३० साउन, काठमाडौँ । सन् २०२५ को सात महिनामा ६ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार जनवरी देखि जुलाई सम्म सात महिनाको अवधिमा ६ लाख ४७ हजार ८८२ जना विदेशी पर्यटक नेपाल आएका हुन् ।
यो अवधिमा पर्यटक आगमनको संख्या सन् २०२४ को पहिलो सात महिनाको तुलनामा २६७ जनाले बढेको छ । सनु २०२४ को सात महिनाको अवधिमा ६ लाख ४७ हजार ६१५ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपालमा मनसुन याम सुरु भएसँगै पर्यटक आगमन केही खस्किएको हो । नेपाल पर्यटन बोर्डका अनुसार जुलाईमा सन् २०२५ कै सबैभन्दा कम पर्यटक आएका छन् ।
कुन देशबाट कति आए ?
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२५ को जुलाई महिनासम्ममा आगमन भएको कुल पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । यस अवधिमा १ लाख ९ हजार ४६७ जना भारतीय पर्यटक नेपाल आएका छन् । यसैगरी, दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ६२ हजार ८८७ जना पर्यटक आएका छन् भने चीनबाट ६१ हजार ३४१ जना पर्यटक नेपाल आएका हुन् ।
बंगलादेशबाट ३२ हजार ८९२ जना नेपाल भित्रिएका छन् । यस्तै, बेलायतबाट ३० हजार ६१५ जना, अष्ट्रेलियाबाट २३ हजार ७६० जना पर्यटक नेपाल आएकोमा साउथ कोरियाबाट १३ हजार ९५७ जना नेपाल घुम्न आएका छन् ।
थाएल्यान्डबाट १८ हजार ४०४ जना, भुटानबाट ९ हजार ७४९ जना र जापानबाट १३ हजार ४ जना नेपाल आएका छन् । यो तथ्यांक बाई एयर (हवाई मार्ग) बाट आउने पर्यटकहरूको मात्र हो । तुलनात्मक रूपमा हवाई मार्गबाट आउनेहरू भन्दा बढी पर्यटक स्थलमार्ग हुँदै आउने गरेको पर्यटन बोर्डले जनाएको छ ।


+ There are no comments
Add yours