इजरायलमा रहेका नेपालीको सुरक्षास्थिति बुझ्न एनआरएनएद्वारा भर्चुअल अन्तरक्रिया सम्पन्न

०६ असार, काठमाडौं । इजरायल र इरानबीच बढ्दो तनाव र पछिल्लो घटनाक्रमबीच इजरायलमा रहेका नेपालीहरूको सुरक्षास्थिति बुझ्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भर्चुअल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।

बुधबार साँझ आयोजित कार्यक्रममा इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित, एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारी, एनसीसी महासचिव अलि मोहम्मद मियाँलगायतको उपस्थिति थियो। कार्यक्रममा इजरायलमा रहेका विभिन्न क्षेत्रका नेपाली सहभागी भएका थिए।

एनआरएनए इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले इजरायलमा अवस्था अघिल्ला युद्धहरूभन्दा संवेदनशील भए पनि तोकिएको सुरक्षा मापदण्ड पालना गरे असुरक्षा न्यून हुने बताएका छन्। उनले सामाजिक सञ्जालमा नकारात्मक गतिविधि नगर्न र नेपाल फर्कन चाहनेहरूले परराष्ट्र मन्त्रालयको फारम भरिदिन पनि आग्रह गरे।

एनसीसी महासचिव मियाँले इजरायली सरकारले निर्धारण गरेका सुरक्षा मापदण्डहरू कडाइका साथ पालना गर्नुपर्ने सुझाव दिएका छन्। हाल गाडी, पसललगायत सेवा सञ्चालनमा रहे पनि युद्धको अनिश्चितताबीच सतर्कता अनिवार्य रहेको उनले बताए।

राजदूत पण्डितले शेल्टरमा बस्न, सरकारको निर्देशन पालना गर्न र नेपाल फर्किन चाहनेहरूको सहज व्यवस्थापनका लागि दूतावासले फारम संकलन सुरु गरेको जानकारी दिए। उनले हालसम्म उद्धारका लागि खासै अनुरोध नभएको उल्लेख गर्दै, विराटनगरका मेयर र एक नेपाली चिकित्सकका लागि प्रक्रियागत कार्य अघि बढाइएको बताए।

कार्यक्रममा संघका महासचिव गौरीराज जोशी, उपाध्यक्ष रोजिना प्रधान राई, प्रवक्ता फणिन्द्र पन्तलगायतले इजरायलमा रहेका नेपालीहरूको सुरक्षाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

इजरायलस्थित नेपालीको सूचनाका लागि हटलाइन सेवा पनि सुरु गर्ने तयारी भइरहेको जानकारी दिइएको छ। कार्यक्रमको सहजीकरण संघका कार्यकारी निर्देशक राजेन्द्र कुमार राउतले गरेका थिए।

इजरायलस्थित नेपालीहरूबाट प्राप्त जानकारीअनुसार उनीहरू तत्काल नेपाल फर्कनु पर्ने अवस्था नरहेको जनाएका छन्, तर बदलिँदो परिस्थितिमा दूतावास र संघले तयारी अवस्थामा रहेर आवश्यक समन्वय गरिरहेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours