०९ भाद्र, काठमाडौँ । बन्चरेडाँडा ल्यान्डफिल साइटको समस्या समाधान गर्न तीन तहका सरकार र स्थानीय बासिन्दाबिच पटक पटक सम्झौता भए पनि बर्सौंदेखि समस्या ज्युँका त्युँ छन् । कागजी सहमति मात्र गरिने तर तिनको पालना नहुने प्रवृत्तिका कारण स्थानीय बारम्बार आन्दोलित बन्दै आएका छन् । भएका सहमति कार्यान्वयनमा बेवास्ता, स्रोतमा फोहोर नछुट्याइनु र जग्गा अधिग्रहण तथा मुआब्जाको जटिलताले गर्दा समस्या हुने गरेको हो ।
फोहोर पु-याउन हुने अवरोधपछि छुट्टाछुट्टै समयमा सानाठुला गरेर थुप्रै लिखित तथा मौखिक सहमति भइसकेका छन् तर कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । २०६२ जेठ ६ देखि नुवाकाटेको बन्चरेडाँडामा फोहोर फाल्न थालिएको हो । त्यसयता स्थानीयले गर्ने अवरोध हटाउन १७५ भन्दा बढी सहमति भइसकेका छन् ।
वर्तमान सरकारले पनि बन्चरेडाँडाको समस्याको दीर्घकालीन समाधानका लागि पहल सुरु गरेको छ । केही दिनअघि सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले उपत्यकाका विभिन्न पालिकाका प्रमुख, वातावरण विभागका अधिकारी, फोहोर व्यवस्थापनसँग जोडिएका सम्बन्धित निकायका प्रमुख, फोहोरमैला व्यवस्थापनविज्ञ तथा बन्चरेडाँडा फोहोरमैला व्यवस्थापन स्थलबाट प्रभावित स्थानीयवासीका प्रतिनिधिको सहभागितामा छलफल गर्नुभएको छ । मन्त्री तिमिल्सिनाले ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दाको समस्या र फोहोरमैला व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर छलफल सुरु गरेको बताउनुभएको छ ।
ललितपुर महानगरका प्रमुख तथा काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकाको फोहोर सो ठाउँमा अव्यवस्थित रूपमा थुपारेर बन्चरेडाँडा क्षेत्रका जनतामाथि अपराध नै गरिएको बताउँदै सो ठाउँका जनता र वातावरणमा असर नपुग्ने गरी वैज्ञानिक पद्धति अपनाएर फोहोर व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो । उपत्यकाका पालिकाहरूको संयन्त्र बनाएर बन्चरेडाँडा सञ्चालनको जिम्मेवारी दिनुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याउन नसक्दा चार वर्षमा बन्चरेडाँडा ल्यान्डफिल साइट ६० प्रतिशत पुरिएको छ । फोहोर व्यवस्थापनको अहिलेको अवस्थालाई सच्याइएन भने अबको दुई÷तीन वर्षमा नै ल्यान्डफिल साइट भरिन्छ । त्यसपछिको अवस्था झन् विकराल हुन सक्छ । यस विषयमा अविलम्ब ध्यान दिनु प-यो ।”
आफैँ व्यवस्थापन गरौँ
काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले समस्या समाधानका लागि उपत्यकाका सबै पालिकाले आआफ्नो फोहोर आफैँ व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । फोहोर व्यवस्थापनमा समस्या आयो कि काठमाडौँ महानगरपालिकाको जिम्मेवारी हो भन्ने बुझाइका कारण पनि हरेक वर्ष समस्या हुँदै आएको उहाँको भनाइ छ । बन्चरेडाँडामा राजधानीसहित उपत्यकासँग जोडिएका बनेपा, धुलिखेल, पनौतीलगायत २३ स्थानीय तहको फोहोर व्यवस्थापन हुने गर्छ तर समस्या आउँदा काठमाडौँ महानगर मात्र जिम्मेवार हुनुपर्ने भाष्यको अन्त्य नभएसम्म यो समस्या बल्झिरहने उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “यो समस्याको स्थायी समाधानका लागि पालिकाहरूले आआफ्नो फोहोर आफैँ व्यवस्थापन गर्नु प¥यो । बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर लैजाने काम बन्द गर्नु प¥यो । पालिकाहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन गर्नु प-यो । अहिलेसम्म बन्चरेडाँडा ल्यान्डफिल साइटमा उपत्यकाका सबै पालिकाले फोहोर फाल्ने तर गाली चाहिँ काठमाडौँ महानगरपालिकाले मात्र खाँदै आएको छ ।” संविधानमा फोहोर व्यवस्थापन गर्न एकल अधिकार स्थानीय तहलाई प्रदान गरिएको छ ।
बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले फोहोर र फोहोरबाट बग्ने पानी (लिच्चर) मा डुबेको काठमाडौँ उपत्यकालाई बन्चरेडाँडा क्षेत्रका बासिन्दाले फोहोर फाल्न दिई निकास दिए पनि काठमाडौँमा रहेका सरकार र त्यहाँका पालिकाले आफूहरूको समस्यालाई बेवास्ता गरेको आरोप लगाउनुभयो । सङ्घीय सरकार, तत्कालीन सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकासँग पटक पटक सहमति गरिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले भन्नुभयो, “अहिलेसम्म फोहोर बोक्ने गाडीबाट धेरै जनाको मृत्यु भएको छ । यहाँका १५ प्रतिशत घरमा क्यान्सरका बिरामी छन् ।”
विकल्प खोज्न आग्रह
अब कुनै पनि हालतमा बन्चरेडाँडामा फोहोर फाल्न नदिने बताउँदै ढुङ्गानाले काठमाडौँ उपत्यकाको फोहोर काठमाडौँमै व्यवस्थापन गर्न यहाँका पालिकासँग आग्रह गर्नुभयो । अब काठमाडौँको फोहोर बन्चरेडाँडामा व्यवस्थापन हुन नदिने एक मात्र ‘बटम लाइन’ भएको उहाँले स्पष्ट पार्नुभयो । भदौ १५ गतेपछि काठमाडौँको फोहोर बन्चरेडाँडामा विसर्जन गर्ने काम सधैँका लागि बन्द हुने गरी अभियान सुरु हुने उहाँले चेतावनीसमेत दिनुभयो ।
आधा फोहोर काठमाडौँकै
बन्चरेडाँडा जाने विभिन्न २१ वटा पालिकाको फोहोरमध्ये काठमाडौँ महानगरपालिकाको हिस्सा ४८.८ प्रतिशत, ललितपुर महानगरपालिकाको १० प्रतिशत र बुढानीलकण्ठ नगरपालिकाको पाँच प्रतिशत रहेको छ । बन्चरेडाँडा फोहोरमैला व्यवस्थापन स्थलको पूर्वाधार निर्माणमा अहिलेसम्म एक अर्ब चार करोड रुपियाँ खर्च भइसकेको र थप ५१ करोड ६३ लाख बराबरको ठेक्का चालु अवस्थामा छ । बन्चरेडाँडा ल्यान्डफिल साइटका कारण ५३९ हेक्टर क्षेत्रका ८७५ घरधुरी प्रत्यक्ष प्रभावित भएको र ल्यान्डफिल साइटको सीमाबाट तीन किलोमिटरसम्मको क्षेत्र अप्रत्यक्ष रूपमा प्रभावित छ ।


+ There are no comments
Add yours