डाइभर्सन बनेपछि ३ दिनपछि सञ्चालनमा आयो बिपी राजमार्ग

१६ कार्तिक, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको रोशी-८ चारसयबेशी र रोशी-११ पिप्लेमा डाइभर्सन निर्माण पश्चात बिपी राजमार्ग संचालनमा आएको छ ।

बिहीबारदेखि परेको अविरल वर्षाले विभिन्न स्थानमा गएको पहिरो र लेदोको कारण तीन दिनदेखि अवरुद्ध राजमार्ग संचालनमा आएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

रोशी-११ पिप्लेमा र रोशी-८ चारसयबेशीमा डाइभर्सन निर्माणपश्चात आज पौने १२ बजेदेखि बिपी राजमार्ग सञ्चालनमा आएको हो । चारसयबेशीमा रहेको नाङ्शाल क्रसरनिर सडक माथिबाट सुख्खा पहिरो निरन्तर आइरहेकोले राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो । राजमार्गको रोशीखोला साइडमा डाइभर्सन बनाएर राजमार्ग सञ्चालनमा आएको हो ।

लगातारको वर्षाका कारण बिपी राजमार्ग अन्तरगतको चौकीडाँडा, चारसयबेसीको नाङसाल क्रसर, बोक्सीकुना र माम्तीमा पहिरो खसेर तथा नार्के, पिन्थलीबेशी, विरुवाडाँडा, डालाबेशी लगायतको स्थानमा लेदोको कारण राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको थियो । माम्तीको तल्लो भेगमा गत आसोजमा सडक बगेर बनेको डाईभर्सनमा लेदो सहितको बाढी पसेर अवरुद्ध भएको थियो ।

डाइभर्सन निर्माण भए पनि रोशी खोलाको किनारा र माथिबाट आउने सुक्खा पहिरोको कारण सावधानी अपनाएर यात्रा गर्न प्रशासनले अनुरोध गरेको छ ।

गत वर्षको असोज १०,११ र १२ गतेको वर्षाले बिपी राजमार्गको विभिन्न स्थानमा सडक बगाएको थियो । बगाएको स्थानमा डाइभर्सन निर्माण पश्चात यातायात सुचारु गरेको थियो । उक्त डाइभर्सन पनि असोज १८ र १९ गते परेको अविरल वर्षाकाकारण रोशी खोलामाआएको बाढीले पुर्‍याएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours