३१ जेठ, काठमाडौँ।
दूधले नुहाएर स्फटिकझै सफा भइ,
सुनपानी छर्किएर चोखिएकाहरू,
भिन्नै लोकबाट अकस्मात् पदार्पण भएझैँ
औँला ठड्याएर अरूलाई दोष लगाउँदै,
आफैँ फिरादी र आफैँ फैसला गर्नेहरू –
ऐनाअगाडि उभिएर आफ्नै अनुहार राम्ररी हेर त!
खरानीले छोपिएको कालो दाग, खैरो मात्रै देखिएको हो ।
आफ्नो आत्मालाई सोधी हेर त!
हिजोका आफ्नै अनगिन्ती कर्तुतहरू।
नयाँ ठाउँमा बसाइँ सर्दैमा,
नयाँ स्वरमा म्याउँ गर्दैमा
केही समय त ढाकछोप होला।
त्यही पुरानो शरीर लिएर नयाँ लुगा फेर्दैमा
पुनर्जन्म हुन्छ र ?
पुरानै मैदानमा जर्सी मात्र फेरेको खेलाडीले
गोलको वर्षा गर्छ र?
कुडाकर्कटलाई गुलाबको र्यापरमा बेरेर
सुगन्धित जुही र चमेलीको वास्नाको नाटक किन?
बेरेको खोल खोलेपछि त सबैलाई थाहा हुन्छ:
सम्बत फेरिन्छ, वर्षाले दलेको खरानी पखालिन्छ,
हिजोको कट्कटिएको फोहोर देखिन्छ।
आफू अब्बल भएको देखाउनु, नाटक गर्नु हो र?
विगतको कालो अध्याय च्यात्नु हो, पछुताउनु हो,
आफूले गरेका गल्तीको सजाय भोग्नु पनि हो।
तर तिमी आफैँलाई पुरस्कृत पो ! गर्दैछौ।
आफ्नो एल्बमका फोटोहरू पल्टाऊ,
शरीरको एक्स-रे गर।
त्यहाँ राम्ररी हेर – आफू को हौ?
अनि मात्र फैसला गर:
आखिर दोषी को हो? तिमी पनि हौ कि अरू मात्रै? #flowers @highlight ।


+ There are no comments
Add yours