अमेरिकाले इरानमाथि आर्थिक घेराबन्दी कडा बनायो, ६० संस्था र व्यक्तिमाथि प्रतिबन्ध

०९ भाद्र, वासिङ्टन। अमेरिकाले इरानमाथि सैन्य दबाबसँगै आर्थिक घेराबन्दी थप कडा बनाएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानको विश्वव्यापी वित्तीय सञ्जाल कमजोर पार्ने उद्देश्यले नयाँ प्रतिबन्ध घोषणा गरेका छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अघि सारेको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत करिब ६० इरानसम्बद्ध व्यक्ति, संस्था र पानीजहाजलाई प्रतिबन्धको दायरामा ल्याइएको छ। नयाँ कदमले तेल व्यापार, ढुवानी, प्रविधि, सुन, डिजिटल सम्पत्ति र हवाई क्षेत्रसँग जोडिएका सञ्जाललाई लक्षित गरेको छ।

बेसेन्टले इरानसँग आर्थिक कारोबार गर्ने तथा प्रतिबन्ध छल्न सहयोग गर्ने संस्थालाई अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट हटाइने चेतावनी दिएका छन्। अमेरिकाले इरानसँग व्यापार गर्ने अन्य मुलुकलाई समेत तेहरानसँगको आर्थिक सम्बन्ध पुनर्विचार गर्न दबाब दिएको छ।

अमेरिकाको पछिल्लो कदमले इरानको तेल आम्दानी र अन्तर्राष्ट्रिय वित्तीय कारोबारमा थप दबाब पर्ने देखिएको छ। इरानी मुद्रा रियाल सोमबार अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै न्यून तहमा पुगेको रिपोर्टहरूमा उल्लेख छ। मुद्रास्फीति र आर्थिक गतिविधिमा आएको गिरावटले इरानको अर्थतन्त्रमा दबाब बढाएको छ।

तर तेहरानले अमेरिकी कदमको प्रतिरोध गर्ने जनाएको छ। इरानी अर्थमन्त्री अली मदानिजादेहले नयाँ प्रतिबन्धको सामना गर्न इरान तयार रहेको बताएका छन्। चीन र रुसले पनि अमेरिकी नयाँ प्रतिबन्धको आलोचना गर्दै यसले क्षेत्रीय तनाव थप बढाउन सक्ने चेतावनी दिएका छन्।

यसैबीच, हर्मुज जलसन्धिलाई लिएर तनाव थप बढेको छ। विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमा इरानले आवागमन नियन्त्रण गरिरहेको अवस्थामा अमेरिका आर्थिक दबाब बढाउने र इरानले त्यसको प्रतिरोध गर्ने रणनीतिमा देखिएका छन्। यसले विश्वव्यापी तेल आपूर्ति र व्यापारमा थप अनिश्चितता सिर्जना गरेको छ।

यद्यपि पाकिस्तान र ओमानले अमेरिका–इरान तनाव कम गर्न कूटनीतिक पहल जारी राखेका छन्। पाकिस्तानका सेना प्रमुखको तेहरान भ्रमण तथा ओमान र इरानबीच हर्मुजमा व्यावसायिक जहाजको आवागमन सहज बनाउने विषयमा वार्ता भइरहेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours