१८ मंसिर, एजेन्सी । आज डिसेम्बर ४ विश्व इतिहासका लागि निकै महत्त्वपूर्ण दिन हो। आजका दिनमा मंगल ग्रहमा पहिलो रोभर अवतरणदेखि राष्ट्र संघको जग बसाल्ने सम्मका काम भएका थिए।
मंगल ग्रहको मिशन मार्स पाथफाइन्डर प्रक्षेपण
आजभन्दा २९ वर्षअघि सन् १९९६ डिसेम्बर ४ मा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको महत्वाकांक्षी अन्तरिक्ष यान मार्स पाथफाइन्डर फ्लोरिडाको केप क्यानाभेरलबाट सफलतापूर्वक प्रक्षेपण गरिएको थियो। मिशनको प्रमुख उद्देश्य रातो ग्रहको सतह र वायुमण्डलको विस्तृत अध्ययन गर्नुका साथै भविष्यका मानव मिशनहरूका लागि प्रविधिहरूको परीक्षण गर्नु थियो। यस मिशनले मंगल ग्रहमा पहिलो पटक चलाउन मिल्ने रोभर सोजर्नर अवतरण गराएको थियो, जसले मंगल अन्वेषणको नयाँ युगको सुरुवात गरेको थियो।
हिप हपका आइकन जे जेडको जन्मदिन
आज हिप हप जगतका सबैभन्दा प्रभावशाली व्यक्तित्व, अमेरिकी र्यापर, गीतकार र सफल उद्यमी जे जेडको जन्मदिन पनि हो। जे जेडको वास्तविक नाम शौन कोरी कार्टर हो। सन् १९६९ डिसेम्बर ४ मा जन्मिएका उनले १९९० को दशकको मध्यदेखि संगीत उद्योगमा गहिरो छाप छोडेका छन्। उनी र्याप कौशल, व्यापारिक चलाखी र सांस्कृतिक प्रभावका कारण विश्वव्यापी रूपमा प्रख्यात छन्। उनी हिप हपका सबैभन्दा ठूला र धनी कलाकारमध्ये एक हुन्।
नागरिक अधिकार नेता फ्रेड ह्याम्पटनको हत्या
आजभन्दा ५६ वर्षअघि सन् १९६९ डिसेम्बर ४ मा अमेरिकी नागरिक अधिकार आन्दोलनका उदाउँदा र करिश्माई नेता, ब्ल्याक प्यान्थर्स पार्टीका सदस्य फ्रेड ह्याम्पटनलाई शिकागोमा प्रहरीले गोली हानी हत्या गरेको थियो। उनी त्यतिबेला जम्मा २१ वर्षका थिए। उक्त घटनाले नागरिक अधिकार समुदायमा ठूलो आक्रोश पैदा गरेको थियो। ह्याम्पटनको मृत्युले एफबीआई र यसका निर्देशक जे एडगर हूवरले काला संगठनहरूलाई ध्वस्त पार्न चलाएको गुप्त कार्यक्रममाथि व्यापक अनुसन्धानको माग भएको थियो।
राष्ट्रपति विल्सन पेरिस शान्ति सम्मेलनमा प्रस्थान
आजभन्दा १०७ वर्षअघि सन् १९१८ डिसेम्बर ४ मा प्रथम विश्वयुद्धको लडाइँ सकिएपछि अमेरिकी राष्ट्रपति वुड्रो विल्सन विश्व शान्ति स्थापना गर्ने उद्देश्यका साथ पेरिस शान्ति सम्मेलनमा भाग लिन फ्रान्सतर्फ प्रस्थान गरेका थिए। उक्त सभा युद्धपछि अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ दिशा दिने निर्णायक सभा थियो। सम्मेलनको मुख्य एजेन्डामा राष्ट्र संघको स्थापना र जर्मनीसँग हुने औपचारिक शान्ति सम्झौता (भर्साइल सन्धि) को मस्यौदा तयार गर्नु थियो।
एजेन्सीको सहयोगमा


+ There are no comments
Add yours