अन्नपूर्ण आधार शिविरको पदमार्ग सुचारु, पर्यटकको आगमन बढ्दै

०९ भाद्र, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने पदमार्ग सुचारु भएको छ। वर्षाका कारण पदमार्ग तथा नारच्याङ–हुमखोला सडकखण्डमा झरेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याएसँगै हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्ग पुनः सञ्चालनमा आएको हो।

पदमार्ग खुलेसँगै ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविरतर्फ आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको छ। सवारीसाधनमार्फत यात्रा गर्ने नारच्याङ–हुमखोला सडकका विभिन्न स्थानमा पहिरो खसेका कारण केही समय सडक अवरुद्ध भएको थियो।

यस क्षेत्रमा सञ्चालित जलविद्युत् आयोजनाहरूले नारच्याङको बेँसी गाउँदेखि हुमखोलासम्म सडकमा झरेको पहिरो हटाएपछि सवारीसाधन सञ्चालनमा आएका छन्। सवारीसाधन सञ्चालनमा आएसँगै हुमखोलाबाट सुरु हुने मौरिस हर्जोग पदमार्गसमेत पुनः सञ्चालनमा आएको पदमार्गका अभियन्ता तथा स्थानीय पर्यटन व्यवसायी तेज गुरुङले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “आधार शिविरको पदयात्राका लागि बेँसी गाउँदेखि २१ किलोमिटर सवारीसाधनमार्फत यात्रा गरेर पदमार्गको प्रवेशविन्दु हुमखोला पुगिन्छ। वर्षात्का समयमा बाढी र पहिरोले सडकका विभिन्न स्थानमा क्षति पुर्‍याएको थियो। यहाँ सञ्चालित जलविद्युत् आयोजनाहरूको सहयोगमा पहिरो हटाएर सडक मर्मतसम्भार गरेसँगै पदमार्ग सुचारु भएको हो।”

पदमार्ग सञ्चालनमा आएसँगै पर्यटक आधार शिविर पुग्न थालेको उहाँले बताउनुभयो। भदौ महिना सुरु भएपछि आन्तरिक पर्यटक पदयात्राका लागि आउन थालेको उहाँको भनाइ छ। पर्यटक आउन थालेपछि बन्द भएका पदमार्गका विभिन्न स्थानमा रहेका होटल तथा रेस्टुरेन्टसमेत सञ्चालनमा आउन थालेका छन्।

पदमार्गमा पर्ने विभिन्न झरना वर्षात्का समयमा आकर्षक देखिने भएकाले यस अवधिमा पनि पदयात्री आउने गरेको अभियन्ता गुरुङले बताउनुभयो।

पर्यटकको सहजताका लागि हुमखोलादेखि आधार शिविरसम्म विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल, खाना र बस्ने सुविधासहितका होटल सञ्चालनमा ल्याइएको छ। सन्धीखर्क, भुस्केट मेला र पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ। हुमखोला, फुतफुते झरना, गुफाफाँट, भुस्केट र पञ्चकुण्डमा खानेपानी तथा शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ। गाउँपालिकाले पदमार्गको स्तरोन्नतिसमेत गरेको छ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटर सवारीसाधनमार्फत यात्रा गरी हुमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटर पैदलयात्रा गरेर आधार शिविर पुगिन्छ। पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविरमा रहेको पञ्चकुण्ड ताल तथा हिमालको प्राकृतिक सुन्दरताका कारण यो क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। असोजदेखि मङ्सिरसम्म यहाँ आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको छ।

अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ का दिन पहिलोपटक मानव पाइला परेको थियो। फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेसँगै हिमाल आरोहणको नयाँ युगको सुरुवात भएको मानिन्छ।

आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाका सालिक राखिएका छन् भने खुला सङ्ग्रहालयसमेत स्थापना गरिएको छ। पहिलो आरोही मौरिस हर्जोगको नामबाट पदमार्गको नामकरण गरिएको हो।

You May Also Like

More From Author

+ There are no comments

Add yours