०४ असार, काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट दुई पटक चोरी गर्ने प्रयास भएको दुर्लभ वन्यजन्तु रेडपाण्डाको मृत्यु भएको छ ।
शनिबार चिडियाखानाभित्रै रेडपाण्डाको मृत्यु भएको जिल्ला प्रहरी परिसर, ललितपुरका एक अधिकृतले बताए । ‘चिडियाखानाभित्र रहेको अस्पतालमै मृत्यु भएको छ, पोष्टमार्टमको रिपोर्ट आइसकेको छैन भन्ने सुनेका छौं’, ती अधिकृतले भने, ‘हाम्रो अनुसन्धान पनि चलिरहेको छ ।’
चिडियाखानाका प्रमुख सत्यनारायण शाहले चोरी प्रयासयता विरामी रहेको रेडपाण्डाको उपचारका क्रममा मृत्यु भएको बताए । ‘चोरीको प्रयास भएपछि एकदमै त्रसित थियो, पछिल्लो पटक किड्नी सम्बन्धी समस्या पनि देखिएको डाक्टरहरुले बताएका थिए’, उनले भने, ‘करिब एक हप्ताजति खाना नियमित थिएन ।’
राष्ट्रिय प्रकृति संरक्षण कोषले पनि चिडियाखानाबाट रेडपाण्डा चोरीको प्रयासबारे आन्तरिक छानबिन गरिरहेको थियो । स्रोतका अनुसार, कर्मचारीको लापरबाहीका कारण दोस्रो पटक समेत चोरी प्रयास भएको प्रारम्भिक बुझाइसहित छानबिन समिति गठन भएको थियो ।
कोषका प्रशासन विभाग प्रमुख हरिविक्रम सिंहको नेतृत्वमा रहेको तीन सदस्यीय समितिले चिडियाखानाका कर्मचारीहरुबारे छानबिन गरिरहेका बेला रेडपाण्डाको मृत्यु भएको हो । समितिमा कोषका प्रवक्ता अम्बिकाप्रसाद खतिवडा र प्रशासनकै सिद्धराज तिम्सिना सदस्य छन् ।
समितिले प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरिरहेका बेला रेडपाण्डाको मृत्युको खबर थाहा भएको कोषका अधिकारीहरु बताउँछन् ।
चिडियाखानाका प्रमुख शाह भने चिडियाखानाबाट संरक्षित वन्यजन्तु चोरी होला भन्ने सोच्दै नसोचिएको जिकिर गर्छन् । ‘यस्तो घटना होला भन्ने कसैले चिताएकै थिएन,’ उनले थपे, ‘गिरोहले चिडियाखानामै यस्तो घटना गराउन भन्ने कसरी सोचिन्छ ?’
आफू एक कार्यक्रमको सिलसिलामा चीनमा रहेका बेला चोरी प्रयास भएको शाह बताउँछन् ।
उद्धार गरेर ल्याइएको थियो रेडपाण्डा
यो रेडपाण्डालाई राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७२ सालमा रोल्पाबाट उद्धार गरेर ल्याएको थियो ।
अधिकारीहरुका अनुसार, स्थानीयले अवैध रुपमा घरमा पालेको भन्ने सूचना पाएपछि जिल्ला वन कार्यालय, रोल्पाले नियन्त्रणमा लिएको थियो । कोषसम्म यसको खबर पुगेपछि ललितपुरस्थित चिडियाखानामा ल्याइएको थियो ।
ललितपुर प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारीका अनुसार, चिडियाखानामा राखिएको यो रेडपाण्डा ३० वैशाखमा चोरी गर्ने प्रयास भएको थियो ।
राति १०:०६ बजेतिर चोरी प्रयास भएको खबर नजिकै रहेको जिल्ला प्रहरी परिसर, ललितपुरमा पुगेपछि अनुसन्धान अधिकारीहरु चिडियाखाना गएका थिए । ‘सूचना आएलगत्तै राति नै सिन अफ क्राइम (सोको) अफिसरसहितको टोली घटनास्थलमा पुगेको थियो’, अधिकारी भन्छन्, ‘त्यसपछि प्राविधिक र मानवीय दुवै पक्षको विश्लेषण गरेर अनुसन्धान अघि बढाइएको थियो ।’


+ There are no comments
Add yours