श्रद्धा, संस्कार र उल्लासको पर्व तीज आज

२९ भदाै, काठमाडौँ । हिन्दू नेपाली महिलाहरूको प्रमुख सांस्कृतिक तथा धार्मिक महान् पर्व हरितालिका तीज आज (सोमबार) देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरू निराहार व्रत बसेर भगवान् शिवको पूजा-आराधना गर्ने, नाचगान गर्ने तथा दिदीबहिनी र आफन्तसँग सुख-दुःख साटासाट गर्ने परम्परा छ । तीजलाई धार्मिक आस्था, पारिवारिक आत्मीयता र नेपाली मौलिक संस्कृतिको संगमका रूपमा लिइन्छ । विशेषगरी महिलाहरूले आफ्ना माइती तथा चेलीबेटीलाई बोलाएर दर खुवाउने, सामूहिक रूपमा गीत गाउने, नाच्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले यस पर्वको सामाजिक पक्ष पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ ।

यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह बालेन, सभामुख डोलप्रसाद अर्याललगायत विभिन्न दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।

तीज पर्व भाद्र शुक्ल प्रतिपदादेखि पञ्चमीसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधिसहित मनाइए पनि भाद्र शुक्ल तृतीयालाई मुख्य तीजका रूपमा लिइन्छ । यस दिन व्रतालु महिलाहरूले बिहानैदेखि निराहार व्रत बसेर साँझ भगवान् शिवको पूजा-आराधना गर्ने गर्छन् ।

यसवर्ष तीज पर्व आइतबारदेखि सुरु भएको हो । पर्वको पहिलो दिन व्रतालु तथा परिवारका सदस्यहरूले दर खाए । दोस्रो दिन आज (सोमबार) तीजको मुख्य दिनका रूपमा निराहार व्रत बसेर भगवान् शिवको पूजा-आराधना गरिँदै छ । आजै गणेश चौथी मनाइनेछ भने मंगलबार अरुन्धतीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व औपचारिक रूपमा समापन हुनेछ ।

पशुपतिनाथदेखि देशभरका शिवालयसम्म भिड

तीजका अवसरमा काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि व्रतालु महिलाको ठूलो भिड लाग्ने गर्दछ । रातो सारी, चुरा, पोते, टीका तथा विभिन्न आभूषणमा सजिएका महिलाहरू शिवलिंगमा जल तथा पूजा सामग्री अर्पण गर्दै भगवान् शिवको आराधना गर्ने गर्छन् ।

पशुपतिनाथसँगै काठमाडौं उपत्यकाका अन्य शिवालय तथा देशका विभिन्न स्थानमा रहेका शिव मन्दिरमा पनि तीजको अवसरमा विशेष पूजा तथा धार्मिक कार्यक्रम आयोजना हुने गरेका छन् । व्रतालु महिलाहरूले आफ्नो परिवारको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजा गर्ने तथा अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामना गर्दै व्रत बस्ने धार्मिक विश्वास छ ।

तीजको दिन महिलाहरूले बिहान सबेरै उठेर नुहाइधुवाइ गरी शुद्ध भई व्रत सुरु गर्ने परम्परा छ । साँझ पूजाका लागि आवश्यक सामग्री तथा मण्डप तयार पारेर भगवान् शिव, पार्वतीलगायत देवीदेवताको पूजा-आराधना गर्ने गरिन्छ । प्रचलित धार्मिक जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई आफ्नो पति पाऊँ भन्ने कामनासहित कठोर तपस्या र व्रत गर्नुभएको थियो । पार्वतीको त्यही तपस्याको स्मरण गर्दै तीजमा महिलाहरूले व्रत बस्ने परम्परा सुरु भएको मानिन्छ ।

धार्मिक मान्यताअनुसार अविवाहित महिलाले असल तथा योग्य पति प्राप्तिको कामना गर्दै र विवाहित महिलाले पतिको दीर्घायु, सुख–समृद्धि तथा पारिवारिक कल्याणको कामना गर्दै तीजको व्रत बस्ने गरेका छन् । यद्यपि, पछिल्लो समय तीजको धार्मिक पक्षसँगै महिलाको आत्मीय भेटघाट, मनोरञ्जन र सामाजिक अभिव्यक्तिको पर्वका रूपमा यसको स्वरूप थप व्यापक बन्दै गएको छ ।

दर र नाचगानले पर्वको रौनक

तीजको अर्को महत्त्वपूर्ण पक्ष दर खाने तथा खुवाउने परम्परा हो । भाद्र शुक्ल प्रतिपदाका दिन चेलीबेटी तथा दिदीबहिनीलाई माइतीमा बोलाउने र द्वितीयाका दिन आफ्नो सामर्थ्यअनुसार विभिन्न परिकार बनाएर प्रेमपूर्वक खुवाउने चलन छ । परम्परागत रूपमा दरमा स्थानीय तथा घरमै तयार गरिएका विभिन्न परिकार समावेश हुने भए पनि पछिल्लो समय यसको स्वरूपमा परिवर्तन आएको छ । परिवार तथा आफन्तको जमघटसँगै तीजका गीत, नाचगान र सांस्कृतिक कार्यक्रमले पर्वको रौनक बढाउने गरेको छ । यद्यपि, यो वर्ष भोटेकोशीमा आएको बाढी र त्यसले निम्ताएको विनाशले यो पर्व ओझेलमा परेको छ ।

तीजका गीतमार्फत महिलाहरूले आफ्ना भावना, अनुभव, पारिवारिक अवस्था, सामाजिक समस्या तथा समसामयिक विषयसमेत अभिव्यक्त गर्ने गरेका छन् । विगतमा महिलाका दुःख, पीडा र माइतीप्रतिको भावनामा केन्द्रित हुने तीज गीत पछिल्लो समय सामाजिक चेतना, महिला अधिकार, समानता र समसामयिक विषयसम्म विस्तार भएका छन् । पछिल्लो समय यसको भावनाविपरीत समाजमा पाच्य नहुने गीत आएको भन्दै आलोजना हुने गरेका छन् । तर, यो वर्ष त्यस्ता गीत निकै कम मात्र सार्वजनिक भएको देखिएको छ ।

साउने संक्रान्तिदेखि नै तीजको रौनक

नेपाली समाजमा साउने संक्रान्तिदेखि नै तीजको रौनक सुरु हुने गरेको पाइन्छ । रातो पहिरन, हरियो चुरा, पोते तथा विभिन्न शृंगार सामग्रीको प्रयोगसँगै तीजका गीत र सांस्कृतिक कार्यक्रमले पर्वको वातावरण बनाउने गर्छन् । विशेषगरी पछिल्ला वर्षमा तीज नेपालका विभिन्न समुदायका महिलाले मनाउने साझा सांस्कृतिक पर्वका रूपमा विकसित हुँदै गएको छ । धार्मिक रूपमा हिन्दू महिलाको पर्वका रूपमा यसको सुरुआत भए पनि अहिले विभिन्न समुदाय र पृष्ठभूमिका महिलाहरू तीजका सांस्कृतिक गतिविधिमा सहभागी हुने गरेका छन् ।

बदलिँदै तीजको स्वरूप

समयसँगै तीज मनाउने शैलीमा पनि परिवर्तन आएको छ । विगतमा मुख्यतः माइतीमा भेला हुने, दर खाने, व्रत बस्ने र शिवको पूजा गर्ने परम्परामा सीमित रहेको तीज अहिले सामूहिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति तथा सामाजिक अभियानसँग पनि जोडिन थालेको छ ।

यद्यपि, आधुनिकतासँगै तीजको मौलिकता जोगाउने विषयमा पनि बहस हुँदै आएको छ । पर्वका नाममा हुने अनावश्यक खर्च, देखासिकी र भड्किलोपनले तीजको मौलिक सांस्कृतिक तथा धार्मिक महत्त्व ओझेलमा पार्न नहुने आवाज उठ्दै आएको छ । संस्कार, आत्मीयता र सामाजिक एकतालाई केन्द्रमा राखेर पर्व मनाउनुपर्नेमा संस्कृतिविद् तथा जानकारहरूले जोड दिँदै आएका छन् ।

तीज केवल व्रत र पूजा गर्ने पर्व मात्र नभई नेपाली महिलाको भावना, सम्बन्ध, संस्कृति र सामाजिक जीवनलाई जोड्ने अवसर पनि हो । दिदीबहिनी तथा आफन्तबीच भेटघाट, सुख-दुःखको आदानप्रदान र सामूहिक सांस्कृतिक अभिव्यक्तिका कारण तीज नेपाली समाजमा विशिष्ट महत्त्व बोकेको पर्वका रूपमा स्थापित छ ।

धार्मिक आस्था, पारिवारिक आत्मीयता र सांस्कृतिक उल्लासको संगमका रूपमा तीज देशभर मनाइँदै छ । भगवान् शिव र पार्वतीको आराधनासँगै दिदीबहिनीको मिलन, नाचगान र आपसी सद्भावले आजको दिनलाई थप विशेष बनाएको छ ।

पशुपतिका चारवटै ढोका बिहान ३ बजेबाटै खुल्ला

हरितालिका तीजमा पशुपतिनाथ मन्दिरनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ । मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँचवटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठवटा लाइन हुनेगरी व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ । ट्राफिक व्यवस्थापनका लागि विशिष्ट व्यक्तिको सवारीसाधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ । अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours