१५ कार्तिक, काठमाडौँ । कुराकानी
पोष्टड्याम छेउ, क्यापुथ, ३० जुलाई १९३२ ।
प्रिय प्राध्यापक फ्रायड !
राष्ट्र संघ तथा पेरिसमा अवस्थित यसको सहायक संगठन ‘इन्टरनेसनल इन्स्टिच्युट अफ इन्टेलेक्चुअल कोअपरेसन’ ले मलाई एउटा प्रस्ताव राख्यो । जसमा मैले आफैले रोजेको व्यक्तिलाई बोलाएर ऊसँग आफूलाई मन लागेको कुनै पनि विषयमा खुलेर छलफल गर्न पाउने भनिएको छ । यसले मलाई गज्जबको अवसर दिएको छ । म यही मौकामा मानव सभ्यताले आज पर्यन्त झेली रहेको समस्याबारे चर्चा गर्न चाहन्छु ।
मानवजातिलाई युद्धको खतराबाट छुटकारा दिने कुनै तरिका छ ? भन्ने प्रश्नको म तपाईंबाट जबाफ चाहन्छु ।
हामी सबैलाई थाहा छ, आधुनिक विज्ञानको विकाससँगै अबका युद्धहरू सभ्यताकै जीवन–मरणको मामिला बनिसकेका छन् । विषयको यस्तो गम्भीरता तथा त्यसको जवाफ खोज्ने उत्साहका बाबजुद यसको समाधानका हरेक प्रयत्नहरू भने आजपर्यन्त दुःखद रूपमा असफल हुँदै आएका छन् ।
सङ्कीर्ण राष्ट्रवादको पूर्वाग्रह हटाएर हेर्ने हो भने देशहरूबिचको द्वन्द्व समाधानको सजिलो प्रशासनिक तरिका पहिल्याउन सकिन्छ ।
मलाई लाग्छ यही समस्याको समाधानको खोजीमा पेसागत तथा व्यवहारिक रूपमा लागेका मानिस आफूले जवाफ पाउन नसकेको अनुभव गर्दैछन् । अब उनीहरू पनि वैज्ञानिकलगायत अन्य क्षेत्रका मानिसहरूको विचार सुन्न उत्सुक छन् । फरक क्षेत्रका विज्ञहरूले विश्वका प्रमुख मुद्दाहरूबारे भिन्न दृष्टिकोणबाट, अलि टाढाबाट फराकिलो रूपमा हेर्न सक्छन् भन्ने उनीहरूले ठानेको पाउँछु ।
मेरो हकमा भन्ने हो भने आफ्नो साधारण सोचाइले मान्छेको चाहना र भावनाको गहन र अँध्यारो क्षेत्रबारे बुझ्ने सामर्थ्य राख्दैन भन्ने मलाई थाहा छ । अहिले प्रस्ताव गरिएको हाम्रो छलफलमा पनि म धेरै ठुलो काम गर्न पक्कै सक्दिन । केवल सम्बन्धित सन्दर्भमा उठ्ने प्रश्नलाई थप प्रस्ट पार्ने तथा स्पष्ट समाधान खोज्नका लागि बाटो खुला गर्ने प्रयास गर्न सक्छु । जसका कारण तपाईंलाई मानवीय स्वभाव र प्रवृत्तिबारेको आफ्नो गहन ज्ञानको आलोकमा हाम्रो समस्याबारे केन्द्रित हुन सजिलो होस ।

केही मनोवैज्ञानिक अवरोधहरू यस्ता पनि छन्, जसको अस्तित्वबारे मानसिक विज्ञानको सामान्य अध्येताले केवल अनुमान मात्रै गर्न सक्छ । त्यसभित्रको अन्तरसम्बन्ध र जटिलतालाई छिचोल्न सक्दैन । तपाईंले हामीलाई केही सहजै ठम्याउन र सिक्न सकिने विधिहरू मार्फत राजनीतिको घेरा भन्दा बाहिरबाट यी अवरोधहरूबाट पार पाउने तरिका सिकाउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।
सङ्कीर्ण राष्ट्रवादको पूर्वाग्रह हटाएर हेर्ने हो भने देशहरूबिचको द्वन्द्व समाधानको सजिलो प्रशासनिक तरिका पहिल्याउन सकिन्छ । अन्तर्राष्ट्रिय स्तरको विधायकी तथा न्यायिक संरचना निर्माण गर्ने तथा त्यसैबाट राष्ट्रहरू बिचको असमझदारी र द्वन्द्वको हल गर्ने । जहाँ हरेक राष्ट्रले त्यस्तो विधायकीको आदेश शिरोधार्य गर्नेछन् ।
आपसमा देखा पर्ने प्रत्येक विवादमा त्यही संरचनाको निर्णय मान्ने हुनेछ । साथै त्यसको फैसलालाई हुबहु कार्यान्वयन गर्दै अघि बढ्ने छन् । तर यसमा पनि सुरुमै एउटा समस्या देखा पर्छ । मानवीय संस्थाको रूपमा कुनै पनि न्यायाधिकरणलाई आफ्नो फैसला कार्यान्वयन गराउनका लागि बाध्यकारी बनाउन सक्ने शक्ति आवश्यक पर्छ । त्यस्तो शक्ति नभएको खण्डमा अन्य बाह्य शक्तिले निर्णय प्रक्रियामै प्रभाव पार्न सक्छ ।
शक्ति र कानुन सँग–सँगै जानुपर्छ । न्याय प्रणालीले त्यसबेला मात्रै राम्रोसँग काम गर्छ, जब यसका पछाडि रहेको समुदायसँग मानिसलाई यसको फैसला कार्यन्वयन गर्न र पालना गर्न बाध्य पार्ने शक्ति हुन्छ । तर अहिलेको अवस्थामा त सबै राष्ट्र र पक्षले स्वीकार गर्ने सर्वसम्मत अन्तर्राष्ट्रिय संगठन नै छैन । कसैले पनि आफ्नो फैसलालाई सरासर कार्यान्वयन गराउने ल्याकत राख्दैनन् ।
यस्तो राजनीतिक शक्तिको भोक अन्य शक्तिको गतिविधिमा भर पर्छ, जुन शक्तिको चाहना केवल पैसा र मुनाफामा केन्द्रित हुन्छ ।
यस्तो अवस्थामा मलाई लागेका केही सिद्धान्तहरू छन्, जुन हाम्रो चर्चाका लागि सान्दर्भिक हुन सक्छन् । पहिलो, अन्तर्राष्ट्रिय सुरक्षाको प्रत्याभूति दिलाउने हो भने हरेक राष्ट्रले नि:शर्त रूपमा आफ्नो स्वतन्त्रता तथा सार्वभौमिकताको केही अंश समर्पण गर्न तयार हुनुपर्छ । यसका अलावा दिगो अन्तर्राष्ट्रिय सुरक्षा हासिल गर्ने अर्को कुनै तरिका नै छैन ।
अहिलेसम्म त्यस्तो संस्था निर्माण गर्न तथा युद्ध रोक्नका लागि भएका प्रयासहरू असफल साबित भएका छन् । यस्तो असफलताका पछाडि बलियो मनोवैज्ञानिक शक्ति क्रियाशील छ । जसले हरेक प्रयासलाई निरर्थक बनाइदिन सक्छ । त्यस्ता कारणहरू बुझ्न धेरै अप्ठेरो पनि छैन । हरेक मुलुकका शासक वर्गका मानिसहरू शक्तिका भोका छन् । उनीहरू राष्ट्रको सार्वभौमिकतामा कुनै पनि सीमा सहन तयार छैनन् ।
यस्तो राजनीतिक शक्तिको भोक अन्य शक्तिको गतिविधिमा भर पर्छ, जुन शक्तिको चाहना केवल पैसा र मुनाफामा केन्द्रित हुन्छ । प्रत्येक मुलुकमा त्यस्तो एउटा सानो समूह हुन्छ, जसलाई समाजको अवस्था तथा अवरोधको कुनै पर्बाह हुँदैन । तिनीहरूलाई केवल युद्ध चाहिएको हुन्छ । हतियारको उत्पादन र बिक्रीमा चासो हुन्छ । युद्धलाई उनीहरू केवल आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने तथा आफ्नो हैकम बढाउने अवसरका रूपमा बुझ्छन् ।
प्रत्येक राष्ट्रमा हुने यस्तो समूहबारे थाहा पाउनु पनि वास्तविक अवस्था बुझ्नका लागि पहिलो पाइला हो । त्यस पश्चात् हाम्रासामु अर्को गम्भीर प्रश्न आइपुग्छ– धेरै मानिसले ज्यान गुमाउनुपर्ने युद्धका लागि तयार बनाउन बहुसङ्ख्यक जनतालाई त्यस्तो सानो समूहले कसरी बाध्य पार्न सक्छ त ? कसरी आम मानिस कुनै सानो समूहको महत्त्वाकाङ्क्षा पुरा गराउनका लागि युद्धमा होमिन र ज्यान गुमाउन तयार हुन्छन् त ? (यहीँनेर बहुसङ्ख्यक भन्दै गर्दा मैले युद्धलाई आफ्नो पेसाका रूपमा रोजेका हरेक श्रेणीका सैनिकलाई पनि गणना गरेको छु । उनीहरूले आफ्नो जातिको सर्वोच्च हित रक्षाका लागि सेवा गरिरहेको ठान्छन् । उनीहरूलाई जारी आक्रमण नै रक्षाको उत्तम विधि हो भन्ने लाग्छ ।)
यो प्रश्नको सिधा जवाफ के हो भने एकदमै थोरै सङ्ख्यामा रहेको त्यो मानिसको समूह, जुन शासक वर्गको रूपमा रहेको हुन्छ, त्यसले विद्यालय, प्रेस र प्रायः जसो ठाउँमा चर्चमा पनि नियन्त्रण कायम राखेको हुन्छ । त्यही नियन्त्रणलाई प्रयोग गरेर उनीहरू आम जनताको भावनालाई प्रभावित पार्न सक्छन् । आफूले चाहे जस्तो बाटोमा डोर्याउन सक्छन् । आफ्नो स्वार्थ पूर्तिको हतियार बनाउन सक्छन् ।
मैले प्रस्तुत गरेको यो जवाफले पनि पूर्ण समाधान भने दिँदैन । यसमा थप अर्को प्रश्न आइपुग्छ– सानो समूहमा रहेको शासक वर्गले उपयोग गर्ने त्यस्ता उपकरणहरूबाट मानिस कसरी पाशविक इच्छासहित उत्तेजित हुन पुग्छन् ? मानिस आफ्नो जीवन बलिदान गर्न र अर्काको हत्या गर्न कसरी तयार हुन्छन् ?
द्धिजीवीहरू प्रत्यक्ष र जीवन्त अनुभवसँग कमै जोडिएका हुन्छन् । उनीहरू त छापाका अक्षरहरूमा प्रस्तुत भावनाको पछाडि दौडिन्छन् । के यी सबैलाई खास प्रकारको शिक्षा वा तालिम मार्फत घृणा तथा विनाशको पागलपनबाट मुक्त गराउन सम्भव छ त ?
यसको एउटै मात्र उत्तर हुन सम्भव छ, त्यो हो– मानिस भित्र घृणा र विनाशको तृष्णा रहेको हुन्छ । सामान्य अवस्थामा त्यस्तो तृष्णा भित्रै दबिएर बसेको अवस्थामा रहन्छ । असामान्य परिस्थितिमा बाहिर निस्किन्छ । यसलाई सजिलै जगाउन तथा सामूहिक पागलपनमा परिणत गर्न सकिन्छ । हामीले बुझ्न खोजेको जटिल तत्त्वको चुरो कुरा सम्भवतः यहीँनेर हुनुपर्छ ।
यही नै हामीले बुझ्न खोजेको त्यस्तो रहस्य हो, जुन मानव प्रवृत्तिबारे गहिरोसँग बुझेको व्यक्तिले मात्र समाधान गर्न सक्छ ।
अब हामी हाम्रो अन्तिम प्रश्नमा आइपुगेका छौँ ।
के मानिसको मानसिक उद्विकासको प्रक्रियामा केही नियन्त्रण गरेर उसलाई घृणा तथा विनाशको पागलपनबाट जोगाउन सकिन्छ ? मैले यहाँ अशिक्षित भिड तथा आम मानिसको मात्रै चर्चा गरिरहेको छैन । अनुभवहरूले कथित ‘बुद्धिजीवीहरू’ पनि भिडको विनाशकारी होहल्लाका पछाडि झन् सजिलै गरी दौडिएको देखाएका छन् ।
बुद्धिजीवीहरू प्रत्यक्ष र जीवन्त अनुभवसँग कमै जोडिएका हुन्छन् । उनीहरू त छापाका अक्षरहरूमा प्रस्तुत भावनाको पछाडि दौडिन्छन् । के यी सबैलाई खास प्रकारको शिक्षा वा तालिम मार्फत घृणा तथा विनाशको पागलपनबाट मुक्त गराउन सम्भव छ त ?
र, अन्तमा, म यहाँ देशहरू बिचको युद्धको मात्रै कुरा गरा गरिरहेको छु । जसलाई अन्तर्राष्ट्रिय युद्ध भनिन्छ । तर मलाई के कुरा पनि राम्रोसँग थाहा छ भने आक्रामक प्रवृत्ति अन्य रूप र परिस्थितिमा पनि सक्रिय हुन्छ । (जस्तो गृहयुद्धमा सक्रिय हुन्छ । कुनै समय धर्मको नाममा हुने त्यस्ता युद्धहरू अहिले सामाजिक कारणले हुन्छन् । जातीय अल्पसङ्ख्यकको उत्पीडनका कारणले पनि हुन्छन् ।)
यी तमाम प्रकारका द्वन्द्वहरूमा मैले यहाँ द्वन्द्वको सबै भन्दा प्रचलित, क्रूर र चरम स्वरूपमा देखा पर्ने युद्धका बारेमा ध्यान केन्द्रित गर्न चाहेँ । किनभने यसबारे बुझ्न सक्दा हामीलाई सबै प्रकारका सशस्त्र हिंसा अन्त्य गर्ने तरिका र साधनबारे बुझ्न सर्वाधिक सजिलो हुनेछ ।
मलाई थाहा छ, तपाईँका कृतिहरूमा हाम्रा तात्कालिक महत्वका प्रश्नहरूको जवाफ प्रस्ट वा अप्रत्यक्ष रूपमा लेखिएको पाउन सक्छौँ । तर तपाईंले आफ्ना पछिल्ला खोज तथा अनुसन्धानहरूको आलोकमा विश्व शान्तिको ज्वलन्त समस्याको व्याख्या हामी सबैले बुझ्ने गरी प्रस्तुत गरिदिनु भएमा हाम्रा लागि सबै भन्दा ठुलो उपकार हुने थियो ।
त्यस्तो व्याख्या र प्रस्तुतिले नयाँ एवं परिणाममुखी कार्ययोजनाको बाटो पनि देखाउने थियो भन्ने आशा छ ।
उही तपाईंको
अल्बर्ट आइन्स्टाइन


+ There are no comments
Add yours