कृष्णभीर पहिरोको तत्कालीन समाधान अघि बढाइने, चालु आर्थिक वर्षभित्र वैकल्पिक सडक बनाउने तयारी

१७ भदाै, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि तत्काल अस्थायी संरचना निर्माण गर्ने तथा दीर्घकालीन समाधानस्वरूप वैकल्पिक सडक निर्माण गर्ने निर्णय भएको छ।

पृथ्वी राजमार्ग सञ्चालन तथा तत्कालीन र दीर्घकालीन समाधानका विषयमा मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले कृष्णभीरमा तत्काल सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउनेदेखि वैकल्पिक सडक निर्माणसम्मका निर्णय गरेको हो।

बैठकले विपद्को तत्काल सामना गर्दै विपद् प्रभावित क्षेत्र र राजधानीबिचको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको हिलसाइडमा रहेको ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी आवश्यक संरचना निर्माणको काम तत्काल अघि बढाउने निर्णय गरेको छ।

त्यस्तै, सडकमा ट्र्याक खोल्ने कामसँगै ‘सेक्रिफिसियल ग्याबियन बक्स’ निर्माण गर्ने र बोल्डरलाई हिलसाइडबाट तल खसाल्ने काम समेत अघि बढाइने भएको छ। यसबाट पहिरो प्रभावित क्षेत्रमा तत्काल यातायात सञ्चालन सहज बनाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ।

कृष्णरको दीर्घकालीन समाधानका लागि भने टनेल, सोइल नेलिङ र सिट पाइल लगायतका प्राविधिक विकल्पबारे सडक विभागले आवश्यक अध्ययन गर्ने भएको छ। पहिरोको जोखिमलाई स्थायी रूपमा व्यवस्थापन गर्न उपयुक्त प्रविधि र संरचनाको पहिचान गरिनेछ।

यसैगरी, कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक निर्माणका सम्भावित विकल्पको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्म वैकल्पिक सडक व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours