विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि ब्रिक्स सदस्य मुलुकका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती
नयाँदिल्ली — युक्रेन र मध्यपूर्वमा जारी युद्ध तथा अमेरिका–चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँदिल्लीमा भेला हुँदै छन् । विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ ।
आयोजक भारतले चीन र रुससँगको सम्बन्धलाई अमेरिका तथा पश्चिमी शक्तिसँगको बढ्दो साझेदारीसँग सन्तुलनमा राख्नुपर्ने अवस्था छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी चिनफिङ र इरानी राष्ट्रपति मसुद पेजेस्कियनलगायत नेताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
ब्रिक्स प्रारम्भमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूह रहेकामा अहिले ११ सदस्य पुगेका छन् । विश्वको करिब आधा जनसंख्या प्रतिनिधित्व गर्ने समूहमा भारत–चीन, इरान–साउदी अरेबिया तथा इजिप्ट–इथियोपियाजस्ता क्षेत्रीय प्रतिस्पर्धा भएका राष्ट्रसमेत छन् । त्यसैले युक्रेन र इरानका विषयमा एकीकृत धारणा बनाउन कठिन हुने विज्ञहरूको भनाइ छ ।
इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विश्लेषक प्रवीण डोन्टीले ग्लोबल साउथ एउटै एकाइ नभएकाले विभिन्न द्वन्द्व व्यवस्थापन तथा मध्यस्थता ब्रिक्सका लागि कठिन हुने बताए । युक्रेन युद्धमा भारतले रुससँग ऊर्जा र रक्षा सम्बन्ध कायम राख्दै अमेरिकासँग रणनीतिक साझेदारी विस्तार गरेको छ र संवाद तथा कूटनीतिमार्फत समाधानमा जोड दिँदै आएको छ ।
भारतका लागि सम्मेलन चीनसँगको सम्बन्ध सुधार गर्ने अवसरसमेत हो । सन् २०२० को सीमा तनावपछि चिसिएको सम्बन्धमा पछिल्लो समय सुधार देखिएको छ । सात वर्षपछि राष्ट्रपति सीको नयाँदिल्ली भ्रमणले त्यसलाई थप बल दिन सक्ने अपेक्षा गरिएको छ । डोन्टीले सम्मेलनले भारतलाई चीनसँग संवाद बढाउन र बाँकी द्विपक्षीय विषयमा प्रगति गर्ने अवसर दिने बताए ।
ब्रिक्सलाई स्पष्ट रूपमा पश्चिमविरोधी समूह बन्न नदिनु भारतको अर्को प्राथमिकता हो । यसैबीच अमेरिकी डलरमा निर्भरता घटाउने विषय पनि सम्मेलनको महत्त्वपूर्ण एजेन्डा बन्नेछ । सदस्य राष्ट्रले आफ्नै मुद्रामा व्यापार बढाउने तथा वैकल्पिक भुक्तानी प्रणाली विकास गर्नेबारे छलफल गर्दै आएका छन् ।
यद्यपि विश्व व्यापार र वित्तमा डलरको गहिरो प्रभाव तथा सदस्य राष्ट्रका फरक मुद्रा र वित्तीय प्रणालीका कारण त्यसलाई तत्काल विस्थापित गर्न कठिन छ । सेवानिवृत्त भारतीय कूटनीतिज्ञ महेश सचदेव वर्तमान वित्तीय प्रणालीबाट आफ्नो जोखिम घटाउनु ब्रिक्सको उद्देश्य रहेको बताए ।
ब्रिक्सको बढ्दो आर्थिक तथा कूटनीतिक प्रभावका बाबजुत यसको वास्तविक प्रभाव सदस्य राष्ट्रले साझा र व्यावहारिक कदम चाल्न सक्छन् कि सक्दैनन् भन्नेमा निर्भर रहने विज्ञहरूको धारणा छ ।


+ There are no comments
Add yours