जिम्बावेमा हात्ती मारेर जनतालाई मासु बाँड्ने योजना

०२ असार, काठमाडाैं । देशमा जंगली हात्तीहरूको संख्या अत्यधिक बढेपछि जिम्बावेले दर्जनौं हात्तीहरू मार्ने निर्णय गरेको छ। त्यसरी मारिएका हात्तीहरूको मासु स्थानीय समुदायमा वितरण गरिनेछ भने दाँतचाहिँ सरकारी सम्पत्तिको रुपमा राखिने छ ।

जिम्बावेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन प्राधिकरण(जिमपार्कस्) ले यस्तो निर्णय सार्वजनिक गरेको हो।

प्राधिकरणका अनुसार देशको दक्षिण–पूर्वी क्षेत्रको एउटा ठूलो निजी संरक्षित क्षेत्रको रुपमा रहेको सेभ भ्याली कन्जरभेन्सीमा हात्ती नियन्त्रण कार्यक्रम सञ्चालन गरिनेछ। प्रारम्भिक चरणमा करिब ५० हात्तीहरूलाई निशाना बनाइनेछ।

सन् २०२४ मा गरिएको एक हवाई सर्वेक्षण अनुसार, उक्त क्षेत्रको पारिस्थितिक प्रणालीले अधिकतम ८ सय वटा हात्ती धान्न सक्ने भए पनि हाल त्यहाँ करिब २५ सय ५० हात्ती छन् ।

हात्तीको अत्यधिक संख्या र सीमित प्राकृतिक स्रोतका कारण त्यहाँको पर्यावरणमा असर परेको भन्दै पाँच वर्षयता त्यहाँबाट २ सय हात्तीलाई अन्य क्षेत्रहरूमा सारिएको थियो ।

जिमपार्कका प्रवक्ता तिनाशे फरावोले यो अभ्यासलाई ‘हत्या’ नभइ व्यवस्थापन अभ्यास भएको बताएका छन् । उनका अनुसार ठूलो संख्यामा हात्तीको समूह नै मार्ने योजना सरकारको छैन । यद्यपि, कति समयभित्र कति हात्ती मारिने हो भन्नेबारे उनले खुलाएका छैनन्।

प्राधिकरणका अनुसार, हात्तीको मासु स्थानीय समुदायमा बाँडिनेछ भने हात्तीका दाँतहरू राज्यको स्वामित्वमा रहने छन्। अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण जिम्बाब्वेले आफ्नो हात्ती दाँतको भण्डार बिक्री गर्न पाउने अवस्थाचाहिँ छैन।

सेभ भ्याली कन्जरभेन्सीका प्रवक्ताले आफूहरुले पहिलो प्राथमिकताका रूपमा हात्तीहरूको लागि वैकल्पिक आवास खोज्ने प्रयास गरेको तर व्यवहारिक रूपमा खाली र उपयुक्त ठाउँ नभेटिएकोले हात्तीको संख्या घटाउनका लागि अन्तिम विकल्पका रुपमा मार्ने उपाय अपनाउनु परेको हो।

विश्वमा बोत्स्वानापछि सबैभन्दा धेरै हात्ती भएको देश जिम्बाबे हो । अधिकारीहरुका अनुसार सुरक्षाको दृष्टिले मारिएका हात्तीका शवहरूको व्यवस्थापन ‘सम्मानजनक’ तरिकाले गरिनेछ भने सुरुवातमा थोरै थोरै संख्यामा हात्ती मारिनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours