०३ कार्तिक, काठमाडौँ। पारिश्रमिकलगायत विभिन्न माग पूरा गर्न सङ्घर्षरत नर्सहरूको समस्या समाधानका लागि सरकारले सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीसमेत रहेकी सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आइतबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो।
समितिले नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशका स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि तथा आन्दोलनरत नर्स प्रतिनिधिहरू समेत सहभागी रहने गरी सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन समितिमा पेस गर्नेछ।
समितिका सदस्य तथा मन्त्रालयको गुनासो सुनुवाइ एकाइ प्रमुख डा. अनुप बास्तोलाका अनुसार कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग निरन्तर समन्वय गर्दै काम गर्नेछ।
प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयमार्फत नर्सिङ स्वास्थ्यकर्मीहरूको सेवा सुविधा सुधारका विषयमा अल्पकालीन र दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्न निर्देशन दिएकी थिइन्।
बैठकले तिहार तथा छठ बिदालाई मध्यनजर राख्दै भर्चुअल माध्यमबाट अध्ययन र समन्वय कार्य अघि बढाउने निर्णय पनि गरेको छ।
‘मिति २०८२/०७/०२ गते प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीस्तरको निर्णय अनुसार गठन भएको कार्यदलले नजिकिँदै आएको शुभ दीपावली तथा छठ पर्वलाई दृष्टिगत गर्दै भर्चुअल माध्यमबाट सम्पर्कमा रही आवश्यक प्रक्रिया निरन्तर अघि बढाउनेछ,’ निर्णयमा भनिएको छ ।
समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ। उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिसहित निजी क्षेत्रका सरोकारवालालाई अनिवार्य उपस्थित हुन समितिले अनुरोध गरेको छ।
समितिबाट तयार हुने कार्य योजनासहितको प्रतिवेदन मन्त्रिपरिषद्मा पेस गरिनेछ।


+ There are no comments
Add yours