१७ भदाै, म्याग्दी । म्याग्दीको भौगोलिक रुपमा विकट मानिएको गुर्जाका बासिन्दाले भोटेकोशी बाढी पीडितका लागि रु दुई लाख ५० हजार सहयोग गरेका छन् ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा राहत, उद्धार र पुनर्निर्माण तथा पुनस्र्थापनाका लागि गुर्जामा रहेका विभिन्न सङ्घसंस्थाले उक्त सहयोग गरेका हुन् ।
गुर्जा विकास मञ्च र गुर्जा–काठमाडौँ समाजले रु एक÷एक लाख तथा पोखरामा बस्ने गुर्जाको चौतारे छन्त्याल महिला समूहबाट रु २५ हजार र बङ्गाले छन्त्याल महिला समूहबाट रु २५ हजार सहयोग गरेको वडाअध्यक्ष झक छन्त्यालले जानकारी दिनुभयो । चार वटै संस्था र समूहले वडा अध्यक्ष छन्त्यालमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका हुन् ।
यसैगरी, बेनी नगरपालिका–९ मा रहेका विभिन्न सङ्घसंस्थाले पनि मङ्गलबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुई लाख सात हजार ६३५ जम्मा गरेका छन् । गलेश्वर शिव युवा क्लव, गलेश्वरधाम आमा समूह, गलेश्वर फुटसल समूह, टोल सुधार समिति र गलेश्वर आदर्श आवासीय माविका शिक्षक र विद्यार्थीबाट उक्त रकम जुटाएर कोषमा जम्मा गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका उपाध्यक्ष बमबहादुर पुनले जानकारी दिनुभयो ।
बाढी प्रभावित क्षेत्रबाट सात मजदुर घर फर्किए
भोटेकोशी बाढीबाट अति प्रभावित रसुवा जिल्लाका २१६ मेगावाट क्षमताको अपर त्रिशूली जलविद्युत् आयोजनामा कार्यरत म्याग्दीका सात जना श्रमिक मङ्गलबार घर आइपुगेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलराज आचार्यका अनुसार मङ्गला गाउँपालिका–५ किमचौरका तीर्थ विक, मालिका गाउँपालिका–५ का जित पुन, टेकबहादुर पुन, प्रेम पुन, धवलागिरि गाउँपालिका–२ का टीकाकुमार पुर्जा, विमल पुर्जा र नवीन पुर्जा आफ्नो घर आइपुगेका हुन् ।
मालिका गाउँपालिका–४ ओखरबोट छापका २५ वर्षीय भबिन्द्र रेग्मी र धवलागिरि गाउँपालिका–२ खोरियाका २३ वर्षीय प्रबिन पुर्जा अझै सम्पर्कविहीन रहेका सहायक प्रजिअ आचार्यले बताउनुभयो । बाढी आएपछि भागेर ज्यान जोगाएका मजदुरले रसुवादेखि चार दिन पैदल यात्रा गर्दै धादिङ पुगेका थिए । त्यसपछि गोरखा, पोखरा हँुदै बेनी आएको उहाँले बताउनुभयो ।


+ There are no comments
Add yours