२१ असार, काठमाडौँ । नेपाली हलहरू यतिबेला नेपाली फिल्मविहीन बनेका छन् । यसको फाइदा प्रत्यक्ष रूपमा विदेशी फिल्महरूले उठाइरहेका छन् । गत १९ गते शुक्रबार कुनै पनि नयाँ नेपाली चलचित्र प्रदर्शनमा नआउनु र त्यसअघि प्रदर्शनमा आएका चलचित्रहरूले बक्स अफिसमा सोचेजस्तो व्यापार गर्न नसक्नु नै यसको मुख्य कारण मानिएको छ ।
विशेषगरी गत असार १२ गते प्रदर्शनमा आएको नेपाली फिल्म ‘जाँड’ले व्यावसायिक रूपमा कमजोर प्रदर्शन गर्यो । सोही कारण हल सञ्चालकहरूले नेपाली फिल्मलाई ओरालेर विदेशी फिल्मलाई बढी सो दिनुपर्ने अवस्था सिर्जना भयो । हाल देशका प्रमुख मल्टिप्लेक्स चेनहरू विदेशी चलचित्रले भरिभराउ बनेका छन् ।
नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका विभिन्न शाखाहरूमा यतिबेला ९ वटा चलचित्रहरू प्रदर्शन भइरहेका छन्, जुन सबै विदेशी हुन् । क्युएफएक्समा हाल प्रदर्शनरत फिल्महरूमा ‘नागबन्धन’, ‘मिनियन्स एन्ड मन्स्टर्स’, ‘वेलकम टु द जंगल’, ‘ककटेल २’, ‘कोलोनी’, ‘टोय स्टोरी ५’, ‘अब्सेसन’, ‘अल्फा’ र ‘बेबी डु डाइ डु’ रहेका छन् । नेपाली फिल्मको अनुपस्थितिका कारण यी विदेशी चलचित्रहरूले हलमा राम्रो स्थान र शोहरू पाएका छन् ।
क्युएफएक्स मात्र नभई राजधानीका अन्य चल्तीका मल्टिप्लेक्सहरू जस्तै बिग मुभिज, वान सिनेमाज र आइएनआई सिनेमाजमा पनि विदेशी चलचित्रकै वर्चस्व देखिएको छ । बिग मुभिज र वान सिनेमाजमा ‘नागबन्धन’, ‘मिनियन्स एन्ड मन्स्टर्स’, ‘वेलकम टु द जंगल’, ‘ककटेल २’, ‘अब्सेसन’ र ‘बेबी डु डाइ डु’ गरी ६ वटा विदेशी चलचित्रहरू प्रदर्शनमा छन् । त्यस्तै, आइएनआई सिनेमाजमा पनि यिनै चलचित्रहरू दर्शकको रोजाइअनुसार प्रदर्शन भइरहेका छन् ।
नेपाली हलहरूमा आफ्नै फिल्मको खडेरी हुनु र विदेशी फिल्म मात्रै देखिनुका पछाडि मुख्य दुई वटा कारण रहेको चलचित्र संघका सदस्य तथा वितरक समितिका सभापति करण श्रेष्ठ ‘क्रेजी’ बताउँछन् । ‘पहिलो कारण गत शुक्रबार प्रदर्शनका लागि कुनै पनि नयाँ नेपाली फिल्म तयार नहुनु हो,’ करणले भने, ‘अघिल्लो साता प्रदर्शनमा आएका ‘जाँड’ र त्यसअघिको चलचित्र ‘आइएम जितबहादुर’ले व्यावसायिक रूपमा सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । दर्शकको न्यून उपस्थितिका कारण हल सञ्चालकहरूले ती फिल्महरूलाई पर्दाबाट हटाउनुपर्ने परिस्थिति बन्यो ।’
नेपाली चलचित्र उद्योगमा असार महिनामा फिल्म चल्दैन भन्ने परम्परागत मान्यता रहेको कारण पनि फिल्म अभाव देखिएको उनको भनाइ छ । ‘असारमा फिल्म चल्दैन भन्ने हुँदाहुँदै कस्ले फिल्म लगाउँछ’ करणले थपे ‘हलले त व्यावसायिक पाटो नै हेर्ने हो । दर्शक नभएको नेपाली फिल्म हटाएर उनीहरूले विदेशी फिल्महरू मात्र प्रदर्शनमा ल्याए ।’
अर्काे साता ‘भागदौड’
यो साता हलमा नेपाली फिल्म अभाव भएर हिन्दी फिल्म मात्र देखिए पनि अर्काे साता भने एक नेपाली फिल्म ‘भागदौड’ प्रदर्शनमा आउनेछ । निर्माण युनिटले हालै असार २६ लाई ‘भागदौड’को प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
वैदेशिक रोजगारी, फाइनान्स तथा सहकारी ठगी र मानिसहरूको जीवनमा आइपर्ने विभिन्न उतारचढाव कथा बनाएको फिल्म हिमाल उप्रेतीले निर्देशन गरेका हुन् । प्रेम, बदला र भागदौडको रोचक सम्मिश्रण फिल्ममा देख्न सकिने निर्देशक उप्रेतीले बताए ।
फिल्ममा निशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (डायना), विशाल पोखरेल, शिशिर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन र सुवास तिमिल्सिनालगायत कलाकारहरूको मुख्य भूमिका छ । विश्वराम विष्टको प्रस्तुतकर्ता रहेको फिल्ममा अंगिरा थापा कार्यकारी निर्माता रहेका छन् भने सह–निर्माताहरू भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी हुन् ।
सुप्रिम म्युजिक एन्ड फिल्मस प्रालि र नेसनल सिने ग्रुप नेपालको प्रस्तुतिमा निर्माण भएको यो फिल्मले काठमाडौँको ऐतिहासिक एवं परम्परागत नेवार बस्ती बुङ्गमती र बागमती नदी किनारको आसपासका कथा पनि देखाउने प्रस्तुतकर्ता विश्वराम विष्टको भनाइ छ ।
फिल्ममा दीपक बज्राचार्यको छायाङ्कन, प्रवीण ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको सङ्गीत छ ।


+ There are no comments
Add yours