योजनाको मुख्य मेरुदण्ड नै एनभिडिया नै हो ।

जेन्सेन हुआङको सम्बन्धबारे सोधिएको प्रश्नमा ट्रम्पले यस साता उनीसँग कुरा गरेको बताएका छन् । उनले जेन्सेनको बचाउ गरेका छन् । पछिल्लो प्रकरणबारे ट्रम्पले भने, ‘मलाई लाग्छ उनी ठीक स्थितिमा हुनेछन् । उनका अनुसार ती व्यक्ति जासुस थिइन् भन्ने उनलाई बिल्कुलै थाहा थिएन ।’
अमेरिकाका विभिन्न निकायहरूले मेगास्पिड र एलिस हुआङमाथि पनि अनुसन्धान गरिरहेका छन् । अमेरिका र चीनबीचको एआई (कृत्रिम बुद्धिमत्ता) दौडलाई प्रायः एक कडा र दूरगामी प्रतिद्वन्द्विताका रूपमा हेर्ने गरिन्छ । अमेरिकी न्याय विभागले बेइजिङबाट उत्पन्न हुने जासुसीको खतराप्रति निरन्तर चेतावनी दिँदै आएको छ । यसमा सरकार र निजी उद्योगमा राम्रो पहुँच भएका सम्बन्धहरू विकास गर्ने, अमेरिकामा विकसित गरिएका एआई चिपहरूजस्ता संवेदनशील प्रविधिहरू प्राप्त गर्ने चिनियाँ प्रयासहरू पनि समावेश हुन सक्ने विभागको चेतावनी छ ।
जेन्सेन हुआङ प्रकरणले अमेरिकालाई कस्तो हानि गर्न सक्छ ?
गत वर्ष, मेगास्पिडविरुद्ध अमेरिकी निर्यात कानुन छलेको र ठूलो मात्रामा उन्नत एनभिडिया चिप्स चिनियाँ प्रयोगकर्ताहरूकहाँ पुर्याएको आरोप लागेको थियो । यस विषयमा अमेरिकी वाणिज्य विभागले छानबिन गरेको थियो । वाणिज्य विभागअन्तर्गतको अनुसन्धान न्याय विभागलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि अहिले राष्ट्रिय सुरक्षा महाशाखाले मेगास्पिडले निर्यात नियन्त्रण कानुन उल्लंघन गरेको छ कि छैन भन्नेबारे अनुसन्धान गरिरहेको छ । अनुसन्धानबारे जानकार एक व्यक्तिले यसक्रममा अनुसन्धानले एलिस हुआङको पनि सूक्ष्म जाँच गर्नेछ ।
जेन्सेन हुआङले आफ्नी श्रीमती र छोराछोरीलाई चोट पुर्याएको भन्दै यस सम्बन्धका लागि आफ्नो कम्पनीसँग माफी मागेका छन् । तर एलिस हुआङलाई जासुसका रूपमा चित्रण गरेर सार्वजनिक भइरहेका रिपोर्टहरूबारे भने उनले केही बोलेका छैनन् । अर्कोतर्फ, द न्युयोर्क टाइम्ससँगको कुराकानीमा अमेरिकी गुप्तचर अधिकारीहरूले एलिस जासुस रहेको बताएका छन् । बेइजिङले चिनियाँ जासुसको आरोपलाई खण्डन गरेको छ । चीनको बदनामी गर्नका लागि यस्तो हल्ला फैलाइएको बेइजिङको दाबी छ ।
सन् २०२५ को सुरुमा मार–ए–लागोमा पहिलो पटक भएको डिनरपछि ट्रम्पले जेन्सेन हुआङलाई प्रतिभाशाली व्यक्तिका रूपमा चित्रण गर्दै आएका छन् । एनभिडियाद्वारा उत्पादित कम्प्युटर चिपहरूले डाटा सेन्टरहरूलाई बुद्धिमत्ता उत्पादन गर्ने कारखानामा परिणत गर्नेछ । यस बुद्धिमत्तालाई कार निर्माण, नयाँ औषधि, उन्नत हतियारलगायत क्षेत्रमा प्रयोग गरेर अर्थतन्त्रलाई समृद्ध बनाउन सकिन्छ । ट्रम्पले यसको भविष्यबारेमा छलफल गर्न नियमित रूपमा हुआङलाई फोन गर्ने गर्दथे ।
जेन्सेन हुआङले यस गर्मीमा एपीलाई दिएको अन्तर्वार्तामा भनेका थिए, ‘ट्रम्पले मसँग भेटेदेखि थप रोजगारी सिर्जना गर्ने, अमेरिकालाई पुनः औद्योगिक महाशक्ति बनाउने, राष्ट्रिय सुरक्षा सुदृढ गर्नेलगायत विषयमा कुराकानी गरेका छन् । अमेरिका धनी हुँदा हामीसँग धेरै राजस्व हुन्छ । हामी सेना र हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौं भन्ने उनलाई राम्रोसँग थाहा छ ।’
जेन्सेन हुआङ यस वर्षको सुरुमा बेइजिङको राजकीय भ्रमणका क्रममा एयर फोर्स वन विमानमा ट्रम्पसँगै गएका थिए । गत महिना मात्रै, ट्रम्पले उनलाई नेसनल मेडल अफ साइन्स प्रदान गरे । उनीबारे केही समयअघि ट्रम्पले भनेका थिए, ‘हुआङ त्यस्ता व्यक्ति हुन् । जसको दृढ संकल्पले सुपर इन्टेलिजेन्सको विकासका लागि आधार तयार गर्यो । अनि, यस दौडमा अमेरिकालाई अग्रपंक्तिमा राख्यो ।’ एनभिडियाले ट्रम्पको ह्वाइट हाउस बलरुम निर्माण गर्न २ करोड ५० लाख डलर पनि सहयोग गरेको थियो ।
ट्रम्पको दोस्रो कार्यकालमा सेयर बजारमा भएको वृद्धिको आधाभन्दा बढी हिस्सा एआई उद्योग र डाटा सेन्टरहरूको निर्माणले ओगटेको विभिन्न अध्ययनहरूले देखाएका छन् । सेयर बजारमा आशा जगाइराख्न यो वृद्धि जरुरी छ । यसबाहेक अर्थतन्त्रका अन्य आयामहरू सुधार्न ट्रम्प प्रशासन चुकेको छ । अमेरिकामा बढ्दो मूल्यवृद्धि रोक्ने आफ्नो चुनावी वाचा पूरा गर्न असफल भएकै कारण भर्खरै सम्पन्न संसदीय निर्वाचनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी बहुमत जोगाउनबाट चुक्यो ।
मतदाताहरूले विपक्षी डेमोक्रेटिक पार्टीलाई संसद्का दुवै सदनमा बहुमत दिएका छन् । हुआङले आफ्नो रुचि अमेरिकालाई सफल बनाउन सहयोग गर्नुमा रहेको बताउँदै आएका छन् । तर उनीविरुद्ध चीनमा केही चिप्स बेच्नका लागि जोडबल गरेको आरोपमा पनि संसदीय छानबिन चलिरहेको छ । एनभिडियाले एच–२०० जस्ता कम उन्नत चिपहरू चीनलाई बेच्न पाउनुपर्छ भन्ने धारणा उनले व्यक्त गरेका थिए ।
म्यासाचुसेट्सकी डेमोक्रेटिक सेनेटर एलिजाबेथ वारेनले यस विषयमा संसद्मै उपस्थित भएर जवाफ दिन उनीसँग माग गरेकी छन् । हुआङ अहिलेसम्म संसदीय समितिमा उपस्थित हुन मानेका छैनन् । पछिल्लो पटक विवादास्पद सम्बन्ध बाहिरिएपछि डेमोक्रेट्स सांसदहरूले उनको कडा विरोध गरेका छन् । अमेरिकी प्रविधिको मेरुदण्ड मानिएको कम्पनी चीन सरकारको प्रभावमा रहेको हुन सक्ने चिन्ता उनीहरूको छ ।
‘चिनियाँ सेनासँग जोडिएका कम्पनीहरूसहित चीनमा लाखौं उन्नत एआई चिप्स निर्यात गर्न एनभिडियाले अनुमति प्राप्त गरेको खबर आएको छ,’ वारेनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । जेन्सेन र एलिसको सम्बन्धलाई जोड्दै विज्ञप्तिमा भनिएको छ, ‘यी गतिविधिहरूको सीमा कहाँसम्म थियो । एनभिडियाले जवाफ दिनुपर्ने समय आएको छ ।’
एलिस हुआङ को हुन् ?
