०८ असाेज, दमौली । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्दा केही दिनयता दैनिकजसो सर्वसाधारणले सास्ती भोगिरहेका छन् ।
पहिरो हटाउँदै राजमार्गमा यातायात सञ्चालन गरिए पनि पहिरो खस्ने र सडक अवरुद्ध हुने क्रम रोकिएको छैन । निरन्तर ढुङ्गा खसिरहेकाले सडकमा नियमित यातायात सञ्चालन गराउन समस्या भइरहेको छ । दसैँको समयमा पहिरोले बाटो बन्द हुँदा सर्वसाधारण मारेमा परेका छन् ।
मुग्लिन–नारायणगढ सडकको विकल्पमा तनहुँको खैरेनीटार हुँदै डेढगाउँ निस्कने मार्ग प्रयोग गर्न सकिन्छ । यो सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको योजनाको रुपमा राखेको छ । मुस्ताङदेखि तराइ जोड्ने गरी यो सडक प्रदेश सरकारले निर्माण गरिरहेको छ ।
साना सवारीसाधनका लागि यो सडक उपयुक्त छ । त्यसका लागि दमौली–खैरेनीटारबाट बायाँतर्फबाट भीमाद–मानपुर हुँदै डेढगाउँ–वुलिङटार–ढोडेनी–गैँडाकोट पुग्न सकिने यो बाटो प्रयोग गरिसकेका प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।
मुग्लिनदेखि खैरनीटारसम्म ७० किमि दूरी छ । खैरेनीटार–भीमाद कालोपत्र सडक सात किलोमिटर र भीमाद–मानपुर कच्चीसडक ३५ किलोमिटर छ । मानपुर–डेढगाउँ कालोपत्रे (४० किमि), डेढगाउँदेखि नारायणगढ ७० किमी रहेको छ ।
मोटरसाइकल चालकले दमौलीबाट केशवटार सुखौरा हुस्लाङ धरमपानी हुँदै घुमाउने झोलुङ्गे पुल तरेर मुग्लिन–नारायण सडकखण्ड निस्किएर यात्रा गर्न सक्ने धरमपानीका स्थानीय विजय रानाको भनाइ छ । मुग्लिनको बाटो अवरुद्ध भएपछि केही मोटरसाइकल चालकले यही बाटो प्रयोग गरिरहेको उनले बताए ।
यसैगरी साना गाडीका लागि चितवनबाट काठमाडौं आउजाउ गर्नका लागि चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सकिने छ ।
धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथको बाटोलाई पनि वैकल्पिक सडकको रूपमा प्रयोग गर्न सकिने प्रशासनले जनाएको छ ।
यस्तै, मकवापनुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाडौं आउन सकिने छ । चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै सवारीसाधन बुटवल हुँदै पोखरा जान सकिनेछ भने चितवनबाट कालीगण्डकी करिडोरको बाटो गैंडाकोट, बुलिङ्टार, डेढगाउँ, भिमाद, खैरेनीटार हुँदै तनहुँ निस्कन सकिनेछ ।


+ There are no comments
Add yours