१६ असाेज,काठमाडौँ । चलचित्र ‘बाटुलो जून’को टिजर सार्वजनिक गरिएको छ । झन्डै दुई मिनेट लामो टिजरमा भुवनको युवावस्थाको प्रेमकथा र त्यसलाई पर्दामा अनमोल र प्रिन्सी खतिवडाले निर्वाह गरेको देखाइएको छ ।
टिजरले २०३०-४० को दशकको नेपाली समाज, जीवनशैली र प्रेमकथालाई समेत झल्काएको छ । फरक जातीय र आर्थिक पृष्ठभूमिका दुई पात्रको अधुरो प्रेमलाई चलचित्रको कथाको केन्द्रमा राखिएको छ ।
चलचित्रमा भुवन र गरिमा पन्त मुख्य भूमिकामा हुनुहुन्छ भने उहाँहरूको युवावस्थाको भूमिका अनमोल र प्रिन्सीले निर्वाह गर्नुभएको छ । न्यान्सी खड्का, प्रकाश घिमिरे, रेअर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरीलगायत कलाकारको पनि चलचित्रमा अभिनय छ ।
राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको चलचित्र आगामी कात्तिक २६ गते (१२ नोभेम्बर) तिहारको अवसरमा प्रदर्शनमा आउँदैछ । चलचित्रलाई जीया केसी र भविष्य खड्काले निर्माण गर्नुभएको हो ।


+ There are no comments
Add yours