पीडित–केन्द्रित अन्तरवार्ता मोडेलबारे दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

१९ भदाै, काठमाडौँ । आफन्त नेपाल, ललितपुर र न्यायाधीश समाज, नेपाल, काठमाडौंको संयुक्त आयोजनामा भदौ १३ र १४ गते (२९–३० अगस्ट, २०२५) भक्तपुरमा “पीडित–केन्द्रित अन्तरर्वाता मोडेल (Victim–Centric Interview Model)Æ विषयक दुई दिवशीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। पीडितप्रति संवेदनशील भई न्यायिक प्रक्रियामा पीडितको बयानको क्रममा पीडितलाई डर, दबाब वा पुनःआघातबाट जोगाउँदै मनोवैज्ञानिक रूपमा सुरक्षित वातावरण तयार गर्न आवश्यक विधि तथा प्रक्रिया बारे जानकारी प्रदान गरी अनुसन्धानकर्ता, अभियोजनकर्ता, माननीय न्यायाधीश तथा अदालतका अधिकृतहरुको सीपमा अभिवृद्धि गराउनु नै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

सर्वोच्च अदालतका माननीय न्यायाधीश तथा न्यायाधीश समाज नेपालका अध्यक्ष श्री तिलप्रसाद श्रेष्ठको अध्यक्षतामा संचालित उक्त कार्यक्रम काठमाडौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन र मकवानपुर जिल्लाका माननीय जिल्ला न्यायाधीश, जिल्ला अदालतका अधिकृत, सरकारी वकिल र अनुसन्धानकर्ता लक्षित रहेको थियो। कार्यक्रममा न्यायाधीश समाजका महासचिव एवम् विशेष अदालतका अध्यक्ष माननीय न्यायाधीश श्री टेकनारायण कुँवर, समाजका पदाधिकारी, मानव बेचविखन अनुसन्धान ब्यूरोका प्रतिनिधि तथा नेपाल ल क्याम्पका उप–प्राध्यापक लयागत आफन्त नेपालका प्रतिनिधिसमेत गरी जम्मा ४३ जनाको सहभागिता रहेको थियो।

पीडितको अधिकार, पीडित तथा प्रभावितहरुको लागि सहज कानूनी प्रकृया र न्यायमा पहुँच, पीडित केन्द्रित अन्तर्वार्ताको अवधारणा तथा विधिहरू, पीडितको कागज र बकपत्रः अभ्यास र चुनौति विषयमा सत्र सञ्‍चालन हुनुका साथै पीडित न्याय प्रक्रियाका विद्यमान चुनौतिहरूका सम्बन्धमा समूहगत छलफल तथा प्रस्तुतीकरण भएको थियो। उल्लिखित सत्रहरूमा पीडितका अधिकार र सोको कार्यान्वयनमा सरोकारवालाको भूमिकामा सम्बन्धमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास बारे चर्चा गरिएको थियो। त्यसैगरी राष्ट्रिय स्तरमा पीडित मैत्री वातावरणको लागि गरिदै आएका अभ्यासहरुमा चर्चा गर्दै सुधार गर्दै जानुपर्ने विषयको पहिचान गरिएको थियो। साथै, कार्यक्रममा Forensic Experiential Trauma Interviews विधिबारे जानकारी प्रदान गर्दै पीडित केन्द्रित अन्तर्वार्ता मोडेलका असल अभ्यास र सिकाईको बारेमा उदाहरणसहित सत्रमा चर्चा गरिएको थियो।

कार्यक्रममा सहभागीहरूबीच आफ्ना अनुभवहरू आदानप्रदान गर्दै न्यायिक प्रक्रियामा पीडितसँगको अन्तर्वार्ता लिने क्रममा भोगेका समस्या तथा समाधानका उपायहरूमा छलफल भएको थियो। दुई दिनसम्म चलेको उक्त कार्यक्रममा सहभागीहरूलाई पीडितसँग अन्तर्वार्ता गर्दा मनोवैज्ञानिक आघातलाई कसरी बुझ्ने, संवेदनशील मुद्दामा पीडितलाई थप पीडित नबनाई प्रमाण संकलन गर्ने प्रक्रिया र अन्तर्राष्ट्रिय अभ्यासहरूबारे व्यावहारीक प्रशिक्षण दिइएको थियो। कार्यक्रममा सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री तिलप्रसाल श्रेष्ठ, विशेष अदालतका अध्यक्ष माननीय न्यायाधीश श्री टेकनारायण कुँवर लगायत उच्च तथा जिल्ला अदालतका माननीय न्यायाधीशज्यूहरूले सत्रको सहजीकरण गर्नु भएको थियो।

सहभागीहरूले दिएका प्रतिक्रिया अनुसार, कार्यक्रम फलदायी रहेको र यस कार्यक्रमले प्रहरी अनुसन्धान, अदालती प्रक्रिया र कानूनी बहसमा पीडित मैत्री दृष्टिकोण अपनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसै सन्दर्भमा आफन्त नेपालका कार्यकारी निर्देशक एलिसन पाण्डेले मानव बेचबिखन विरुद्ध विगत दुई दशकदेखि निरन्तर कार्य गर्दै आईरहेको शिलशिलामा भोगेका कानुनी समस्या र चुनौतिलाई आधार मानी विगतदेखि नै पीडित–केन्द्रित न्याय प्रणाली प्रवर्द्धनमा काम गर्दै आइरहेको र अबका दिनहरुमा विगतमा झै कानुनी समस्याबाट पीडितलाई थप पीडा महसुस नहोस् भनी समन्वय र सहकार्य मार्फत अघि बढ्नुपर्ने र नेपालमा न्याय प्राप्ति अझ सुलभ र प्रभावकारी बनाउन हामी सबैको महत्वपूर्ण भूमिका रहेको कुरामा जोड दिनुभएको थियो।

You May Also Like

More From Author

+ There are no comments

Add yours