२ हजार बढी परिवारलाई निःशुल्क ‘मिटरबक्स’

१७ असार, चितवन । पूर्वी चितवनका कालिका र राप्ती नगरपालिकाका पहाडी भेगमा बसोबास गर्ने विपन्न समुदायलाई निःशुल्क विद्युत्को ‘मिटरबक्स’ वितरण गर्न थालिएको छ ।

नेपाल विद्युत् प्राधिकरण टाँडी वितरण केन्द्रले २ हजार ४९७ परिवारलाई निःशुल्क रुपमा मिटरबक्स वितरण गर्न लागेको हो । केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीका अनुसार कालिका–९, १० र ११ का बासिन्दामध्येका विपन्न समुदायलाई मिटरबक्स बाँड्न थालिएको छ ।

यसैगरी राप्ती–१०, ११ र १२ का विपन्न समुदायलाई मिटरबक्स वितरण गर्न निवेदन आह्वान गरिएको छ । कालिका नगरपालिकामा १९५ परिवारलाई मिटरबक्स वितरण गरिएको उनले जानकारी दिए । अन्यलाई क्रमशः वितरण गर्दै जाने उनको भनाइ छ ।

मिटरबक्स जडान गर्दा आवश्यक पर्ने मिटर, तार र एमसिबीसमेत निःशुल्क प्रदान गरिएको छ । चौधरीका अनुसार ती २ पालिकामा मिटरबक्स वितरणका लागि प्राधिकरणले १ करोड २० लाख रुपैयाँ खर्च गर्दैछ । यसरी वितरण गर्न लागिएका मिटरबक्स पाउने अधिकांश चेपाङ समुदायका रहेका छन् ।

उनीहरुले मासिक २० युनिटसम्म विद्युत् खपत गर्दा ३० रुपैयाँ तिर्नुपर्ने हुन्छ । चौधरीले भने, “अति विपन्न परिवारलाई मिटरबक्स जडान थालेका छौँ, विद्युत् शुल्क भने उनीहरुले तिर्नुपर्ने हुन्छ ।” लक्षित वर्गलाई यथासक्य छिटो मिटरबक्स जडानका लागि पहल गरिदिन वडाअध्यक्षमार्फत सहजीकरणका लागि अनुरोध गरिएको उनले बताए ।

रितपूर्वक प्राप्त निवेदनपश्चात् मिटरबक्स जडान गरिनेछ । यसअघि इच्छाकामना गाउँपालिकाको पहाडी भूभागमा बसोबास गर्नेलाई मिटरबक्स निःशुल्क वितरण गरिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours