जेलेन्स्की सवार विमानमा ड्रोन आक्रमण, कस्ले गर्‌यो आक्रमण?

२५ भदाै, काठमाडौँ । जेलेन्स्की सवार विमान ड्रोन आक्रमणबाट थोरैले जोगिएको नर्वेका प्रधानमन्त्रीले बताएका छन् । नर्वेका प्रधानमन्त्री जोनास गाहर स्टोरले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सवार विमान मोल्डोभाबाट नर्वेको ओस्लोका लागि उडान भर्ने क्रममा ड्रोन आक्रमणबाट थोरैले मात्र जोगिएको दाबी गरेका छन् ।

युक्रेनी राष्ट्रपति जेलेन्स्की नर्वेका दिवंगत राजा ह्याराल्ड पाँचौँको अन्त्येष्टिमा सहभागी हुन मोल्डोभा हुँदै ओस्लो जाँदै थिए । नर्वेजियन सार्वजनिक प्रसारक एनआरकेसँग प्रधानमन्त्री स्टोरले मोल्डोभाबाट उडान भर्ने क्रममा जेलेन्स्की सवार विमान ड्रोनको निशानामा पर्नै लागेको स्मरण गरे । उनले जेलेन्स्कीले यस्तै वास्तविक जोखिमबीच काम गरिरहेको बताए ।

मोल्डोभा सरकारले ड्रोनको जोखिमका कारण केही समयका लागि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको बताइएको छ । सरकारका प्रवक्ताका अनुसार यसका कारण जेलेन्स्की सवार विमानको उडानमा समेत ढिलाइ भएको थियो । मोल्डोभाको भूभागमा रुसी ड्रोन खसेपछि मात्र जेलेन्स्कीको विमानलाई उडानको अनुमति दिइएको बताइएको छ ।

अमेरिकी थिंक ट्यांक इन्स्टिच्युट फर द स्टडी अफ वारका अनुसार मंगलबार एउटा रुसी ‘साहेद’ ड्रोन युक्रेनबाट मोल्डोभा हुँदै रोमानियाको हवाई क्षेत्रमा प्रवेश गरेको थियो । करिब एक घण्टासम्म उक्त क्षेत्रमा उडेको थियो । पछि उक्त ड्रोन मोल्डोभामा खसेको बताइएको छ ।

यद्यपि, यही ड्रोनका कारण जेलेन्स्की सवार विमान जोखिममा परेको हो वा अर्कै ड्रोनबाट खतरा उत्पन्न भएको हो भन्ने स्पष्ट भइसकेको छैन । युक्रेनी अधिकारी वा स्वयं राष्ट्रपति जेलेन्स्कीले घटनाबारे अहिलेसम्म सार्वजनिक रूपमा कुनै टिप्पणी गरेका छैनन् । केही कूटनीतिक स्रोतले भने जेलेन्स्की प्रत्यक्ष रूपमा ड्रोन आक्रमणको जोखिममा परेको भन्ने दाबीलाई ‘अतिरञ्जित’ भएको बताएका छन् । डीडब्ल्यू

You May Also Like

More From Author

+ There are no comments

Add yours