दही-चिउरा खाने मौलिक परम्परा
१५ असार, काठमाडौँ । देशभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइएको छ। कृषिप्रधान मुलुक नेपालमा धानको आर्थिक, सामाजिक र सांस्कृतिक महत्त्वलाई आत्मसात् गर्दै सरकारले असार १५ लाई औपचारिक रूपमा धान दिवसका रूपमा मनाउन सुरु गरेसँगै वर्षेनी यो महोत्सव मनाउने गरिएको हो।

कृषि तथा पशुपङ्क्षी विकास मन्त्रालयसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाइँ र दिवस केन्द्रित विविध कार्यक्रमहरू आयोजना गरेका छन्। ‘मानो रोपेर मुरी फलाउने’ यो महत्त्वपूर्ण समयमा किसानहरू दिनभर खेतको हिलोमा व्यस्त हुने र शक्ति एवं ऊर्जाका लागि दही–चिउरा खाने मौलिक परम्परा नेपाली समाजमा रहिआएको छ। सोही कारण आजको दिनलाई ‘दही-चिउरा खाने दिन’ का रूपमा समेत विशेष महत्त्वका साथ लिइन्छ।

असार महिनालाई नेपाली कृषकहरूले वर्षभरिका लागि खाद्यान्न जोहो गर्ने मुख्य समयका रूपमा लिने गर्दछन्। नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा धानको योगदान उल्लेखनीय र प्रमुख रहेको छ। मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउन र खाद्य सुरक्षाको सुनिश्चितताका दृष्टिले धानको उत्पादन र उत्पादकत्व वृद्धि गर्नु अहिलेको राष्ट्रिय आवश्यकता बनेको छ। आजका दिन देशैभरका किसान, युवा र सर्वसाधारण खेतमा ओर्लिएर हिलो खेल्दै, परम्परागत असारे गीत गाउँदै र धान रोप्दै यो उत्सवलाई निकै रमाइलो गरी मनाएका छन् ।



+ There are no comments
Add yours