गुलाबी पहिरन र हातमा वाइनको ग्लास । कतै सेतो कोटमा मुस्कान । अहिले एलिस हुआङका यस्ता धेरै तस्बिरहरू इन्टरनेटमा भाइरल छन् । एआई कम्पनीहरूका लागि चिप्स निर्माण गर्दै आएको विश्वचर्चित कम्पनी एनभिडियाका कम्पनीका सीईओ जेन्सेन हुआङसँगको उनको विवाहेत्तर प्रेम सम्बन्ध सार्वजनिक भएसँगै एलिस विवाद र चर्चामा तानिएकी हुन् ।
जेन्सेनले सम्बन्धमा रहेको स्विकार्दै यसले परिवारमा गहिरो चोट पुर्याएको बताएका छन् र परिवारसँग माफी मागेका छन् । तर, एलिससँगको सम्बन्धले अमेरिकी राष्ट्रिय सुरक्षामा खलल पुर्याएको आरोपबारे आफ्नो विज्ञप्तिमा केही पनि उल्लेख गरेका छैनन् । तस्बिरहरू भाइरल भइरहे पनि एलिसको जीवन र जेन्सेनसँगको उनको भित्री कथा अझै पनि रहस्यको पर्दाभित्रै छ ।
वैवाहिक धोकाधडी, रहस्य र जासुसीको गम्भीर आरोपले भरिएको यो कथाले प्रविधि र राजनीतिक दुवै क्षेत्रलाई हल्लाइदिएको छ । तर, ती महिलाको जीवनयात्रा र विश्वको एक शक्तिशाली प्रविधि कम्पनीका प्रमुखसँग उनको सामीप्य कसरी बढ्यो भन्ने विषय अझै पनि अनुत्तरित नै छ ।
कसरी जोडिए यी दुई ?
गत महिना ‘द न्युयोर्क टाइम्स’ मा प्रकाशित एक रिपोर्टपछि ‘एलिस हुआङ’ (जसलाई हुआङ लि पनि भनिन्छ) रातारात चर्चामा आएकी हुन् । रिपोर्टमा उनले एनभिडियाका प्रमुखसँग घनिष्ठ सम्बन्ध बनाएको र बेइजिङलाई संवेदनशील सूचनाहरू चुहाएको दाबी गरिएको थियो । एलिस हुआङ चीनले जासुसी गर्न खटाएकी एजेन्ट रहेको निष्कर्ष अमेरिकी गुप्तचर अधिकारीहरूले गरेको दाबी उक्त समाचारमा थियो । तथापि, बेइजिङले भने यी सबै आरोपहरूलाई ‘निराधार’ र ‘चीनविरुद्धको बदनाम गर्ने षड्यन्त्र’ भन्दै खारेज गरिसकेको छ ।
ads/web-banner-1-04112026120259.png
चीनमा टेलिभिजन रिपोर्टरका रूपमा काम गरिसकेकी एलिस हुआङ सन् २०२३ मा सिंगापुरस्थित ‘मेगास्पिड’ कम्पनीमा निर्देशक बनेकी थिइन् । आफूलाई ‘एनभिडियाको क्लाउड पार्टनर’ बताउने यो कम्पनीमाथि चीनमा ठूलो मात्रामा उन्नत चिप्स तस्करी गरेको आरोप लगाइएको छ । अमेरिकाले चीनमाथि संवेदनशील चिप्सको निर्यात प्रतिबन्ध लगाएकाले उन्नत चिप्सको निर्यात अमेरिकी कानुनअनुसार अवैधानिक मानिन्छ ।
मेगास्पिड कम्पनीको यात्रा पनि आफैंमा रहस्यपूर्ण छ । कम्पनी दर्ता कागजातहरूअनुसार, यो संस्था सन् २०१५ मा ‘सेभेन रोड इन्टरनेसनल’ का रूपमा सिंगापुरमा स्थापना भएको थियो । पछि सन् २०२३ को मार्चमा यसको नाम परिवर्तन गरेर ‘मेगास्पिड इन्टरनेसनल’ राखियो । यसपछि सबै सेयर ब्रिटिस भर्जिन टापुमा दर्ता भएको एउटा कम्पनीलाई दिइयो ।
वासिङ्टनस्थित सुरक्षासम्बन्धी गैरनाफामुखी संस्था सी फोर एड्सको अनुसन्धानअनुसार, नाम परिवर्तनपछि एलिस हुआङ यस कम्पनीको निर्देशक बनिन् । सबै कार्यकारी अधिकार उनैलाई थियो । तर, त्यसको आठ महिनापछि उनी मेगास्पिडको निर्देशक पदमा नरहेको र उनका सेयरहरू सिंगापुरका व्यवसायी टान योङ पङ (जेम्स टान) लाई हस्तान्तरण गरिएको कागजातहरूमा देखिन्छ ।
यता, ‘कल्पर रिसर्च’ नामक सर्ट सेलर कम्पनीले तयार गरेको रिपोर्टमा एलिस हुआङको संलग्नता अझै पनि मेगास्पिडमा रहेको उल्लेख छ । मेगास्पिडका एक कर्मचारीले मे महिनाको रिपोर्टमा भनेका छन्, ‘हुआङ अझै पनि हाम्री मालिक हुन् । उनी दैनिक कार्यमा सक्रिय रहन्छिन् ।’ मेगास्पिडभन्दा अगाडि, एलिस हुआङले सन् २०१५ देखि २०१७ सम्म चिनियाँ निजी इक्विटी फर्म ‘सांघाई हेक्सी इन्भेस्टमेन्ट’ मा वरिष्ठ पदहरू सम्हालेकी थिइन् । त्यसअघि उनी एचएसबीसीको हङकङस्थित प्राइभेट बैंकिङ शाखामा कार्यरत थिइन् । उनीसँग चिनियाँ लगानी बैंक ‘सिटिक सेक्युरिटिज’ मा समेत काम गरेको अनुभव छ ।
अनुत्तरित प्रश्नहरू
मेगास्पिड कम्पनीमाथि चीनमा अवैध रूप चिप्स पठाएको आरोप छ । यस आरोप कम्पनीले अस्वीकार गर्दै आएको छ । यस कम्पनीले आफ्नो वेबसाइटमा आफूलाई एनभिडियाको एसियाली बजारको मुख्य साझेदार दाबी गरेको छ । सिंगापुर सरकारले भने एलिस हुआङको सम्बन्धमा हालसम्म कुनै पनि औपचारिक अनुसन्धान नगरिएको जनाएको छ । एलिस हुआङको जीवनसँग जोडिएका हरेक नयाँ जानकारी बाहिरिएसँगै जनमानसमा कौतूहल झन् बढ्दै गएको छ । तर, सामाजिक सञ्जालमा उनका तस्बिरहरू जति नै भाइरल भए पनि प्रविधि जगत्को यो ठूलो प्रकरणको पर्दापछाडिको कथा भने अझै अनुसन्धानकै घेरामा छ । अमेरिकामा विभिन्न निकायहरूले जेन्सेन हुआङको अनुसन्धान गरिरहेका छन् । एनभिडियाले पनि आफ्नो प्रमुख कार्यकारीमाथिको यस अभियोगको अनुसन्धान गरिरहेको छ ।
एपी


+ There are no comments
Add yours