एडिबीको सहयोगमा बन्ने सडक शिलान्यास

०९ साउन, काठमाडाैं । कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माणको आज शिलान्यास गरिएको छ।

नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण हुने सडकको गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे। मध्यपहाडी राजमार्गस्थित हेमजा घट्टेखोलाबाट धम्पुस हुँदै खानीगाउँसम्मको १३ किमी सात सय मिटर सडक स्तरोन्नति सुरु भएको हो।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको ग्रामीण सडक सुधार परियोजना (आरसिआइपी) को रु ३० करोड १८ लाख ९४ हजार लागतमा सडक स्तरोन्नति गर्न लागिएको हो।

आरसीआइपी परियोजना पोखराका प्रमुख लक्ष्मी भण्डारीले आगामी दुई वर्षभित्र सडक निर्माण सम्पन्न गर्ने गरी गत फागुनमा निर्माण कम्पनी विविआर कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको जानकारी दिए। निर्माण कम्पनीले काम सुरु गरिसकेको छ।

भण्डारीका अनुसार पहिलो सात किलोमिटरसम्म अस्फाल्ट कालोपत्र र बाँकी सडकमा ‘डिबिएसटी’ प्रविधिबाट हुनेछ। घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको २०६१ सालमा ट्रयाक खुलेको हो। पर्यटकीय गाउँमा दुई दशकपछि पक्की सडक निर्माण सुरु भएसँगै स्थानीय उत्साहित भएका छन्। धम्पुस पर्यटकीय गाउँका साथै विश्वप्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार पनि हो।

सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराए। उनले सडक निर्माण पर्यटकीय क्षेत्रसँग जोडिएकोले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी र सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने बताए।

मन्त्री केसीले भने, ‘समयमै गुणस्तरीय रूपमा काम सम्पन्न गर्न, काम निरन्तर अघि बढाउन, निर्माणस्थलको नियमित अनुगमन गरी समयमै आयोजना सम्पन्न गर्ने वातावरण तयार गर्न सबैमा आग्रह गर्छु।’

माछापुच्छ्रे गाउँपालिका–७ का वडाध्यक्ष वैकुण्ठप्रसाद भण्डारीले वडाको बीच भागबाट बाटो बनेकाले धम्पुसका सबै १० टोल लाभान्वित हुने बताए। उनले माछापुच्छ्रे गाउँपालिका–८ को अर्को पर्यटकीय ल्वाङ गाउँको सिमानासम्म अहिले सडक पुग्ने र ल्वाङबाट पनि दुई किमी निर्माण भइरहेकाले ल्वाङ, खोराकोमुख हुँदै गाउँपालिका केन्द्र र पोखरा बजार पुग्न सहज हुने बताए।

शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारी, पूर्वाधार विकास निर्देशनालयका महानिर्देशक दिनेशकुमार घिमिरेलगायतले सडक तोकिएको समयमै निर्माण सम्पन्न हुने र पर्यटन विकासमा सहयोग पुग्ने बताए।

You May Also Like

More From Author

+ There are no comments

Add yours