जुकरबर्गको मेटाविरुद्ध अमेरिकाका ३० राज्यद्वारा मुद्दा दायर

०३ भाद्र, काठमाडौँ। पछिल्ला केही वर्षमा मेटाले अदालतमा लगातार चुनौतीको सामना गर्दै आएको छ। विभिन्न अदालतले मेटाका सामाजिक सञ्जाल प्लेटफर्मले युवा प्रयोगकर्तालाई हानि पुर्‍याएको ठहर गरेका छन्।

अब मंगलबारदेखि सुरु हुने एउटा ज्युरी ट्रायल मेटाका लागि अहिलेसम्मकै ठूलो कानुनी चुनौती बन्न सक्ने देखिएको छ। सन् २०२३ मा क्यालिफोर्निया र न्युयोर्कसहित अमेरिकाका ३० राज्यले मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। यही मुद्दासँग सम्बन्धित सुनुवाइ मंगलबारदेखि सुरु हुँदैछ।

ती राज्यहरूले मेटाले बालबालिकासम्बन्धी संघीय तथा राज्यका कानुन उल्लंघन गर्नुका साथै उनीहरूको गोपनीयतालाई जोखिममा पारेको आरोप लगाएका छन्।

राज्यहरूले मेटासँग १ ट्रिलियन डलरभन्दा बढी क्षतिपूर्ति माग गरेका छन्। साथै फेसबुक र इन्स्टाग्राममा विभिन्न परिवर्तन गर्नुपर्ने माग पनि गरेका छन्। यसमा ‘लाइक’को संख्या हटाउने र प्रयोगकर्तालाई लगातार स्क्रोल गरिरहने व्यवस्था अन्त्य गर्नेलगायतका विषय छन्।

यदि मेटा यो ठूलो मुद्दामा पराजित भयो भने युवाहरूको सामाजिक सञ्जाल प्रयोग गर्ने अनुभव नै व्यापक रूपमा परिवर्तन हुन सक्छ। मुद्दा दायर गर्ने राज्यहरूले फेसबुक र इन्स्टाग्रामलाई कम उमेरका प्रयोगकर्ता तथा बालबालिकाका लागि सुरक्षित बनाउन सञ्चालन प्रणालीमै परिवर्तन गर्नुपर्ने माग गरेका छन्।

राज्यहरूले किशोर प्रयोगकर्ताका अभिभावकको प्रमाणीकरण गर्ने व्यवस्था लागू गर्नुपर्ने, प्रयोगकर्तालाई लगातार घण्टौँसम्म स्क्रोल गरिरहन नदिने गरी एल्गोरिदम परिवर्तन गर्नुपर्ने, व्यक्तिको रूप परिवर्तन गर्ने केही इमेज फिल्टर हटाउनुपर्ने, भिडियो सामग्रीको ‘अटोप्ले’ सुविधा हटाउनुपर्ने, एउटाभन्दा बढी अकाउन्ट बनाउन रोक लगाउनुपर्ने, इन्स्टाग्राम स्टोरीजजस्ता हराउने वा अस्थायी पोस्टको सुविधा बन्द गर्नुपर्ने माग गरेका छन् ।

यी सबै सुविधा मेटाका सामाजिक सञ्जाल प्लेटफर्मका महत्वपूर्ण हिस्सा हुन्। राज्यहरूको आरोप छ कि यस्ता सुविधा बालबालिका, किशोर तथा अन्य प्रयोगकर्तालाई सकेसम्म लामो समय प्लेटफर्ममा राख्ने गरी डिजाइन गरिएको छ।

राज्यहरूले मेटाका एपहरूले नोटिफिकेसनलगायतका माध्यमबाट युवालाई पटक–पटक प्लेटफर्ममा फर्कन बाध्य बनाउने गरेको दाबी गरेका छन्। उनीहरूको आरोपमा मेटाले बालबालिकालाई लक्षित गर्दै युवाको शोषण गरेको र उनीहरूलाई आफ्ना प्लेटफर्ममा जोडेर प्रयोगकर्ता संख्या तथा व्यवसाय विस्तार गरेको उल्लेख छ। हाल सेयर बजारमा मेटाको मूल्य करिब १.५ ट्रिलियन डलर रहेको बताइएको छ।

मेटाले भने यी आरोपहरू निरन्तर अस्वीकार गर्दै आएको छ। कम्पनीका एक प्रवक्ताले विज्ञप्तिमार्फत भनेका छन्, ‘हामी यी आरोपसँग पूर्ण रूपमा असहमत छौँ र युवालाई सहयोग गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धता प्रमाणहरूले देखाउनेमा विश्वस्त छौँ।’

राज्यहरूले आफ्ना दाबी क्यालिफोर्नियाकी मुख्य संघीय न्यायाधीश यभोन गोन्जालेज रोजर्ससमक्ष प्रस्तुत गर्नेछन्। उनी एलन मस्क र साम अल्टम्यानबीचको चर्चित मुद्दाको पनि न्यायाधीश थिइन्।

यसैबीच, मेटाविरुद्ध हालै न्यु मेक्सिकोमा भएको एउटा फैसलाले कम्पनीमाथि करिब ९४ करोड २० लाख डलर जरिवाना गरेको थियो। साथै, ३० राज्यले माग गरेजस्तै सामाजिक सञ्जाल प्लेटफर्ममा केही परिवर्तन गर्न आदेश दिइएको थियो।

न्यायाधीश ब्रायन बिडसाइडले इन्स्टाग्राम र फेसबुकमा १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताका लागि ‘लाइक’ संख्या हटाउन, किशोरले प्लेटफर्ममार्फत नग्न सामग्री पठाउन रोक लगाउन तथा निश्चित समयबाहेक एपका पुश नोटिफिकेसन सीमित गर्न आदेश दिएका थिए।

उनले मेटालाई ‘सार्वजनिक उपद्रव’ का रूपमा समेत व्याख्या गरेका थिए। उनले सामाजिक सञ्जाल प्लेटफर्मको प्रभावलाई मानिसलाई गम्भीर असर पार्ने गरी हावा प्रदूषण गर्ने कारखानासँग तुलना गरेका थिए। मेटाले उक्त फैसलाविरुद्ध अपिल गर्ने जनाएको छ।

न्यु मेक्सिकोमा मात्र लागू हुने उक्त आदेशभन्दा फरक, यदि ३० राज्यले आफ्नो छुट्टै मुद्दामा मेटाविरुद्ध जित हासिल गरे भने कम्पनीले सम्भवतः अमेरिकाभर आफ्ना प्लेटफर्ममा परिवर्तन गर्नुपर्नेछ। यस मुद्दामा संलग्न ३० राज्यले अमेरिकाको करिब दुईतिहाइ जनसंख्याको प्रतिनिधित्व गर्छन्।

यदि मेटाले माग गरिएका परिवर्तन लागू गर्नुपर्‍यो भने प्रयोगकर्ताले फेसबुक र इन्स्टाग्राम प्रयोग गर्ने तरिकामै ठूलो परिवर्तन आउन सक्छ। ‘लाइक’ संख्या फेसबुकको सुरुवाती समयदेखि नै यसको महत्वपूर्ण हिस्सा रहँदै आएको छ। अहिले सामाजिक सञ्जालमा लाइक अनलाइन पोस्ट, फोटो र भिडियोप्रतिको प्रतिक्रिया जनाउने प्रमुख माध्यम बनेको छ।

तर पछिल्लो समय विशेषगरी युवामा ‘लाइक’ले नकारात्मक भावना बढाउन सक्ने विषयमा चिन्ता बढेको छ। यस वर्षको सुरुवातमा क्याली नामकी एक युवा प्रयोगकर्ताले मेटाविरुद्धको मुद्दामा सफलता हासिल गरेकी थिइन्। अदालतमा बयान दिँदै उनले युट्युब र इन्स्टाग्राममा दर्जनौँ अकाउन्ट बनाएको बताएकी थिइन्।

आफ्ना पोस्टमा धेरै लाइक पाउन र अन्य प्रयोगकर्तासँग जोडिन उनले विभिन्न अकाउन्ट प्रयोग गर्ने गरेको बताएकी थिइन्। यसबाट आफूलाई सन्तुष्टि र आत्मसम्मानको अनुभूति हुने उनको भनाइ थियो। त्यतिबेला उनी केवल ९ वर्षकी थिइन्। उनले आफू डिप्रेसनसँग जुधिरहेको समय पनि सम्झिएको बताएकी छन्।

पछिल्ला वर्षहरूमा भएका विभिन्न अध्ययनले ‘लाइक’ संख्याजस्ता सामाजिक सञ्जालका संलग्नता मापन गर्ने सूचकले किशोरमा अस्वीकृतिको भावना र डिप्रेसन बढाउन सक्ने देखाएका छन्। ३० राज्यले मेटाविरुद्ध दायर गरेको मुद्दामा कम्पनीले आफूले २० लाखभन्दा बढी दस्तावेज उपलब्ध गराएको बताएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours