हरेक १० वर्षमा राजनीतिक उथलपुथल

२९ भदाै, काठमाडौँ । दुई दिनको जेन-जी आन्दोलनले नेपालमा राजनीतिक उथलपुथल ल्याइदिएको छ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दको विरोधमा युवाहरूले सुरु गरेको आन्दोलनले दुई दिनमै सरकार र सत्ता मात्रै होइन, मुलुक नै तहसनहस बनाइदियो । पहिलो दिन (भदौ २३ गते)को आन्दोलनमा सरकारले दमन गरेर १९ जनाको ज्यान गएपछि आक्रोशित युवाहरूले भोलिपल्ट राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका कब्जा गरी ध्वस्त पारे । शासक, प्रशासन, दलका नेताहरूका निवास तथा पार्टी कार्यालयमा आगजनी गरे । यो क्रम संघीय राजधानी काठमाडौंमा मात्रै होइन, देशव्यापी चल्यो । जेन-जी विद्रोहका कारण २८ घण्टामा झण्डै दुई तिहाइको जननिर्वाचित शक्तिशाली सरकार ढल्यो, नेताहरूको भागाभाग भयो । अहिले माहोल विस्तारै शिथिल हुन थालेको छ । पूर्व-प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । संसद् विघटन भएर आगामी फागुनमा चुनाव पनि घोषणा भएको छ ।

नेपालमा भएको यो पछिल्लो राजनीतिक उथलपुथलसँग जोडिएको एउटा रोचक संयोग पनि छ । आजभन्दा १० वर्षअघि मात्रै नेपालमा संविधान बनेको थियो । संविधान बनेको १० वर्ष पुग्नै लाग्दा फेरि उथलपुथल भएको हो । त्यसको करिब १० वर्षअघि नै नेपालमा अर्को उथलपुथल भएको थियो । २०६२/०६३ सालमा भएको जनआन्दोलनले २४० वर्ष शासन गरेको राजसंस्था फालेको थियो । त्यसको १० वर्षअघि २०५२ सलमा तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र युद्ध सुरु गरेको थियो । १०/१० वर्ष राजनीतिक परिवर्तन भएका उदारहण त्यसअघि पनि छन् । २००७ सालमा राणा शासन फालेर प्रजातन्त्र आएको थियो । तर, त्यसको १० वर्षपछि अर्थात् १०१७ सालमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरी सत्ता हातमा लिनुभएको थियो ।

पञ्चायत उल्टाउन भने ३० वर्ष लाग्यो । यद्यपि, २० वर्षपछि २०३७ सालमा पञ्चायत उल्टाउन जनमतसंग्रह भएको थियो । तर, पञ्चायत नै विजयी भयो । त्यसको १० वर्षपछि २०४६ सालको जनआन्दोलनले पञ्चायत फालेर राजसंस्थासहितको प्रजातन्त्र पुनःस्थापित गरेको थियो । तत्कालीन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाले गरेको आन्दोलनको बलमा २०४६ चैत २६ गते ३० वर्षे निरंकुश पञ्चायती व्यवस्था ढलेको थियो ।

२०५२ मा विद्रोह

२०५२ साल नेपाली राजनीतिका लागि एउटा अविस्मरणीय वर्ष हो । ०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र युद्ध अर्थात् उसकै शब्दमा जनयुद्ध सुरु गरेको थियो । ०५२ साल फागुन १ गतेबाट जनयुद्ध सुरु भएको थियो । यसको पुष्ठभूमि भने अलि अगाडिदेखि नै बनेको थियो । २०४६ सालको आन्दोलनमा संवैधानिक राजतन्त्र, बहुदलीय व्यवस्था स्थापना गर्न राजा र आन्दोलनरत दलहरूबीच सम्झौता भएको थियो । तर, उक्त सम्झौतालाई लिएर गणतन्त्र पक्षधर नेकपा(चौम) समूहका दलहरूले अस्वीकार गरेका थिए । तत्कालीन नेकपा(मसाल)ले राजा र संयुक्त आन्दोलनका दलहरूबीच भएको सम्झौतालाई देश र जनताप्रति ठूलो धोका भएको निष्कर्ष निकालेको थियो । २०४५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेकपा (मसाल)का महामन्त्री भएपछि दीर्घकालीन जनयुद्ध गर्ने लक्ष्यसहित माओवादी विचार समूहलाई एकता गरी नेकपा (एकता केन्द्र) पुनर्गठन गर्नुभएको थियो । उहाँकै नेतृत्वमा २०५२ साल फागुन १ गते तत्कालीन शाही सत्ताविरुद्ध सशस्त्र विद्रोह घोषणा गरिएको थियो । राष्ट्रियता, जनतन्त्र र जनजीविकासम्बन्धी ४२ बुँदे माग राखेर माओवादीले जनयुद्ध घोषणा गरेको थियो । तर, माओवादीको माग सरकारले समयमै सम्बोधन गर्न नसक्दा राज्यले ठूलो क्षति बेहो¥यो । त्यसयता हरेक १०/१० वर्षमा नेपालको राजनीतिमा उथलपुथल भइरहेको छ ।

२०६३ मा राजसंस्थाको अन्त्य

२०६२/६३ सालमा भएको १९ दिने जनआन्दोलनले २३८ वर्ष लामो राजतन्त्रको अवसान भएको थियो । २०६२ चैत २४ देखि सुरु भएको आन्दोलन वैशाख ११ गतेसम्म चलेको थियो । त्यसको पुष्ठभूमि पनि अलि अगाडिबाटै तयार भएको थियो । २०५८ साल जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि सत्तामा आएका ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते सत्ता ‘कू’ गरी शासन सत्ता आफ्नो हातमा लिनुभयो । ज्ञानेन्द्रको ‘कू’पछि आक्रोशित भएका तत्कालीन सांसदवादी सात दल माओवादीसँग मिल्न पुगे । दुई पक्षबीच २०६२ मंसिर ७ मा १२ बुँदे सहमति भयो र सोही सहमतिका आधारमा भएको जनआन्दोलनले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा लैजाने बाटो खोल्यो र राजतन्त्र ढलेपछि २०६५ साल जेठ १५ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो ।

२०७२ मा शान्ति र संविधान

दोस्रो जनआन्दोलनको १० वर्षपछि २०७२ सालमा संविधान बनेको थियो । आठ वर्ष लामो संघर्ष र अथक प्रयासपछि दोस्रो संविधानसभाले संविधान बनाएको थियो । यसअघि गणतन्त्रलाई संस्थागत गर्ने मूल कानुन बनाउन नसक्दा २०६९ सालमा संविधानसभा नै विघटन भएको थियो । २०७० सालमा भएको दोस्रो संविधानसभाबाट संघीयता, शासकीय स्वरूप र राज्यपुनःसंरचनामा प्रमुख राजनीतिक दलहरूबीच सहमति भएपछि २०७२ साल असोज ३ गते नयाँ संविधान जारी भएको थियो । सोही वर्षको सुरुमै विनाशकारी महाभूकम्पले ठूलो जनधनको क्षति भएपछि आपसी मतभेद थाँती राखेर संविधान बनाउन दलहरू एकमत भएका थिए ।

अहिलेको अकल्पनीय उलटफेर

२०७२ सालमा गणतन्त्र नेपालको नयाँ संविधान बनेपछि मुलुकले राजनीतिक स्थायित्व, सुशासन र समृद्धि पाउँछ भन्ने आम नागरिकको विश्वास थियो । तर, निर्वाचनबाट जितेर आएका राजनीतिक दलहरूले ‘म्याण्डेट’ विपरीत सत्ता गठन र विघटनमै व्यस्त भएपछि जनआक्रोश बढ्दै गएको थियो । २०७९ सालमा भएको निर्वाचनमा राजनीतिक दलप्रति जनताको आक्रोशका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ र वैकल्पिक शक्तिहरूले लोकप्रिय मत प्राप्त गरे । तर, नयाँ दलहरू समेत सहभागी भएको सरकारले समेत आम असन्तुष्टिलाई सम्बोधन हुनेगरी सरकारले कार्यक्रम ल्याउन सकेन । व्यापक जनअसन्तुष्टिका बीच पनि परम्परागत दल कांग्रेस, एमाले र माओवादी सत्ता राजनीतिको पुरानै खेलमा अल्झिए । प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई हटाएर गत वर्ष दुई ठूला दल कांग्रेस र एमालेको गठबन्धन सरकार बन्यो । सरकार बनेको दिनदेखि नै आमनागरिकको असन्तुष्टलाई हल गर्नेभन्दा पनि थप चिढ्याउने दिशातिर सरकार बढ्दै गयो । पछिल्लो समय केपी ओली नेतृत्वको गठबन्धन सरकारले समाजिक सञ्जालमाथि नै प्रतिबन्ध लगाएपछि जेन-जी युवाहरूको आक्रोश बढ्यो र परिणाम अहिले हाम्रासामु छ ।

७-१७ मा क्रान्ति र कू, ३७-४६/४७ मा संघर्ष र सफलता

२००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएको थियो र त्यहीँबाट प्रजातान्त्रिक युगको थालनी भएको थियो । २००७ साल फागुन १७ गते आन्तरिक शासन विधान २००७ घोषणा गरिएको थियो । २००८ साल फागुन २६ गते प्रधानमन्त्री मोहन शमशेरले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो । २००८ साल मंसिर १ गते मातृकाप्रसाद कोइरालाको नेतृत्वमा १४ सदस्यीय मन्त्रिपरिषद्को घोषणा भएको थियो । २०१२ साल असोज २२ गते पञ्चवर्षीय योजनाको घोषणा भएको थियो । २०१३ सालमा बिपी कोइरालाको नेतृत्वमा पहिलो जननिर्वाचित सरकारको गठन भयो । त्यसलगत्तै २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियोे । तर, २०१७ साल पुस १ गते तात्कालीन राजा महेन्द्रले प्रजातन्त्रको हत्या गर्दै पञ्चायती व्यवस्थाको थालनी गर्नुभयो । २०१९ साल पुस १ गते पञ्चायती व्यवस्थामा आधारित संविधानको घोषणा भयो । २०३७ साल वैशाख २० गते नेपालमा बहुदलीय व्यवस्था कि सुधारिएको पञ्चायती व्यवस्था भन्नेमा जनमत संग्रहको घोषणा जेठ १ गते घोषणा गरिएको थियो । तर, पञ्चायत नै विजयी भयो । २०४६ साल फागुन ७ देखि चैत्र २६ सम्म नेपालमा जनआन्दोलन भयो । २०४६ साल चैत्र २६ गते भएको सहमतिले निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्वहाली, जनआन्दोलन सम्पन्न भएको थियो । २०४७ साल जेठ १६ गते कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार गठनभएको थियो । २०४७ साल कात्तिक २३ गते नयाँ संविधानको घोषणा गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours