वैदेशिक रोजगारीमा जाने युवाको संख्या झन्डै १२ प्रतिशतले बढ्यो

०४ साउन, काठमाडौं । नेपालबाट वैदेशिक रोजगारीका लागि जाने युवाको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै १२ प्रतिशतले बढेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २६६ जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट वैदेशिक रोजगारीका लागि बाहिरिने युवाको संख्या ७ लाख ४१ हजार २९७ रहेको थियो । विभागको तथ्यांक हेर्दा अघिल्लो आवको तुलनामा गत आवमा रोजगारीका लागि विदेशीनेको संख्या ११.६७ प्रतिशतले बढेको हो ।

देशमै रोजगारीको सम्भावना र अवसर नपाएपछि युवाको रोजाइमा वैदेशिक रोजगारी परेको हो । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ७ लाख ४४ हजार ८११ जना पुरुष र ९४ हजार ४५५ जना महिला कामको शिलशिलामा बाहिरीएका हुन् ।

विभागका अनुसार गत आवमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेमध्ये सबैभन्दा बढी युएई पुगेका छन् । गत आवमा युएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया, रोमानिया, जापान, कोरिया, क्रोएसिया र बहराइन रोजगारीका लागि युवाको रोजाइमा पर्दै आएका मुलुक हुन् ।

सवाँ ११ प्रतिशत महिला कामदार

विभागका अनुसार वैदेशिक रोजगारीमा जाने महिला कामदारको संख्या पनि बढेको छ । गत वर्ष कुल वैदेशिक रोजगारीमा जाने कामदारमध्ये ११.२५ प्रतिशत महिला कामदार रहेका छन् । वैदेशिक रोजगारीका लागि जाने महिला कामदारको संख्या ९४ हजार ४५५ रहेको छ ।

आव २०८०/८१ मा भने कुल वैदेशिक रोजगारीमा जाने कामदारमध्ये महिला कामदारको हिस्सा १०.८१ प्रतिशत थियो । उक्त वर्ष ८० लाख १७२ जना महिला कामदार थिए ।

गत वर्ष ७ लाख ४४ हजार ८११ जना पुरुष कामदार युवा विदेशीएका छन् । कुल संख्याको ८८.७५ प्रतिशत बाहिरीएका हुन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours