हरितालिकासँगै नारीको धार्मिक र पौराणिक महत्त्व

२९ भदाै, काठमाडौँ । भाद्रशुक्ल तृतीयालाई हरितालिका व्रत भनिन्छ । यस व्रतलाई तीजको व्रत पनि भनिन्छ । यस विषयमा शास्त्रीय वचन छ :

भाद्रशुक्ल तृतीयायां हरितालिका व्रतम् ।…
तदा द्वतीयायुतापि ग्राह्या । …
पूर्वदिने षष्टिघटीमितामपि त्यक्तवा ।
तुर्थीयुतैव ग्राह्या, गणयोगप्राशस्त्यात् । …
गौरीव्रतं प्रिये ।
शुद्धाधिकायामप्येवं गणयोगप्रशंसनात् ।।
धर्मसिन्धु सुधा-१४६ ।

अर्थात् एक मुहूर्तमात्रै पनि तृतीया तिथि छ भने यो व्रत त्यसै दिन गर्नुपर्छ । यो हरितालिकामा त्यही भएको छ । कला काष्ठामुहूर्तापि द्वितीया यदि दृश्यते । ….. भाद्रे मासि सिते पक्षे तृतीया हस्तसोमयुक् । तदनुष्ठान मात्रेण सर्वपापैःप्रमुच्यते ।। भाद्रशुक्ल तृतीया द्वितीयाले युक्त छ भने त्यस दिन व्रत गर्नु हुँदैन । चतुर्थीयुक्त तृतीयाको व्रत गर्नु उत्तम हुन्छ । जुनबेला तिथिक्षय भएर चतुर्थीयुक्त तृतीया हुँदैन त्यस बेलामा मात्र द्वितीया युक्त तृतीयामा व्रत गर्नुपर्छ । यदि यस तृतीयामा हस्ता नक्षत्र र सोमबार पनि परेमा भने ज्यादै उत्तम मानिन्छ तर यस वर्ष बार परेको छ भने नक्षत्र फरक छ ।

हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हरतवरले हिँड्दा, खाँदा, खेल्दा, बस्ता, सुत्ता वा जेसुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊँ भनेर शिवजीकै चिन्तन, मनन् पूजन आदि गर्दथिन् । तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन् । उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनिन् ।

नामास्य व्रतराजस्य श्रेणु देवि यथाभवत् ।
आलिभिर्हरिता यस्मात्तस्मात् सा हरितालिका ।।

आलिभिः सखीभिः, हरिता अपहृता इति हरितालिका । अर्थात् पार्वतीलाई साथीहरूले हरण गरेर लुकाएका हुँदा यसको नाम हरितालिका रहेको हो ।

हाम्रो मान्यता :

तीजमा माइतीले (बाबुआमा, दाजु-भाइ)ले छोरीरचेलीाई घरमा बोलाएर मीठा–मीठा परिकार ख्वाउने तथा मनका भावना एवं सुखदुःख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यसदिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ । यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा खीर, ढकने वा सेलरोटी, केरा आदि अथवा ठाउँअनुसार विभिन्न परिकार खाने गरिन्छ । तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर खाने प्रचलन बसेको हो ।

धार्मिक ग्रन्थसँगको चलन

हिन्दु धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको तपस्या गर्न थालिन् । प्राचीनकालमा हिमालय पुत्री पार्वतीले सानै हुँदादेखि मनको आफ्नो चिन्तन हरतवरले हिँड्दा, खाँदा, खेल्दा, बस्ता, सुत्ता वा जेसुकै गर्दा पनि उनै शिवजीलाई पति पाऊँ भनेर शिवजीकै चिन्तन, मनन् पूजन आदि गर्दथिन् । तर यो कुरा हिमालयलाई थाहा थिएन र पार्वतीको विवाह विष्णुसँग गर्ने निधो गरेछन् । उक्त कुरा थाहा पाएर पार्वतीले साथीहरूसँग भनिन् । त्यसपछि साथीहरूले तिमी चिन्ता नगर, हामी यसको व्यवस्था गर्छौं भनी उनलाई हरण गरी ठूला जंगलको बाटो लगेर नदीका किनारमा रहेको गुफामा लुकाएर राखे । त्यही गुफामा बसी नदीबाट बालुवा ल्याई त्यसै बालुवाको पार्वतीसहितको शिवलिंग बनाएर अत्यन्त श्रद्धा र भक्तिका साथमा पार्वतीले पानीसमेत नखाई व्रत बसेर शिव-पार्वतीको पूजा गरिन् ।

