२५ असार, काठमाडाैँ फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदैछन् । क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो क्वाटरफाइनलमा आज राति पौने २ बजे फ्रान्स र मोरक्को खेल्नेछन् ।
यी दुई टोली चार वर्षअघि कतारमा सेमिफाइनलमा खेलेका थिए । त्यस खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको थियो । सो विश्वकपमा फ्रान्सले मोरक्कोको ऐतिहासिक यात्रा अन्तिम चारमा समाप्त पारेको थियो ।
Advertisement
त्यसैले मोरक्को बदला लिने दाउमा पनि रहने छ । यता यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सेली टोली अर्जेन्टिना र स्पेनलाई पछि पार्दै फिफा वरीयताको शीर्ष स्थानमा उक्लिएको छ । यता, अन्तिम १६ को खेलमा ब्राजिल नर्वेसँग २–१ ले पराजित भएपछि मोरक्कोले पाँचौँ स्थानको ब्राजिलसँगको अङ्क दुरी निकै कम गरेको छ ।
फिफा वरीयताको छैटौँ स्थानमा उक्लिएको मोरक्को बोस्टन रङ्गशालामा फ्रान्सविरुद्ध अर्को एउटा ऐतिहासिक नतिजा निकाल्ने दाउमा छ । फ्रान्सले समूह खेलमा प्रभुत्व जमाएको छ । तर मोरक्कोलाई पनि यस विश्वकपमा हेभिवेट टिमका रूपमा लिइन्छ । मोरक्को यसपालि उपाधि जित्ने लक्ष्यसहित नै विश्वकपमा आएको हो ।
पछिल्लो संस्करणमा सेमिफाइनल खेलेको मोरक्को सानदार लयमा रहेको छ । पहिलो खेलमै ब्राजिललाई दबाबमा राखेर बराबरीमा खेलेको मोरक्को अन्तिम ३२ मा नेदरल्यान्ड्सलाई टाइब्रेकर र त्यसपछि सहआयोजक क्यानाडाको चुनौती ३–० ले समाप्त पारेर अन्तिम आठमा पुगेको हो ।
त्यसैले फ्रान्सलाई मोरक्कोविरुद्धको खेल सहज भने हुने छैन । मोहम्मद ओहेबीको प्रशिक्षकत्वमा रहेको मोरक्कोले यस प्रतियोगितामा दबाब सहने मात्र होइन बल धेरै जसो आफ्नो खुट्टामा राख्ने तथा गति र सटिकताका साथ विपक्षीको डिफेन्स छिन्नभिन्न पार्न सक्ने क्षमता देखाएको छ ।
यता समूह चरणमा १० गोल गरेपछि फ्रान्सले अन्तिम ३२ मा स्विडेनलाई पनि ३–० ले हराएको थियो । त्यसपछि अन्तिम १६ मा पाराग्वेविरुद्धको सङ्घर्षपूर्ण १–० को जित प्राप्त ग¥यो । सो खेलमा केलियन एम्बापेले आफ्नो १९ औँ विश्वकप गोल गरे । एम्बापेसंगै ओसमान डेम्बेले, माइकल ओलिस र ब्राडली बार्कोलाका रूपमा फ्रान्ससँग यस विश्वकपको सबभन्दा खतरनाक अग्रपङ्क्ति रहेको छ ।
२७ वर्षीय एम्बापे मोरक्कोविरुद्धको खेलमा गोल गरेर गोल्डेन बुटको दाबेदारीलाई बलियो बनाउने प्रयासमा छन् । सात गोल गरेका एम्बापे सर्वाधिक गोलकर्ता लियोनेल मेसीभन्दा एक गोलले मात्र पछाडि छन् । एम्बापेले विश्वकपको सर्वकालीन सर्वाधिक गोलकर्ता मेसीको २१ गोललाई पनि पछ्याउँदै छन् ।
फ्रान्सका लागि डेम्बेलेले पनि चार गोल र दुई असिस्ट गरका छन् । उनले नर्वेविरुद्ध ह्याट्रिक गरे । यता फिफा वरीयतामा छैटौँ स्थानमा रहेको मोरक्कोको टिममा पेरिस सेन्ट जर्मनलाई दुई पटक च्याम्पियन्स लिग जिताउने असरफ हकिमीसँगै रियल म्याड्रिडका मिडफिल्डर ब्राहिम दियाज, रियल म्याड्रिडका गोलरक्षक यासिन बोनोउ, म्यानचेस्टर युनाइटेडका डिफेन्डर नोसर माजरावोई र युसुफ एन नेस्री जस्ता विश्वस्तरीय खेलाडी पनि छन् ।
क्वाटरफाइनलमा मोरक्कोको टिम प्रमुख स्ट्राइकर इस्माल साइबारीले खेल्ने सम्भावना निकै कम छ । नेदरल्यान्ड्सलाई हराउँदा नायक बनेका साइबारी फिट छैनन । फ्रान्स पनि घाइते मिडफिल्डर अउरिलिन चोउमेनी बिना नै मैदानमा उत्रने देखिन्छ । अहिलेसम्म यी दुई टिमबिच पाँच पटक भिडन्त भएका छन् ।
जसमध्ये फ्रान्सले तीन खेल जितेको छ भने दुई खेल बराबरीमा सकिएका थिए । क्वाटरफाइनलको यो पहिलो खेलपछि दोस्रोमा पर्सि राति पौने १ बजे स्पेन र बेल्जियम खेल्नेछन् । सन् २०१० को विजेता स्पेनले अर्को युरोपियन टोली बेल्जियमसँग दोस्रो क्वाटरफाइनल खेल खेल्न लागेको हो ।
स्पेन १६ वर्षपछि र बेल्जियम ८ वर्षपछि विश्वकपको क्वाटरफाइनल पुगेका हुन् । सन् २०१० मा दक्षिण अफ्रिकामा पहिलो पटक विश्वकप उपाधि जितेको स्पेन त्यसयता पहिलो पटक क्वाटरफाइनल खेल्दैछ । बेल्जियम भने सन् २०१८ मा चौथो भएको थियो र २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।
तेस्रो क्वाटरफाइनलमा पहिलो पटक विश्वकपमा आमनेसामने हुन लागेका नर्वे र इङ्ग्ल्यान्डबीच शनिबार राति पौने ३ बजे खेल हुनेछ । पहिलो पटक क्वाटरफाइनलमा स्थान बनाएको नर्वेले तेस्रो क्वाटरफाइनलमा सन् १९६६ को विश्वकप विजेता इङ्ग्ल्यान्डको सामना गर्नेछ ।
२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले ब्राजिललाई हराएर क्वाटरफाइनलमा स्थान बनाएको हो । सन् १९६६ को विजेता इङ्ग्ल्यान्डले भने त्यसयता फाइनलसमेत पुग्न सकेको छैन । अन्तिम क्वाटरफाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्डबीच आउँदो आइतबार बिहान पौने ७ बजे खेल हुनेछ ।
साबिक विजेता अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग अन्तिम क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्न लागेको हो । १९औँ पटक विश्वकप खेलिरहेको अर्जेन्टिनाले ६ पटक फाइनल खेल्दा ३ पटक विश्वकप उपाधि जितेको छ । स्विट्जरल्यान्ड सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।


+ There are no comments
Add yours