३० चैत, काठमाडौँ । वर्तमान प्रविधिको बजारमा ‘अडियो नोस्टाल्जिया’ अर्थात् पुरानो अडियो प्रविधिको मोह निकै चर्चामा छ । तार भएका इयरबड्सबाट सुरु भइरहेको यो यात्रा क्रमशः कुनै समय संगीतको संसारमा तहल्का मच्चाएको ‘एमपीथ्री’ प्लेयर ‘आईपड’तर्फ अगाडि बढिरहेको छ ।
सन् २०२२ मा एप्पलले आधिकारिक रूपमा यसको उत्पादन बन्द गरे पनि आईपड अहिले अनौपचारिक रूपमा सान्दर्भिक बन्दै गएको देखिन्छ । मानिसले आफ्नो स्मार्टफोन र त्यसमा हुने झन्झटिला एपबाट छुटकारा पाउनका लागि आईपडलाई पुन: अङ्गाल्न थालेका छन् ।
पछिल्लो समय आईपडको माग कति बढेको छ भन्ने कुरा सेकेन्ड ह्यान्ड मार्केटको तथ्याङ्कले स्पष्ट पार्छ । ‘इबे’ जस्ता सेकेन्ड ह्यान्ड सामान बिक्री हुने साइटमा पुराना आईपडका लिस्टिङको बाढी नै आएको छ ।
रिफर्बिस्ड (मर्मत गरिएका) इलेक्ट्रोनिक्स सामान बेच्ने संस्था ‘ब्याक मार्केट’ का अनुसार सन् २०२४ को सुरुवातादेखि हालसम्म प्रयोग गरिएका आईपडको बिक्रीमा ४८ प्रतिशतले वृद्धि भएको छ । यो तथ्याङ्कले आईपडको लोकप्रियता सम्झनामा मात्र नभई व्यवहारमै फर्किएको देखाउँछ ।

बजारमा अहिले ‘डिजिटल अडियो प्लेयर’ को एउटा नयाँ अनि छुट्टै वर्ग नै तयार भएको छ । यद्यपि नयाँ ग्याजेट विभिन्न आकार र प्रकारमा उपलब्ध छन् । तर ती सबैमा आईपडकै प्रभाव देखिन्छ । कतिपय प्लेयर पुराना क्यासेट प्लेयर जस्ता छन् भने कतिपय साना र पोर्टेबल छन् । एप्पलको जस्तो ‘क्लिक ह्विल’ नभए पनि यी डिभाइसले आईपडले लोकप्रिय बनाएको ‘म्युजिक प्लेयर’ को अवधारणालाई जीवित राखेका छन् जसमा संगीत बाहेक अरू कुनै कुराको अवरोध हुँदैन ।
आईपडको यो क्रेज केवल डिभाइसमा मात्र सीमित छैन । यसले नयाँ सिर्जनालाई पनि प्रेरित गरिरहेको देखिन्छ । केही डेभलपरले स्मार्टफोनमै आईपडको अनुभव दिने प्रविधि बनाउँदैछन् भने कतिपयले एप्पलको आधुनिक ‘एयरपड्स म्याक्स’ लाई तारको माध्यमबाट पुरानो आईपडसँग जोडेर प्रयोग गरिरहेका छन् ।
एप्पलका दुई पूर्व कर्मचारीले ल्याउन लागेको नयाँ ‘एआई’ ग्याजेट पनि ‘आईपड सफलर’ को डिजाइनबाट प्रभावित रहेको बताइएको छ । धेरै मानिसले त व्यक्तिगत प्रयोग वा पुन: बिक्रीका लागि पुराना आईपडलाई मर्मत गर्ने कामलाई व्यावसायिक रूपमै अगाडि बढाएका छन् । यी सबैको मुख्य उद्देश्य फोनमा आउने तनावपूर्ण ईमेल र नोटिफिकेसनबाट मुक्त भई संगीत सुन्नु हो ।
यो पुनरागमनमा युवा पुस्ता अर्थात् ‘जेन-जी’को भूमिका महत्त्वपूर्ण देखिएको छ । उनीहरूले सन् २००० को सुरुवाती दशकको फेसन र प्रविधिलाई आधुनिक फेसनको रूपमा अपनाइरहेका छन् । प्रविधि विश्लेषक अन्शेल स्यागका अनुसार तार भएका इयरबड्सको बढ्दो रुचिले पनि आईपडलाई सान्दर्भिक बनाएको हो । तार भएका इयरफोन सस्तो हुनुका साथै औसत वायरलेस इयरबड्सको तुलनामा हाई क्वालिटीको साउन्ड प्रदान गर्ने क्षमता राख्छन् । यसका साथै विनाइल र सीडी जस्ता पुराना माध्यमको बढ्दो लोकप्रियताले मानिसमा संगीतको ‘स्वामित्व’ राख्ने चाहना पुन: जगाएको छ ।
संगीत प्रेमी पछिल्लो समय ‘स्ट्रिमिङ’ सेवाको बढ्दो शुल्क र जटिलताबाट पनि आजित भएका छन् । स्पोटिफाई जस्ता प्लेटफर्मले लगातार शुल्क वृद्धि गरिरहेका छन् । २०२६ को जनवरीमा स्पटिफाईले सब्क्रिप्सन चार्ज बढाएर मासिक १२.९९ डलर पुर्याएको थियो । सन् २०२३ मा यसको सब्क्रिप्सन चार्ज ९.९९ डलरबाट बढेर १०.९९ डलर पुगेको थियो भने २०२४ मा फेरि बढेर ११.९९ डलर पुगेको थियो । एप्पल म्युजिक प्रति महिना ११ डलरको साथमा केही सस्तो छ, तर यो पनि धेरै सस्तो भने होइन ।
यो मूल्य वृद्धि क्रमिक रूपमा भए पनि अन्य स्ट्रिमिङ सेवाको भारसँगै थपिँदा यसको बोझ प्रयोगकर्ताले अहिले महसुस गरिरहेका छन् । अनि यो बोझबाट कसरी मुक्ति पाउन सब्क्रिप्सन नै रद्द गर्ने ट्रेन्ड चलाएका छन् ।
“मलाई लाग्छ मानिसले संगीत, टिभी वा चलचित्र जस्ता आफ्ना सबै स्ट्रिमिङ सेवाको मूल्याङ्कन गरिरहेका छन्… किनभने यसको मूल्य ह्वात्तै बढेको छ,” स्यागले गिजमोडोलाई भने, “हरेक पटक कुनै सेवाको मूल्य बढ्दा उनीहरू आफूले पैसा तिरिरहेका सबै स्ट्रिमिङ सेवाप्रति अति सचेत हुन्छन् । यसैमा संगीत पनि पर्छ ।”
स्यागका अनुसार कलाकारले कसरी पैसा कमाउँछन् र स्ट्रिमिङ सेवाबाट उनीहरूले कति हिस्सा पाउँछन् भन्ने कुरामा पनि जेन-जी बढी सचेत छन् । “उनीहरू वास्तवमा स्ट्रिमिङ सेवाका लागि पैसा तिर्न चाहँदैनन् होला किनभने कलाकारले पाउनुपर्ने उचित हिस्सा पाइरहेका छैनन् भन्ने उनीहरूलाई लाग्छ । त्यसको सट्टा उनीहरू सिधै कलाकारबाट संगीत किन्न र त्यसलाई आफ्नो आईपड वा आफूले रोजेको अन्य म्युजिक प्लेयरमा राख्न रुचाउँछन्,” उनी भन्छन् ।
फर्च्युन म्यागजिनले चर्चा गरेझैँ आईपड जस्ता पुराना सम्झना दिलाउने डिभाइसको सन्दर्भमा मोबाइल फोनप्रतिको बढ्दो वितृष्णाको असरलाई नकार्न सकिँदैन । अहिले फोन-मुक्त अनुभवको एउटा छुट्टै चाहना छ । र, आईपडले त्यो चाहना केही हदसम्म पूरा गर्ने प्रयास गरिरहेको छ । स्यागका अनुसार आईपड, सिडी वा विनाइल जस्ता डिभाइसमा एक किसिमको स्वतन्त्रता हुन्छ । यसले विशेषगरी ती जेन-जी पुस्तालाई आकर्षित गरिरहेको छ ।
“अहिले यस्तो चिजको माग छ जुन स्ट्रिमिङ कनेक्सनसँग जोडिएको छैन, जुन तपाईं जहाँ भए पनि सधैँ राम्रो सुनिन्छ । र आफ्नो अनुभवमा आफ्नै नियन्त्रण हुन्छ,” स्याग भन्छन्, “त्यसैले मलाई लाग्छ आईपड जस्ता चीजको अहिले केही हदसम्म पुनरागमन भइरहेको छ ।”
अहिलेको अवस्थामा आईपडको मोहलाई स्यागले ‘एउटा उत्तम संयोग’ मानेका छन् । आईपडले किन पुनर्जन्म पाइरहेको छ भन्ने कुराको कुनै एउटा मात्र कारण फेला पार्न मुस्किल छ । के हामीले यसलाई साच्चै बिर्सिएका थियौँ त ? यो प्रश्नमा तर्क-वितर्क हुन सक्छ । तर वर्तमान समयमा यसको आकर्षण फेरि एकपटक चुलिएको छ ।
हुन त अबका दिनमा फक्सकन जस्ता ठुला कारखानाबाट आईफोन जस्तै गरी लाखौँको संख्यामा आईपड उत्पादन हुने दिन फर्कने छैनन् । तर, यो स्थितिलाई सकारात्मक रूपमा पनि लिन सकिन्छ । यदि नयाँ आईपड आइहाले पनि त्यसमा आखिरमा एप्पल म्युजिककै सफ्टवेयर राखिने थियो जसले गर्दा यसको पुरानो सादगी र विशिष्ट पहिचान हराउन सक्ने जोखिम रहन्थ्यो ।


+ There are no comments
Add yours