रातभर जाग्रम बसी पानीसमेत नखाई कथाश्रवण नाच, गान, बजान गरी व्रत गरिन् । भोलिपल्ट प्रतःकाल भएपछि नदीमा लगी मूर्तिको बिसर्जन गर्ने बेलामा पार्वतीले गरेका भक्तिले गर्दा कैलासमा शिवको आसन हल्लियो । अनि शिवजी प्रसन्न भएर के वर माग्छ्यौं भन्दा पार्वतीले हजुर मेरो पति होइदिनुहोस्, यसैका लागि मैले यो व्रत गरेकी हूँ भनी वर मागिन् । शिवजीले तथास्तु भनी वरदान दिनुभयो र शिवजी कैलासतिर फिर्नुभयो भन्ने शास्त्रीय मान्यता । यो व्रत गरेको दिन भाद्रशुक्ल तृतीयाको दिन परेको हुँदा भाद्रशुक्ल तृतीयाका दिन हरितालिका तीजको व्रत गर्ने परम्परा चलेको हो ।

सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेका हुन् । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र पूजा लगाई ब्राह्मणलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।

आधुनिक समाजमा तीजको महत्त्वलाई जुन् रूपले व्याख्या गरिए पनि यो एक पौराणिककालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमान्को साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतिको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्त्व रहेको छ । तीजमा महिलाहरूलाई मीठामीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ ।

महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजको व्रत अन्य व्रतभन्दा फरक ढंगले लिइन्छ । यसदिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको भए पनि कतिपय महिलाहरू महादेवको पूजा आराधनापश्चात फलफूल ग्रहण गर्दछन् । यो चाड भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म चारदिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दु महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

यस व्रतका प्रभावले आजसम्म पनि पार्वतीको सौभाग्य अटल रहेको छ । यस दिन पानी पनि नखाई व्रत बसी शिवपर्वतीको पूजा आराधना गरेमा मनोकामना सिद्धि हुन्छ । परिवारमा सुख, समृद्धि, आरोग्य, आयु वृद्धि, पुत्रपौत्रादिको उन्नति-प्रगति हुने आदि हुन्छ । अविवाहिता नारीले व्रत बसे असल पति पाउँछिन् । विवाहिता नारीले व्रत गरे सौभाग्य, समृद्धि सत्पुत्र प्राप्त हुन्छ र अन्त्यमा शिवपद प्राप्त हुन्छ । हाम्रो समाजमा यो व्रत नारीजातिले मात्र लिनुर्दछ भन्ने धारणा रहेको छ तर शिव र पार्वतीको व्रत भएको हुँदा नारीले मात्र नभई नारी र पुरुष दुवै भई व्रत गरेमा अझ बढी पुण्य दायक हुन्छ ।

वैदिककालमा नारी आमाहरूलाई पूर्णरूपमा पूजाले सम्मान गरेको पाइन्छ । ‘अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरी तथा पञ्चकन्या स्मरेन्नित्यं महापातकनाशनम् ।’ अर्थ अहल्या, द्रौपती, तारा, कुन्ती, मन्दोदरी यी पाँच कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महापतक नाश हुन्छ । यी नारीहरूले आफूले जे चितायो त्यही गर्न सक्दथे । त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ ।

नारीको धार्मिक र शास्त्रीय महत्त्व :

नारीको साब्धिक अर्थ ‘न’ भनेको होइन अथवा छैन । ‘अरी’ भनेको सत्रु । जसको सत्रु छैन । त्यसलाई नारी भनिन्छ । नारी नै शृष्टिको मुहान हो । त्यसैले मातृदेवो भवः अर्थात् आमालाई देवता समान मान भनिएको छ । सर्वप्रथम यो जगतमा शृष्टि स्वायम्भुव मनु र शतरूपाले मैथुन क्रियाबाट दुई छोरा र तीनवटी छोरीहरूको जन्मदिए । यिनैका सन्तानहरूले विश्व ढाकेको कुरा श्रीमद्भागवत पुराणमा वर्णन पाइन्छ ।
यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवतास् । यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफलास् क्रियास् ।

अथर्ववेद अर्थात् जसको कुलमा नारीको पूजा, सत्कार हुन्छ, उसको कुलमा दिव्यगुण, दिव्यभोग र उत्तम सन्तान हुन्छन् । त्यसपछि जसको कुलमा नारीको पूजा हुँदैन उसले गरेको सबै कार्य निष्फल हुने गर्दछ । त्यसैले हरेक शास्त्रहरूले पुरुषभन्दा नारीलाई अग्रस्थानमा राखेको पाइन्छ ।

एकचक्रो रथो यद्वदेकपक्षो यथा खगः अभार्योद्रपि नरस्तद्वदयोग्य स्सर्वकर्मसु । अर्थात् जसरी एक पांग्रे रथ गुड्न सक्दैन, एउटा प्वाँख भएको चरा उड्न सक्दैन, त्यसैगरी एक्लो पुरुषले कुनै कार्य गर्न सक्दैन । जस्तो गृहस्थीको रेखदेख, बच्चाको पालन, पोषण शिथिल बेलामा उत्साहको संवर्द्धन जुन खुबीले नारीहरू गर्नसक्दछन् । त्यो कुरा पुरुषले गर्नसक्दैन ।

पितृभिर्भातृभिश्चैता स्पतिभिर्देवरैस्तथा । पूज्या भूषयितव्याश्च बहुकल्याणमिप्सुभी अर्थात् पिता, भ्रार्ता भाइ, पति तथा देवरले आफ्नो भलाई चाहन्छन भने नारीलाई आदर गर्नुपर्दछ र वस्त्र, आभूषणले सुसज्जित बनाउनुपर्दछ । त्यसैले मातृशक्ति भनेको लक्ष्मीको स्वरूप पनि हो, किनकि घरको लक्ष्मी हो, गृहको अर्थ घर होइन, गृहिणीको नाम घर हो । घर चलाउनेलाई गृहिणी भनिन्छ । गृहिणीले जस्तो घर बनायो त्यस्तै बन्दछ ।

गृहिणी भन्नु, गृहलक्ष्मी भन्नु एउटै हो । जस्तो नारीहरूमा छ गुण हुन्छन, गृहेषु मन्त्री, करणेषु दासी, भोज्येषु माता, शयनेषु रम्भा । धर्मानुकूला क्षमया धरित्री षड्गुण्यमतदधि पतिव्रतानाम्रूअर्थात् पहिलो घरको खर्च चलाउने भएकीले नारी गृहमन्त्री हुन्छिन् । तिनै नारी दोस्रो अवस्थामा जूठो भाँडो, चुल्हो, चौका लिपपोत आदि कार्यमा कुशल भएकीले दासी हुन्छिन् । तिनै नारी तेस्रो अवस्थामा घरपरिवारका सदस्यहरूलाई कसलाई कुन तरिकाले भोजन दिने र छोराछोरीप्रति वात्सल्यभाव देखाउने भएकीले माता हुन्छिन् । तिनै नारी चौथो अवस्थामा पतिपारायण भएर शयन अवस्थामा रम्भा नामकी अप्सराले दिने आनन्द उनले दिने भएकीले रम्भा समान हुन्छिन् ।  तिनै नारी पाँचौं अवस्थामा धर्म, कर्म, पूजाआजा गर्न पुरुषभन्दा धेरै नै क्रियाशीलभई धर्मानुकूल कार्य गर्ने भएकीले ती नारी धर्ती समान हुन्छिन् । तिनै नारी छैटौं अवस्थामा विश्वमोहिनी, शक्तिस्वरूपा, प्रकृतिस्वरूपा, अनन्तकोटि ब्रह्माण्डकी सञ्चालीका हुन्छिन् । त्यसैले नारीको गुणगान पूजा सम्मान जति गरेपनि थोरै नै हुन्छ ।

वैदिककालमा नारी आमाहरूलाई पूर्णरूपमा पूजाले सम्मान गरेको पाइन्छ । ‘अहल्या द्रौपदी तारा कुन्ती मन्दोदरी तथा पञ्चकन्या स्मरेन्नित्यं महापातकनाशनम् ।’ अर्थ अहल्या, द्रौपती, तारा, कुन्ती, मन्दोदरी यी पाँच कन्यालाई जसले नित्य सम्झन्छ भने त्यसको महापतक नाश हुन्छ । यी नारीहरूले आफूले जे चितायो त्यही गर्न सक्दथे । त्यसैले नारीहरूको बारेमा जति लेखे पनि अपुरो हुने गर्दछ । हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण देश-विदेशमा बस्नुहुने नारिहरूलाई हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछु ।

You May Also Like

More From Author

+ There are no comments

Add yours