बन्दना मिश्र मधुको ‘कविताको अन्नप्राशन’ लोकार्पण

३० असार, काठमाडाैं। प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को विमोचन गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक समारोहमा कविता सङ्ग्रह विमोचन गरिएको हो ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, पत्रकार नम्रता शर्मा, लेखक तथा पत्रकार रोहित भण्डारी र प्रकाशक रोश्ना सुवेदी मिश्रले संयुक्त रुपमा पुस्तक लोकार्पण गरिएको गरेका थिए ।

सो अवसरमा उपसभामुख राना मगरले ‘कविताको अन्नप्राशन’ले महिलालाई प्रेरणा दिने बताइन् । मधेसमा महिला हिंसाका घटना सुनिने गरेकामा आफ्नै सासूलाई कविता सङ्ग्रह प्रकाशन गर्न बुहारीले सघाएको सन्देशले अन्य महिलालाई हौसला दिने र साहित्यिक गतिविधि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो ।

‘एउटा बुहारीले सासूलाई पुस्तक लेख्न सघाएको र आफू प्रकाशक बसेको खबरले मलाइ हर्षित बनाएको छ’ उपसभामुख राना मगरले भनिन्, ‘लेखक मिश्रले विवाह भएर नेपाल आएपछि नेपाली भाषा सिकेर गर्नुभएको यो प्रयासको म प्रशंसा गर्छु ।’

यसरी महिलाहरूले एकआपसमा गर्ने सहकार्यले राम्रो नतिजा दिनुका साथै सामीप्यता र सद्भावलाई बढाउने उनले बताइन् ।

आफूले पनि कविता र गीत कोर्ने गरे पनि त्यसलाई पुस्तकको स्वरूप दिन नसकेकाले आफ्ना लागि पनि कवि मिश्रको कविता सङ्ग्रह प्रेरणा भएको उपसभामुख राना मगरले सुनाइन् ।

कविता सङ्ग्रहकी लेखिका मिश्रले आफू भारतबाट नेपाल विवाह भएर आएपछि सिकेको भाषा र आफ्नो साहित्यको दक्षतालाई पुस्तकको स्वरूप दिएको बताइन् ।

‘म सन् १९८६ मा नेपाल आएकी हुँ’ मिश्रले सुनाइन्, ‘यहाँ आएपछि भाषा सिकेँ, आज सोही कारण मैले कविता सङ्ग्रह ल्याउन सकेकी हुँ । यो मेरो सुरुआत हो, आउँदा दिनमा पनि म साहित्यलाई निरन्तरता दिन्छु ।’ उनले परिवारको साथकै कारण आफूले कोरेका शब्दलाई पुस्तक प्रकाशन गर्न सम्भव भएको जानकारी दिइन् । पुस्तकमाथि पत्रकार नम्रता शर्मा र रोहित भण्डारीले टिप्पणी राखेका थिए ।

कार्यक्रमको आयोजना फ्रन्टलाइन नेपाल प्रा.लि. ले गरेको थियोे ।

You May Also Like

More From Author

+ There are no comments

Add yours