२० चैत, काठमाडौँ ।सहमतिमा भएको शारीरिक सम्बन्धलाई हतियार बनाएर बलात्कारको मुद्दा दायर गर्ने धम्की दिँदै करोडौं रकम असुलेको आरोपमा टिकटकर ‘तुलसा’ भनिने तुल्सी अधिकारीसहित १० जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
जिल्ला प्रहरी परिसर ललितपुरले जबर्जस्ती रकम असुली, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन बुझाएपछि बिहीबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर भएको हो।
अभियोगपत्रअनुसार प्रतिवादी तुल्सी अधिकारीले धन आर्जन गर्ने मुख्य उद्देश्य राखी राजिखुशी भएको शारीरिक सम्बन्धलाई आधार बनाएर कुमार चिमोरियालाई ‘जबरजस्ती करणीको मुद्दा हाल्ने’ धम्की दिँदै निरन्तर दबाब सिर्जना गरेको उल्लेख छ।
धम्की र त्रास देखाएर नगद रकम, जिन्सी सामान तथा विभिन्न सम्पत्ति किन्न लगाई कुल ६ करोड ५२ लाख रुपैयाँ बराबरको रकम असुलेको दाबी अभियोजन पक्षको छ।
प्रहरीले यस प्रकरणमा तुल्सी अधिकारीसँगै मुकेश कुमार धानुका, दिलकुमारी लिम्बु, अशोक अग्रवाल, नेलीका लामिछाने लगायतलाई प्रतिवादी बनाएको छ। अनुसन्धानका क्रममा उनीहरूले संगठित रूपमा रकम असुली गरेको देखिएको प्रहरीको भनाइ छ।
अनुसन्धानबाट तुल्सी अधिकारीको नाममा ललितपुरको भैँसेपाटीमा चार आना क्षेत्रफलमा बनेको घर, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा खरिद गरिएको जग्गा तथा ललितपुरको कुमारीपाटीमा ‘तुल्सा कलेक्सन प्रालि’ सञ्चालनमा रहेको खुलेको छ।
यस्तै, उनी ५३ पटक नेपाल, भारत, चेन्नई र श्रीलङ्कासम्म यात्रा गरेको ट्राभल हिस्ट्री फेला परेको अभियोगपत्रमा उल्लेख छ। हाल फरार रहेकी तुल्सी अधिकारी छोरीसहित चीनमा रहेको भन्दै प्रहरीले उनको खोजी जारी राखेको छ।
सम्पत्ति शुद्धीकरणतर्फ भने तुल्सीसहित उनकी छोरी, बाबु र आमालाई समेत प्रतिवादी बनाइएको छ। मुद्दा दायर भएसँगै अदालतले अब अभियुक्तहरूको संलग्नता, असुली गरिएको रकम र सम्पत्ति स्रोतबारे थप सुनुवाइ गर्नेछ।


+ There are no comments
Add yours